काठमाडौं- प्रतिनिधिसभाको बैठकमा नियम निलम्बन गरी पारित गर्ने तयारी भइरहेको चिकित्सा शिक्षा विधेयक अन्तत: कार्यसूचीबाट हटाइएको छ।
आइतबार नै पेश गर्ने तयारीमा रहेको विधेयकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विरोध जनाएपछि सोमबारको संसद बैठकमा कार्यसूचीबाटै हटाइएको हो। बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले हाल तयार भएको प्रतिस्थापन विधेयक पेश गरेमा आफूहरु अवरोधमा उत्रने बताएपछि सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यादेश मात्र पेश गर्ने तयारी सरकारले गरेको छ। चिकित्सा शिक्षा विधेयकमा परिवर्तन गर्दै सरकारले डा गोविन्द केसीसँग भएको सहमति विपरित संसदमा दर्ता गराएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ।
असार २० गतेसम्म पारित हुनुपर्ने उक्त विधेयक अन्तिम समयमा मात्र सरकारले प्रतिस्थापन विधेयको रुपमा सदनमा पेश गरेको थियो।
यसैबीच, प्रतिनिधिसभाको शून्य र विशेष समयमा बोल्ने सांसदहरुले जुम्लामा अनसन बस्न पुगेका प्राडा गोविन्द केसीमाथि भएको अवरोधको निन्दा गरेका छन्।
नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद वडुले डा केसीको मागमा समाजवाद उन्मुख सरकारलाई किन आपत्ति भएको हो? भन्दै जानकारी दिन माग गरे। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै बडुले केसीको अनसन फेरि सुरु भएको प्रति सरकारको ध्यानाकर्षण गराउँदै स्वास्थ सेवालाई गुणस्तरीय बनाउने माग गर्नु गलत नभएको बताए।
'चिकित्सा शिक्षा अध्ययन काठमाडौंबाहिर पनि सर्वसुलभ हुनुपर्ने डा केसीको माग अन्त्यत जायज छ,’ बडुले भने, ‘यसमा वर्तमान समाजवाद उन्मुख सरकारलाई किन आपत्ति भइरहेको हो, संसदलाई जानकारी चाहियो।’ यसअघि नेपाली कांग्रेसको सरकारले ल्याएको अध्यादेश जस्ताको तस्तै पेश गर्न पनि उनले माग गरे। डा केसीको माग सम्बोधन गर्ने कुरामा गम्भीर हुन पनि उनले सरकारलाई आग्रह गरे।
विशेष समयमा बोल्दै सांसद भरतकुमार साहले केसीलाई अनसन बस्न नदिई गरिएको धरपकडप्रति आपत्ति प्रकट गरे। 'विरोध गर्न पाउने संवैधानिक हक भए पनि सरकारले धरपकड गर्ने कार्य किन भयो, त्यसको जानकारी सांसदलाई हुनुपर्यो,' उनले भने।
केसीलाई अँध्यारो कोठामा राखिएको र जुम्लाको चिसोमा स्वास्थ्य बिँग्रदै गएको प्रति पनि ध्यान दिन उनले आग्रह गरे।