महानगरीय प्रहरी परिसर भक्तपुरले लागुऔषधका रुपमा लिइने विभिन्न नामका औषधिहरु अवैध रुपमा बिक्री गर्ने दुई फार्मेसी शिलबन्दी गर्दै सञ्चालकसहित प्रयोगकर्तालाई पक्राउ गरेको छ।
चिकित्सकको अनुमति (प्रेस्क्रिप्सन) नभई बिक्री गर्न नपाइने औषधिहरु लागुऔषधका रुपमा प्रयोग गर्ने युवाहरुलाई बिक्री गरेको आरोपमा फार्मेसी सञ्चालक र खरिदकर्तासहित ५ जना पक्राउ परेका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले जानकारी दिए।
औषधि व्यवस्था विभागका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रतिनिधि र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले सूर्यविनायक नगरपालिका वडा नं ५ सल्लाघारीमा अरनी हाइवे पोलिक्लिनिक प्रालि र सोही ठाउँमा रहेको अर्विषा फार्मेसीमा शिलबन्दी गरेको हो।
साथै अरनी हाइवे पोलिक्लिनिक प्रालिकी सञ्चालिका दोलखा तामाकोसी गाँउपालिका वडा नं ३ घर भएकी सिर्जना घिमिरे र अर्विषा फार्मेसी सञ्चालन गर्ने कैलाली जिल्ला टीकापुर–२ का विक्रम खड्कालाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।
त्यसैगरी औषधि खरिद गर्ने मध्यपुरथिमि–९ निकोसेरा बस्ने वर्ष २० का किरण कासुला, सूर्यविनायक–२ बालकोट बस्ने वर्ष २३ का रुपक खत्री र काभ्रेपलाञ्चोक काशीखण्ड नगरपालिका–२ बस्ने वर्ष २० का विकास लामा पनि पक्राउ परेका हुन्।
प्रहरीले अर्विफा फार्मेसीबाट ट्रफा ५० एमजी नामक औषधि १ हजार ८ सय क्याप्सुल र अरनी हाइवे पोलिक्लिनिकबाट ट्रमा ५० एमजी ९० क्याप्सुल, कोड टेबल १५ एमजी १३७ ट्याब्लेट, क्लोजिप ०.५ एमजी १२० ट्याब्लेटसमेत बरामद गरेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।रासस