काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी संस्थाहरुमा चिकित्सा शास्त्र छात्तवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त चिकित्सक परिचालन कार्यविधि२०७२ लाई पुनर्लेखन गर्न समिति गठन गरेको छ । मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख डा दिपेन्द्र रमण सिंहको संयोजकत्वमा समिति गठन भएको हो।
समितिले चिकित्सा महाशाखाले तयार पारेको प्रारम्भिक मस्यौदालाई समसामयिक, सरलीकृत तथा प्रभावकारी बनाउन शंसोधन वा पुनर्लेखन नै गर्न सक्ने अधिकार दिइएको सरकारी चिकित्सक संघका तर्फबाट प्रतिनिधी रहेका डा सुजित झाले बताए।
छात्रवृत्तिमा विशेषज्ञता हासिल गरेकाहरुले अनिवार्य रुपमा ५ वर्ष सरकार अन्तर्गत सेवा गर्नुपर्ने प्रावधान राख्न खोजिएपछि युवा चिकित्सकहरुले विरोध जनाइरहेका छन् । उनीहरुको निरन्तर दबाबपछि मन्त्रालयले सवै पक्षलाई समेटेर समिति गठन गरेको हो।
समितिमा स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका निर्देशक डा विकास देवकोटा, शिक्षा मन्त्रालयका प्रतिनिधी, प्रतिनिधी नेपाल मेडिकल काउन्सिल, छात्रवृत्ति शाखाका जीवनकुमार मल्ल, कानून उपसचिव गंगा बहादुर खरेल, स्कलर रेसिडेन्टस सोसाइटी, नेपाल मेडिकल एशोसियसन र सरकारी चिकित्सक संघका प्रतिनिधी रहनेछन्। सदस्य सचिवमा मन्त्रालयका शाखा अधिकृत कृष्ण सुवेदी तोकिएका छन्।