भरतपुर अस्पतालले साँझ र बिहान पनि डाइलोसिस सेवा उपलब्ध गराउने भएको छ।
बिरामीले पालो नपाएपछि अस्पतालले साँझ र बिहानसमेत डाइलोसिस सेवा उपलब्ध गराउने भएको हो।
गत भदौ १२ गतेदेखि अस्पतालले दैनिक दुई चरणमा डाइलायसिस सेवा शुरु गरेको थियो । पालो नपाएर कुर्नेको संख्या बढ्दै गएपछि साउनको पहिलो साताबाट सो सेवाको समय बढाउन लागिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रवीन खड्काले जानकारी दिए।
“दैनिक २० बिरामीले सेवा लिँदै आएका छन्,” उनले भने, 'अस्पतालमा १० वटा डाइलायसिस मेसिन सञ्चानलमा छन्।'
डाइलायसिस विभाग प्रमुख सञ्जय बरालका अनुसार बिहान सात बजेदेखि राति १० बजेसम्म दैनिक तीन चरणमा सेवा सञ्चालन गर्न लागिएको छ । मिर्गाैलामा जटिल समस्या भएका बिरामीलाई प्रत्यारोपण नगरेसम्म डाइलोसिस गर्नुपर्ने हुन्छ । एकजना बिरामीलाई हरेक हप्ता वा एक हप्ता बिराएर डाइलायसिस गर्नुपर्ने हुन्छ । सरकारले उक्त सेवा निःशुल्क उपलब्ध गराएको छ।
सेवा प्रदान गरेबापत अस्पताललाई सरकारले रकम भूक्तानी गर्छ । जिल्लामा निजी क्षेत्रले सञ्चालन गरेका डाइलायसिस सेवामा गुनासो आउने गरेको छ । डाइलायसिस गर्न अधिकांश बिरामीको चाहना सरकारी अस्पताल हुने गर्छ। रासस