जुम्ला- आगामी वर्षदेखि तिला गाउँपालिकाका किशोरीलाई आइरन चक्की खुवाइने भएको छ। १० देखि १९ वर्ष उमेर पुगेका किशोरीलाई लक्षित गरि आइरन चक्की र फोलिक एसिड चक्की खुवाउने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख जगदिश नेपालीले जानकारी दिए ।
उनका अनुसार सार्वजनिक तथा निजी विद्यालयमा भर्ना भएका किशोरी र स्कुल नजाने किशोरीलाई आइरन चक्की उपलव्ध गराइने छ। वर्षमा ५२ हप्ता हुने भएपनि २६ हप्ता सम्म किशोरीले आइरन र फोलिक एसिड खुवाउने कार्यक्रम बनाइएको छ।
किशोरीलाई रत्त अल्पता हुन बाट जोगाउनको लागि आइरन चक्की खुवाउन थालिएको हो। विद्यालय जाने किशोरीलाई विद्यालय मार्फत स्वास्थ्यकर्मीको रोहवरमा खुवाउने र विद्यालय नजाने किशोरीलाई महिला स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्थावाट आइरन चक्की खुवाइने शाखा संयोजक नेपालीले बताए।
उनले भने, ‘बढ्दो रक्त अल्पताको समस्यालाई मध्यनजर गर्दै स्वास्थ्यसंस्था प्रमुख, शिक्षक, स्वास्थ्यकर्मी, जनप्रतिनिधी र महिला स्वास्थ्य स्वयंसेविकालाई आइरन चक्की खुवाउने वारेमा सहजीकरण भइरहेको छ।’
आइरन चक्कीको प्रयोगले मातृ स्वास्थ्य, भ्रुण स्वास्थ्य, बाल स्वास्थ्य, कार्यउत्पादकत्व र विद्यालय गतिविधीमा सुधार आउने लक्ष्य राखिएको छ। रक्त अलपक्ताले शारीरिक विकासमा कमी, यौन तथा प्रजनन शक्तिमा कमी र बौद्धिक विकासमा कमी ल्याउने चिकित्सकहरु बताउँछन्।
आइरन ६० मिलिग्राम र फोलिक एसिड मात्रा ४ सय मिलिग्राम प्रत्येक हप्तामा एक पटक खुवाउनु पर्छ।
पहिलो १३ हप्ता आइरन चक्की र फोलिक एसिड खाएपछि त्यसपछि १३ हप्तासम्म खानु पर्दैन। र, पुन १३ हप्ताको ग्यापपछि पछिल्लो १३ हप्ता औषधि खानुपर्छ।
विद्यालयका शिक्षक र महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीबाट अनुकुलताका आधारमा आइरन चक्की खुवाइने भएको हो। पहिलो चरण साउन, भदौ असोज महिनामा आइरन चक्की खुवाउनुपर्छ। कार्तिक, मंसिर र पुस महिनामा नखुवाउने र पुन माघ, फागुन र चैत महिनामा आइरन चक्की खुवाउने कार्यक्रम बनाइएको छ।
यो तालिका अनुसार आइरन चक्की किशोरीलाई खुवाउँदा उपयुक्त हुने स्वास्थ्य शाखा प्रमुख नेपाली वताउँछन्।
उनका अनुसार हरेक किशोरीलाई निगरानीमा आइरन र फोलिक एसिड खुवाउनुपर्छ । ‘उनीहरुले चक्की निलेको ननिलेको बारेमा एकिन गर्नुपर्छ,’ उनले भने, ‘आइरन चक्की खाँदा एक गिलास पानीसंगै खानुपर्छ । सकेसम्म चक्की खुवाउने दिन एकिन गर्दा हप्ताको एउटै दिन र एउटै समयमा खुवाउनु पर्छ।’
आइरन र फोलिक एसिड खुवाउँदा खाना खाएको करिव एक घण्टा पछि र विद्यालयको खाजा समय भन्दा अगाडी खुवाउनु पर्नेमा जोड दिइएको छ। लामो समयसम्म विद्यालय बिदा हुने अवस्था आएपनि कार्यतालिका अनुसार आइरन चक्की खान छुटाउन नहुनेमा जोड दिइएको छ। पहिले गर्भवति महिलालाई मात्रै आइरन चक्की खुवाउने प्राबधान थियो।
स्वास्थ्य शाखाले स्वास्थ्य संस्था मार्फत विद्यालय जान नसकेको किशोरीको विवरण संकलन गर्दैछ।