काठमाडौं- नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका अभियन्ता डा गोविन्द केसीलाई जुम्लामा स्वास्थ्य परीक्षण गर्न नदिएको भन्दै गम्भिर ध्यानाकर्षण गरेको छ।
संघले आज विज्ञप्ति जारी गर्दै डा केसीलाई पूर्वाग्रह राखी साधारण स्वास्थ्य परीक्षण समेत गर्न नदिनु मौलिक अधिकार विपरित र मानव अधिकारको हनन भएको जनाएको छ।
‘नेपालको चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका अभियन्ता एवं यस संघका आजीवन सदस्य प्रा. डा. गोविन्द के.सी.ज्यूलाई जुम्लामा सामान्य स्वास्थ्य परीक्षणका लागि बन्देज गराईको घटनाका सम्बन्धमा नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको छ’ संघका महासचिव डा लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानले स्वास्थ्य क्षेत्रलाई मौलिक अधिकारको रुपमा स्वीकार गरि प्रत्येक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिनेछ भन्ने प्रावधान विपरीत चिकित्सा शिक्षा र गुणस्तरी स्वास्थ्य सेवाका अभियन्ता डा. के.सी.लाई पूर्वाग्रह राखी साधारण स्वास्थ्य परीक्षणबाट नै बन्देज गराउनुले सामान्य नागरिकको आधारभूत मानव अधिकारको हनन भएको नेपाल चिकित्सक संघको ठहर छ ।’
संघले यस्तो क्रियाकलाप रोक्न सरकारसँग आग्रह गरेको छ। संघले सरकारले डा केसीको स्वास्थ्य उपचार पाउने अधिकारबाट बञ्चित गरे कडा कदम चाल्ने चेतावनी समेत दिएको छ।
यसका साथै, संघले आफ्ना सबै शाखा कार्यालयलाई डा केसीको जायज मागलाई पूर्ण रुपमा सहयोग र समर्थन गर्न समेत अपिल गरेको छ।
