डा गोविन्द केसीको स्वास्थ्य अवस्था 'क्रिटिकल' बन्दै गएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उपचारमा संलग्न डा प्रवीण गिरीका अनुसार मुटुको चाल बढ्नेदेखि छाति र टाउको दुख्नेसम्मका समस्या सुरु भएका छन्।
डा केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचार टोली अनशन स्थल पुगेका छ । तर अनशन स्थल फोहर भएका कारण उपचार सुरु गर्न सकेको छैन । डा गिरी भन्छन्, 'संक्रमणको डर र विद्युत अभावका कारण उपचार गर्न सकिएन । अस्पतालमा सार्न पहल गरिदिन प्रशासनसँग अनुरोध गरेका छौं।'
उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गइरहेको भन्दै चिकित्सकहरुले तत्कालै काठमाडौं लैजान सुझाब दिएका छन्। पटक–पटकको अनसन र जुम्लाको मौसमका कारण डा केसीको स्वास्थ्य अवस्था यसपटक अनसनको दोस्रो दिनबाटै जटिल बनेको छ।
डा केसीको अवस्था जटिल बनेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सम्पूर्ण मेडिकल सुविधा भएको ठाउँमा स्थानान्तरण गर्न अनुरोध गरेका छन्। हाल अनसन बसिरहेको स्थानमा बिद्युत लगायतका सुविधा अभावका कारण सामान्य मोनिटरिङ पनि गर्ने व्यवस्था नभएकाले डा केसीको उपचारमा समस्या पर्ने भन्दै स्थानान्तरण गर्न भनिएको हो।
डा केसीको उपचारमा खटिएका डा गिरीसहितको तीनजना टोलीले डा केसीको स्वास्थ्य बिग्रिएको भन्दै प्रतिष्ठानमा आवश्यक व्यवस्था मिलाउन भनेको थियो। डा गिरीको टोलीले दिएको सुझाबका आधारमा प्रतिष्ठानले तत्कालै मेडिकल सिवधा भएको ठाउँमा स्थानान्तरण गर्न पहल गरिदिनु हुन अनुरोध सहितको पत्र जिल्ला प्रशासन कार्यालय जुम्लामा पठाएको छ।
अनसनको तेस्रो दिनमा डा केसीको अवस्था निकै नाजुक भएपछि अकस्मिक उपचार टोली बिहान ३ बजे अनसनस्थल पुगेको थियो। डा केसीको छातीमा असह्य पीडा भएपछि डा गिरीलार्इ फोन गरेर बोलाइएको थियो। त्यसपश्चात गरिएको जाँचका क्रममा डा केसीको मुटुको चालमा गडबढी रहेको पाइएको हो। डा गिरीका अनुसार यस्तो अवस्थामा मनिटरसहितको बेडमा राख्नुपर्ने हुन्छ। तर डा केसीलार्इ फोहरी र चिसो भुइँमा नै अनसनमा बस्न बाध्य पारिएको छ।
'उपचारका गर्न हामी अइपुगेपनि अनसन बसेको स्थान फोहर भएका कारण संक्रमण हुने डरले इन्जेक्सन दिने जोखिम उठाउन सकिएन,' उनले भने, 'उहाँलार्इ तत्कालै सुरक्षित स्थानमा सारेर उपचार गर्नुपर्ने देखिएको छ।'
तर, प्रशासनले माथिको आदेश नआएसम्म पठाउन नमिल्ने भन्दै अवरोध सिर्जना गरिरहेको छ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै डा केसी १५ औं अनसनमा छन्। जुम्ला सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न पुगेका डा केसीलाई जिल्ला प्रशासन कार्यालयले अवरोध सिर्जना गर्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले प्रतिष्ठानको शिक्षण अस्पताल परिसरमा प्रवेश गर्न नदिएपछि डा केसीलाई हिरासतबाट साझै कवर्डहलमा लगेर छाडिदिएका थिए।
प्रहरी हिरासतबाटै अनसन सुरु गरेका डा केसी सोही कवर्डहलको चिसो भुइँमा अनसनरत छन्। प्रतिष्ठानका चिकित्सक डा पुजन रोकायाका अनुसार उक्त कवर्डहलमा पानी चुहिने र चराले बिष्ट्याउने समस्या छ।
चिसो र चराका बिष्टाका कारण अनसनरत डा केसीमा संक्रमणको खतरा रहेको डा रोकायाले जानकारी दिए। उनका अनुसार कवर्डहलमा बत्ती समेत नभएका कारण किराले टोक्ने खतरा समेत रहेको छ।
डा केसीले ७ बुँदे माग राख्दै शनिबारबाट अनशन सुरु गरेका हुन्।