स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा नयाँ व्यक्तिको नाम सिफारिस गरेको छ। उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले यसअघिको प्रस्तावलाई हटाएर नयाँ व्यक्तिको नाम सिफारिस गरेका हुन्।
मन्त्री यादवले बोर्डको अध्यक्षमा त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्रका प्राध्यापक उमाकान्त प्रसादको नाम मन्त्रीपरिषदमा प्रस्ताव गरेका छन्। यसअघि स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डा शेनेन्द्रराज उप्रेतीको नाम सिफारिस गरिएको थियो।
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सिफारिस गरेको डा उप्रेतीको नाम हटाएर मन्त्री यादवले आफू निकटका प्राध्यापक प्रसादको नाम मन्त्रीपरिषदमा पठाएका हुन्। आगामि मन्त्रीपरिषदको बैठकले उक्त विषयमा निर्णय गर्नसक्ने बताइएको छ।
स्वास्थ्य बिमा ऐन अनुसार पहिलो पटक अध्यक्ष नियुक्त गर्न लागिएको हो।