पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले १५औं अनसन बस्ने क्रममा डा गोविन्द केसीलाई जुम्लामा प्रशासनले गरेको धरपकडप्रति आपत्ति प्रकट गरेका छन्।
चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा जारी गर्नुपर्ने माग राख्दै आमरण अनसन बस्ने तयारी गरिरहँदा डा केसीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको घटनाको नेता भट्टराईले सामाजिक सञ्जाल ट्विटर मार्फत विरोध गरेका हुन्।
नेता भट्टराईले सरकार अधिनायकवाद उन्मुख भएको टिप्पणी समेत गरेका छन्।
ट्विटमा उनले लेखेका छन्, 'जनताको दुई तिहाइ मत प्राप्त सरकारले जनताकै लागि लडिरहेका डा केसीमाथिको यस्तो हर्कतले सरकार कतै अधिनायकवाद उन्मुख त छैन भन्ने प्रश्न उब्जाएको छ।'
साथै नेता भट्टराईले सरकारले विभिन्न स्थानलाई निषेधित क्षेत्र तोकेकोमा समेत असन्तुष्टि व्यक्त गरेका छन्। शान्तिपूर्ण विरोध गर्ने नैसर्गिक अधिकारलाई कुण्ठित गर्दै निषेधित क्षेत्र घोषणा गरिनु आपत्तिजनक भएको उनले उल्लेख गरेका छन्।
'कथित निषेधित क्षेत्रको शान्तिपूर्ण अवज्ञा जारी राख्न र त्यसलाई सशक्त पार्न सबै प्रगतिशील लोकतान्त्रिक शक्तिहरूलाई आह्वान पनि गर्छु', उनले लेखेका छन्।
शनिबार दिउँसो प्रहरीले पक्राउ गरेका डा केसी केही घन्टापछि छुटेका थिए। उनले अनसन जारी राखेका छन्।