भक्तपुर- एक सय १४ वर्ष पुरानो भक्तपुर अस्पताल अब छिट्टै नयाँ स्वरुपमा देखिने छ। अस्पतालको गुरुयोजना सार्वजनिक गर्दै अस्पताललाई आधुनिक तथा सुविधा सम्पन्न बनाउन लागिएको जानकारी दिइएको छ।
अस्पताल निर्माणको गुरुयोजना सार्वजनिक कार्यक्रममा स्वास्थ्य मन्त्रालयको नेपाल हेल्थ सेक्टर सपोर्ट कार्यक्रमका सुनिल खड्काले अस्पतालको नयाँ तथा पुराना भवनको नयाँ संचरनाका बारेमा गुरुयोजना सार्वजनिक गरेका हुन्।

उनले बेलायतको सहयोगमा नेपाल सरकारले भवन विभागमार्फत तीन वटा नयाँ भवन निर्माण गर्ने र हाल सञ्चालनमा रहेका दुईवटा पुराना भवनको रेक्टोफिटिङ्ग गर्ने जानकारी दिए।
कुल २३ करोड २१ लाख ५४ हजार २०७ को लागतमा ती सुविधा सम्पन्न र आधुनिक भवन निर्माण हुने छन्। तीन चरणमा आगामी दुईवर्षभित्र निर्माण सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको छ ।

नयाँ भवनमा सुविधा सम्पन्न प्रसूति कक्ष, दुईवटा आधुनिक शल्यक्रिया कक्ष, ओपीडी कक्ष, आईसीयू कक्ष, कर्मचारीका लागि भान्छा घर, शौचालय, मुर्दा घर तथा शव परीक्षण कक्ष, पार्किङ्गलगायतको भौतिक संरचना निर्माण हुने भएको छ।
अस्पतालमा बढ्दो बिरामीको चाप र हाल व्यहोर्नु परेको अस्तव्यस्ततालाई नयाँ भवन निर्माण भएपछि सहज रुपमा व्यवस्थापन हुने छ । पुरानो र भूकम्पले कमजोर बनाएको यो भवनमा अहिले पनि बिरामी भर्ना गर्नेलगायत अरू सेवाहरु यथावत सञ्चालन भइरहेका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष प्रेमबहादुर खड्काले ७५ शैयाको स्वीकृति पाएको अस्पतालले थप ५० शैया थप गरेर १२५ शैया पुर्याउन माग गरिरहेको बताए। अस्पतालमा दरबन्दी नहुँदा आईसीयू सञ्चालन गर्न नसकेको बताउँदै सरकारले डाक्टर र कर्मचारीको दरबन्दी थप गर्नुपर्ने उनको भनाइ छ।




