जुम्ला- जुम्लास्थित खेलकुद विकास समितिको कभर्डहलमा शनिबारदेखि अनसनमा बसेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। तर उनी जब्बर आवाजमा भनिरहेका छन्, '३ करोड नेपालीको स्वास्थ्यमा खेलबाड गर्ने रवैयाविरुद्ध मर्नु परे पनि मर्न तयार छु, तर अन्तिमसम्म लडिरहन्छु।'
'कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबिबिएस पढाइ हुनुपर्यो, दीर्घरोगी भएर उपचार नपाएर मृत्युवरण गर्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्यो,' उनले भने, 'स्वास्थ्य क्षेत्रको समृद्धि र समग्र रोजगारीको लागि यो सरकार उदासीन देखिएको छ।'
केपी ओली नेतृत्वको सरकारले बादशाह बनेर धोका दिएको उनले बताए। 'जनप्रतिनिधि नै जनतालाई लात हान्दैछन्, कमिसनको खेलमा लागेकाले जनताको स्वास्थ्यप्रति उनीहरुलाई मतलब छैन,' केसीले टिप्पणी गरे, 'सरकारका प्रतिनिधि नै माफियाहरुका लागि लगानी गरेर अर्बौं रकम कमाउन उद्यत छन्।'
प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष प्रचण्ड, शिक्षामन्त्री गिरिराजणि पोखेरलले जनताको भावनाविपरीत क्रियाकलाप गर्दा देशमा विकराल समस्या आएको उनले आरोप लगाए।
सर्वसाधारण जनताले पेट काटेर दिएको रकमले नेताहरु विदेशका महँगो अस्पतालमा उपचार गर्न पुग्ने र सर्वसाधारण नागरिकलाई सिटामोल पुगे नपुगेको बारेमा चासो नराख्ने गरेको उनले तितो यथार्थ सुनाए। शिक्षा र स्वास्थ्यमा चरम व्यावसायीकरण गरी माफियासँग मिलेर स्वास्थ्य अवस्थालाई बर्बादीको दिशामा लगेको भन्दै यो आन्दोलमा साथ लिन पनि सबैलाई आग्रह गरेका छन्।

आफूले राखेको माग पूरा नभएसम्म अनसन नतोड्ने अडान राख्दै आएका डा केसीले भने, 'स्वास्थ्य क्षेत्रको विकृति हटाई समृद्धिका लागि म लड्दै आएको हुँ। यसका लागि आफ्नो ज्यान त्याग्न पनि तयार छु।'
यसअघि १४ पटकसम्म काठमाडौंमै अनसन बसेका केसी १५औं अनसनका लागि जुम्ला आएका छन्। उनले कर्णालीमा अनसन बस्दा विश्व समुदायको ध्यानाकर्षण हुने भएकाले यहाँ आएको बताए। 'कर्णाली अपहेलित क्षेत्र हो, गुणस्तरीय स्वास्थ्य सेवा नपाएर यहाँका नागरिक अकालमा मर्न विवश छन्,' उनले भने, 'यहीँ एमबिबिएस पढाइ भए स्थानीय जनतालाई धेरै सहज हुनेछ। माफियाविरुद्ध मेरो यो अर्को लडाइँ हो। पछि हट्दिनँ बरु यहीँ मर्नुपरे मर्छु।'
संसदमा पारित हुन लागेको चिकित्सा शिक्षा विधेयक संशोधन गरेर नेता र माफियामुखी बनाउन लागेको प्रति आपत्ति प्रकट गर्दै डा केसीले त्यो स्वीकार्य नहुने बताएका छन्। चिकित्सा शिक्षा विधेयकमा कुनै हेरफेर हुन नहुने भन्दै हुबहु पास गर्नुपर्ने उनको माग छ।
उनी बसेको अनसनस्थलको भौतिक अवस्था राम्रो छैन। अँध्यारोमा अनसन बसेका छन्। जहाँ बिजुली जडान गरिएको छैन। रातभर चराको कल्याङमल्याङले उनलाई सताउँछ। निरन्तरको वर्षाले उनको स्वास्थ्यमा सोझै असर पारेको छ।
उनका भाइ किशोर केसीका अनुसार चिसोका कारण इन्फेक्सन हुने डर छ। अव्यवस्थित ठाउँमा मेडिकल टिमले तत्काल केही गर्न मिल्ने अवस्था देखिँदैन। शनिबार अनसन बस्न लागेका बेला प्रहरीको अवरोध खेपेका उनी हाल प्रहरीको कडा निगरानीमा छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिकल डाइरेक्टर डा पुजन रोकायाले टाउको दुख्ने, छाती पोल्ने, जिउ दुख्ने समस्याले केसी ग्रसित भइरहेको बताए। उनले भने, 'हातखुट्टा बाउँडिएका छन्, मुटुको धड्कन बढेको छ।' ३६ घन्टामा दुई एमएल मात्र पिसाब आएको उनले बताए।