डा गोविन्द केसीको उपचारका लागि प्रशासनले अवरोध गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अनसनस्थलमा खटिएका मेडिकल टिमले हात झिकेका छन्।
स्थानीय प्रशासनले डा केसीलाई अनसनका लागि राखेको ठाउँमा उपचारका लागि जोखिम लिन नसक्ने भन्दै उनीहरुले हात झिकेका हुन्। जिल्ला प्रशासन कार्यालय जुम्लाले डा केसीलाई कवर्डहलमा लगरे राखेको थियो। डा केसी सोही भवनको भुइँमा अनसन बसिरहेका छन्।
कुनै पनि पूर्वाधार नभएको संक्रमणयुक्त उक्त स्थानमा डा केसीको उपचार सम्भव नभएको भन्दै चिकित्सकहरुले विरोधस्वरुप मंगलबारदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने भएका छन्।
‘डा केसीको जीवनरक्षाका लागि सरकारले कुनै चासो नदिएकाले आन्दोलनमा उत्रन बाध्य भएका हौं’, उपचारमा संलग्न डा प्रवीण गिरीले भने, ‘केही पनि पूर्वाधार नभएको स्थानमा डा केसीको उपचार सम्भव छैन। त्यही भएर हामीले जोखिम लिन सक्दैनौं।’
उनले डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको जानकारी दिए। डा केसीको मुटुको चाल बढ्नेदेखि छाती र टाउको दुख्नेसम्मका समस्या सुरु भएका छन्।
डा गिरी भन्छन्, 'संक्रमणको डर र विद्युत् अभावका कारण उपचार गर्न सकिएन। अस्पतालमा सार्न पहल गरिदिन प्रशासनसँग अनुरोध गरेका छौं।'
उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै चिकित्सकहरुले तत्कालै काठमाडौं लैजान सुझाव दिएका छन्। पटक–पटकको अनसन र जुम्लाको मौसमका कारण डा केसीको स्वास्थ्य अवस्था यसपटक अनसनको दोस्रो दिनबाटै जटिल बनेको छ।
डा केसीको अवस्था जटिल बनेपछि प्रतिष्ठानका चिकित्सकहरुले सम्पूर्ण मेडिकल सुविधा भएको ठाउँमा स्थानान्तरण गर्न आग्रह गरेका छन्। हाल अनसन बसिरहेको स्थानमा विद्युत् लगायतका सुविधा अभावका कारण सामान्य मोनिटरिङ पनि गर्ने व्यवस्था नभएकाले डा केसीको उपचारमा समस्या पर्ने भन्दै स्थानान्तरण गर्न भनिएको हो।
डा केसीको उपचारमा खटिएका डा गिरीसहितको तीन जना टोलीले डा केसीको स्वास्थ्य बिग्रिएको भन्दै प्रतिष्ठानमा आवश्यक व्यवस्था मिलाउन भनेको थियो। टोलीले दिएको सुझावका आधारमा प्रतिष्ठानले तत्कालै मेडिकल सुविधा भएको ठाउँमा स्थानान्तरण गर्न पहल गरिदिन अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको छ।
तर, प्रशासनले माथिको आदेश नआएसम्म पठाउन नमिल्ने भन्दै अवरोध गरिरहेको छ।