काठमाडौं – धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार १० बजे बालुवाटारमा सिनेट बैठक बोलाएका छन्। प्रतिष्ठानको ३६ औं बैठकले पूर्ण विश्वविद्यालय बनाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेपनि काम अघि बढ्न सकेको थिएन।
आज प्रतिष्ठानको ४१ औं सिनेट बैठक बस्ने भएको हो। उच्च स्रोतका अनुसार यो बैठकले प्रतिष्ठानको ऐन संसोधनका लागि सरकारलाई सिफारिस गर्ने छ।
कुलपति भएपनि प्रधानमन्त्रीले प्रतिष्ठानको बैठक बोलाएको यो पहिलो पटक हो। प्रतिष्ठानको ऐनमा सिनेटको अध्यक्षता सहकुलपति तथा स्वास्थ्य मन्त्रीले गर्ने प्राबधान छ।
संसदबाट ऐन संसोधन भएमा प्रतिष्ठान पूर्ण विश्वविद्यालय बन्ने छ। डा. गोविन्द केसीको माग अनुसार सरकारले हरेक प्रदेशमा एक चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना गर्ने निर्णय यसअघि नै गरेको थियो।
ऐन संसोधन भएमा प्रतिष्ठान प्रदेश १ को विश्वविद्यालय बन्ने छ। त्यसपछि सो विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगको सिफारिसमा प्रदेश १ मा पाँच वटा मेडिकल कलेजलाई सम्बन्धन प्रदान गर्न सक्नेछ। झापास्थित बिएण्डसी मेडिकल कलेज पूर्वाधार पुरा गरी सम्बन्धनको पर्खाइमा छ। विश्वविद्यालयको मान्यता पाएमा बिएण्डसी का लागि सम्बन्धनको बाटो खुल्नेछ।