सरकारले स्थानीय तहमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई तलव भत्ता नदिएको भन्दै जुम्लाका स्वास्थ्यकर्मीले जिल्ला प्रशासन कार्यालय जुम्लामा धर्ना दिएका छन्। उनीहरुले तत्काल तलव भत्ता उपलव्ध गराउनको लागि माग गरेका हुन्। जिल्ला स्थित २९ वटा स्वास्थ्य संस्था, सामुदायिक स्वास्थ्य इकाई, सहरी स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी सदरमुकाम खलंगा पुगेर प्रशासन कार्यालयमा धर्ना दिएका हुन्।
जिल्ला प्रशासन कार्यालय जुम्लाले असार १० गतेसम्म स्वास्थ्यकर्मीको माग संवोधन हुन सक्ने भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन भनेको थियो । प्रशासन कार्यालय जुम्लाले दिएको उक्त सकिएको दुई दिन वितिसक्दा समेत कुनै सुनुवाई नभएकोले धर्नाको कार्यक्रम अघि सारिएको स्वास्थ्यकर्मीहरुले बताएका छन्। उनीहरुले माग संवोधन नभए असार १५ गत देखि सवै स्वास्थ्य संस्था बन्द गराएर आन्दोलनका लागि सदरमुकाम केन्द्रित हुने चेतावनी दिएका छन्।
सरकारले तलव भत्ता नदिएर घरखर्च चलाउन मुस्किल परेको भन्दै उनीहरु आन्दोलित भएका हुन्। पहिलो चरणमा ज्ञापन पत्र मार्फत प्रधानमन्त्री कार्यालयका ध्यानाकर्षण गराइसकेका जुम्लाका स्वास्थ्यकर्मीले धर्नाको कार्यक्रम शुरु गरेका हुन्। तातोपानी गाउँपालिकाका स्वास्थ्य संयोजक मणिकृष्ण उपाध्यायले स्वाथ्यकर्मीको आन्दोलनको सुनुवाई नभए स्वास्थ्यसंस्था ठप्प पार्नुपर्ने अवस्था आउन सक्ने संकेत गरे । उनले भने, ‘जनताको स्वास्थ्य जस्तो संवेदशिल कार्यमा खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्नु पर्नेमा सरकारले तलव भत्ता नदिएर निरुत्साहित गरेर स्वास्थ्य क्षेत्रमा खेलवाड गरेको छ।’
नेपालको संविधान २०७२ बमोजिम नेपाल संघियता कार्यान्वयन आएको अवस्थामा स्थानिय तह, प्रदेश, र संघमा कर्मचारीहरु समायोजन हुने समयमा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरु सबै भन्दा पहिले स्थानीय तहमा खटिएका थिए। इमान्दारिता पूर्वक काम गर्ने स्वास्थ्यकर्मीहरुको सेवा सुविधामा अंकुश लगाएको आरोप लगाउँदै तिला गाउँपालिका स्वास्थ्य शाखा संयोजक जगदीश नेपालीले भोको पेटमा काम गर्न नसक्ने बताए। सिंहदरवारको अधिकार गाउँ नगरमा पुगको समयमा स्थानीय तहमा खटिएका कर्मचारीलाई सेवा सुविधा नदिनु विडम्वना भएको बताए।
स्वास्थ्यकर्मीलाई स्थानीय तहबाट नै तलब भत्ता बुझिलिने व्यबस्था भइआएकोमा विगत ४ महिनादेखि विभिन्न गाउँपालिका, नगरपालिकाबाट स्वास्थ्य सेवाका कर्मचारीहरु मासिक तलब भत्ता, स्थानिय भत्ता, पोषाक भत्ता, फिल्ड भत्ता र महंगी भत्ता साथै महिला स्वास्थ्य स्वयम्सेविकाहरुको भिटामिन ए, यातायात खर्च समेत पाउन सकेका छैनन्।
स्वास्थ्यकर्मीले मासिक तलब भत्ता नपाएपछि घर खर्च तथा पारिवारिक खर्च र वालवालिकाको पठन पाठनमा समस्या उत्पन्न भएको छ । शारीरिक तथा मानसिक समस्याको सामना गर्न परिरहेको भन्दै सरकारले स्वास्थ्यकर्मीलाई हेला गरेको आरोप जुम्लाका स्वास्थ्यकर्मीले लगाएका छन्। उनले भने, ‘कर्मचारीहरुले तलबभत्ता नपाएको विषयमा पटक–पटक अवगत गराउँदा पनि मागको सुनवाई नभएकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको हो । चालु आर्थिक वर्षको असार सकिनै लाग्दा समेत बजेट नआएकोमा चिन्तित छौं।’
जिल्लाका ७ वटा गाउँपालिका र एउटा नगरपालिकाका सम्पूर्ण स्वास्थ्यकर्मीहरु र स्वास्थ्य संयोजकहरु संगठित भएर यथासिघ्र कर्मचारीहरुको मासिक तलब, भत्ता, स्थानिय भत्ता र पोशाक भत्ता पाउने माग सम्बोधन गर्न माग गर्दैै आन्दोलनमा उत्रिएका छन्।