काठमाडौं- चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा तत्काल जारी गर्नुपर्ने माग राख्दै शनिबारबाट आमरण अनसनमा बस्न लागेका डा गोविन्द केसीलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले अवरोध सिर्जना गरेको छ।
तर, जुम्लाका स्थानीयले भने डा केसीको समर्थन गरेका छन्। डा केसीको माग पूरा गर्नुपर्ने भन्दै ३ सयभन्दा बढी स्थानीय डा केसीसँगै जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका छन्।
प्रशासनले डा केसीले अनसन बस्न लागेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निषेधित क्षेत्र घोषणा गरेपछि प्रहरीले डा केसीलाई अस्पताल परिसरमा प्रवेश गर्न रोक लगाएको छ। अनसनअघि उनलाई रगत जाँच र स्वास्थ्य परीक्षण गर्न पनि दिइएको छैन।

डा केसीलाई प्रवेश रोक लगाएपछि स्थानीयले त्यसको विरोध गर्दै प्रशासन अगाडि धर्ना दिएका हुन्।
डा केसीले अनसनका लागि यस पटक जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रोजेका छन्। तर, उनले अनसन सुरु गर्ने भनिएको प्रतिष्ठान परिसरलाई जिल्ला प्रशासन कार्यालयले शुक्रबार नै निषेधित क्षेत्र घोषणा गरेको हो।
अनसन बिथोल्ने गरी प्रशासनले शुक्रबार प्रतिष्ठान परिसरको २ सय मिटर वरिपरि निषेधित क्षेत्र घोषणा गरेको थियो। जिल्ला प्रशासनले योसँगै थप दुई स्थानमा पनि निषेधित क्षेत्र तोकेको छ।
डा केसीले आज २ बजेपछि अनसन सुरु गर्ने निर्णय गरेका छन्।



