काठमाडौं- डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। पटक पटकको अनसनका कारण डा केसीको अवस्था यसपटक अनसनको दोस्रो दिनमा नै जटिल बनेको बताइएको छ।
डा केसीको अवस्था जटिल बनेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले अस्पताल सार्नुपर्ने भन्दै जुम्लास्थित जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई जानकारी गराएका थिए। लगातारको अनसन र चिसो तथा फोहोर कोठामा अनसन बस्दा डा केसीलाई उपचारका लागि अस्पताल लैजानु पर्ने अवस्था आइसकेको भन्दै चिकित्सकहरुले प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललाई जानकारी गराएका थिए।
चिकित्सकको टोलीले डा केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएपछि प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा डा केसीको अवस्था र तुरुन्तै उपचारका लागि लैजानु पर्ने विषयमा अवगत गराएका थिए। तर, गृहमन्त्री रामबहादुर थापाले प्रधानमन्त्री कार्यालयबाट डा केसीलाई अस्पताल नलैजान र यथास्थानमा नै राख्ने कुरा भएको भन्दै अस्पताल नलैजान निर्देशन दिएको स्रोतले जानकारी दिएको छ।
गृहमन्त्रीबाट नै उपचारमा नलैजान भन्ने आदेश आएपछि जुम्ला प्रशासनले डा केसीलाई शनिबारबाट अनसन गरिरहेको स्थान कवर्डहलमा नै राख्न भनेको छ। प्रतिष्ठानका चिकित्सकले भने अध्याँरो र फोहोरी कोठामा राख्दा डा केसीको स्वास्थ्यमा जतिबेला पनि संक्रमण फैलनसक्ने बताइरहेका छन्।
तर, प्रशासनले माथिको आदेश नआएसम्म पठाउन नमिल्ने भन्दै अवरोध सिर्जना गरिरहेको छ।
प्रशासनले अवरोध गरेपछि प्रतिष्ठानले डा.प्रविण गिरीको संयोजकत्वमा तीनजना डाक्टरलाई खटाएको छ। तर, फोहोरी कवर्ड हलमा डा.केसीको उपचार सम्भव नभएको उनीहरुले बताएका छन्।
चिकित्सा शिक्षा सुधारको माग राख्दै डा केसी १५ औं अनसनमा छन्। जुम्ला सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न पुगेका डा केसीलाई जिल्ला प्रशासन कार्यालयले अवरोध सिर्जना गर्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले प्रतिष्ठानको शिक्षण अस्पताल परिसरमा प्रवेश गर्न नदिएपछि डा केसीलाई हिरासतबाट साझै कवर्डहलमा लगेर छाडिदिएका थिए।
प्रहरी हिरासतबाटै अनसन सुरु गरेका डा केसी सोही कवर्डहलको चिसो भुइँमा अनसनरत छन्। प्रतिष्ठानका चिकित्सक डा पुजन रोकायाका अनुसार उक्त कवर्डहलमा पानी चुहिने र चराका बिष्टा चुहिने समस्या छ।
चिसो र चराका बिष्टाका कारण अनसनरत डा केसीमा संक्रमणको खतरा रहेको डा रोकायाले जानकारी दिए। उनका अनुसार कवर्डहलमा बत्ती समेत नभएका कारण किराले टोक्ने खतरा समेत रहेको छ।
‘अनसनका कारण उहाँको शरीर गग्लै गएको छ,’ उनले भने, ‘त्यसमाथि चिसो र चराको बिष्टाले संक्रमण हुने र किराले टोक्ने खतरा पनि उत्तिकै छ।’
डा केसीका सहयोगी किशोर केसीले बत्ती नभएका कारण मैनबत्ती बालेर बसिरहेको बताए।
डा केसीले ७ बुँदे माग राख्दै शनिबारबाट अनशन सुरु गरेका हुन्।
यस्ता छन् ७ बुँदे माग
१) चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवधिबाहेक बाँकी बुँदाहरुमा कुनै परिवर्तन नगरी यथारुपमा पारित गरियोस्। तत्पश्चात् अविलम्ब चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित पूर्णता दिएर मात्र साझा प्रवेश परीक्षा सञ्चालनलगनयत कामहरु सुचारु गरियोस्।
२) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस लगायत स्नातक तहका विद्यार्थी भर्ना गर्ने गरी पूर्वाधार र जनशक्ति कायम गरियोस् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजको काम शीघ्र अघि बढाइयोस्। पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना गरियोस्।
३) माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गरियोस्।
४) चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गरियोस्। त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिइयोस्।
५) विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गरियोस्।
६) कथित छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि २०७५ खारेज गरी चिकित्सा शिक्षा ऐनमा स्नातकोत्तर तहको छात्रवृत्तिपछि २ वर्ष अनिवार्य सेवाको व्यवस्था गरियोस्। आगामी शैक्षिक सत्रदेखि सबै निजी संस्थाहरुमा समेत चिकित्साको स्नातकोत्तर तह निःशुल्क गरियोस्।
७) पठनपाठन ठप्प भइसकेको जानकी मेडिकल कलेजका विद्यार्थीहरुलाई उचित व्यवस्थापन गर्दै विद्यार्थीहरुलाई अलपत्र पार्नमा जिम्मेवार व्यक्तिहरुलाई तत्काल कारवाही गरियोस्। तथा प्रदेश २ मा सरकारी मेडिकल कलेज खोल्ने काम तत्काल शुरु गरियोस्।