बुटवल- सरकारले २०२० सम्म कालाजार उन्मूलन गर्ने लक्ष्य लिएको भए पनि प्रदेश ५ मा प्रकोपको रुपमा देखा पर्ने गरेको छ। सरकारले सन् २०१४ मा नारायाणी पश्चिममा कालाजार नभएको भन्दै कार्यक्रम बन्द गरेको थियो। पछिल्लो ४ वर्षमा यसक्षेत्रमा कालाजार समस्याका रुपमा बढिरहेको छ।
लुम्बिनी अञ्चल अस्पतालका डा नन्दु पाठकले पहाडी जिल्लामा कालाजार बढी देखिन थालेको बताए। लुम्बिनी अञ्चल अस्पताले दिएको तथ्याङ्क अनुसार यस क्षेत्रमा पछिल्लो ४ वर्षमा ९१ जना बिरामी भेटिएका छन्। तीमध्ये २ को मृत्यु भइसकेको छ भने ७ जनालाई अन्यत्र रिफर गरिएको छ। यो तथ्याङ्क अञ्चल अस्पताल बुटवल र पाल्पाको मिसन अस्पतालबाट संकलन गरिएको हो। यस्ता बिरामीको संख्या प्युठान र पाल्पामा बढी देखिएको छ। खासगरी तराईका जिल्लामा एक विशेष खालको भुसुनाबाट कालाजार संक्रमण हुने गरेको डा पाठकको भनाइ छ। तर, पछिल्लो समय ती भुसुना पहाडतिर पनि देखिन थालेको र रोग भेटिएको हो।
जिल्ला जनस्वास्थ्यकार्यल रुपन्देहीका वरिष्ठ जनस्वास्थ्य प्रशासक केयर सिहगोदारले यसबाट बच्न स्वाथ्य शिक्षा बढाई सबैको पहल भएमा सरकारी लक्ष्य अनुसार उन्मूलन गर्न सकिने बताए। लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा कृष्ण खनालले कालाजार उन्मूलनका लागि समूहिक पहल अत्यन्तै आवश्यक रहेकोमा जोड दिए।
लुम्बिनी अञ्चल अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार साढे ४ वर्षमा सबैभन्दा बढी पाल्पामा ४१, प्युठानमा १७ र स्याङ्जामा १० जना बिरामी भेटिएका छन्। यस्तै, अर्घाखाँचीमा, गुल्मी, दाङ, रुपन्देही, कपिलबस्तु, रोल्पा, सल्यान, नवलपारासी र बाँकेमा ५-५ जना बिरामी भेटिएको छ।
अझै खोज्ने हो भन्ने कालाजारका बिरामीको संख्या बढी हुन सक्ने रेग्मीले बताए। सरकारले यो रोगको उपचार र यातयात खर्च ब्यहोर्दै आएको छ। लुम्बिनी अञ्चल अस्पताल बुटबल र पाल्पामा कालाजारको उपचार तथा रगत प्ररिक्षण हुने गरेको रेग्मीले जानकारी दिए।