पूर्वप्रध्यानन्यायधीश शुशिला कार्कीले चिकित्सा शिक्षामा चरम व्यापारीकरण रहेको बताएकी छिन् । व्यापारीकरणका कारण आफूले समेत सन्तानलाई चिकित्सा पढाउन नसकेको उनले खुलाइन् । उनले भनिन्, ‘मैले मेरो छोरालाई मेडिकल पढाइनँ । किनकि मेरो पढाउने हैसियत भएन ।’ राजधानीमा डा गोविन्द केसी र गंगामाया अधिकारीको अनशनका विषयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
एक विद्यार्थीले चिकित्सा पढ्ने सवै योग्यता पूरा गर्दा पनि पढ्न नपाएको मुद्दा आफू न्यायधीश हुँदा हेरेको स्मरण गरिन् । उनले भनिन्, ‘तीनपल्ट चिकित्सा पढ्ने सवै प्रक्रिया पूरा गरेपनि पढ्न नदिएपछि मुद्दा हालेकी रहिछन् । उनले अब पनि पढ्न नपाए आफू आत्महत्या गर्ने अदालतमै बताएक थिइन् ।’
चिकित्सा पढाइ महंगो भएपनि त्यो अनुसारको अवसर नभएको उनले बताइन् । आफ्नै छिमेकीले वर्षौंसम्म एकजोर सुट समेत नफेरेर सन्तानलाई चिकित्सा पढाएको तर पढेपछि २० हजार रुपैयाँको जागिर पाएको तथ्य उल्लेख गरिन् । उनले भनिन्, ‘२० हजारको जागिरले कहिले पढ्न खर्च गरेको ५०/६० लाख कहिले उठाउँछ ?’
चिकित्सा शिक्षाको यथार्थ यस्तो भएकाले डा केसीको लडाइँ सही रहेको उनले बताइन् । सन्तानविहीन डा केसी गरिबलाई उपचार र उनीहरुका सन्तति पनि डाक्टर बन्न पाउनुपर्ने अधिकारका लागि लडिरहेको स्मरण गराइन् । उनले सडकमा हुँदा गरिबको पक्ष लिने र सरकारमा आउँदा सामन्त व्यापारीलाई सहयोग गर्ने प्रवृत्ति देखिएको भन्दै उनले सरकारलाई प्रश्न गरिन्, ‘के तपाईं पनि सामन्त हो ?’
अनशनरत गंगामाया अधिकारीलाई उनले न्यायकी देवीको उपमा दिइन् । छोरो र श्रीमान् गुमाएकी उनी अहिले न्याय जिवित राख्न लडिरहेको उनको बुझाइ छ । उनले भनिन्, ‘अदालतले दोषी ठहर गरेकालाई कारबाही गरिपाउँ भनिरहेकी छिन् । उनको कुरा सुनिएको छैन । उनीप्रतिको उपेक्षा इतिहासमा कलंक भएर रहनेछ।’
सरकारबाहिर रहँदा स्वतन्त्र न्यायलयको अपेक्षा गर्ने नेताहरुले सरकारमा पुगेपछि बिर्सिने गरेको तथ्य अघि सारिन् । उनले भनिन्, ‘सडकमा हुँदा आन्दोलन गर्नुपर्छ । जेल परिन्छ । उनीहरुलाई छुटाउन स्वतन्त्र न्यायलय चाहिन्छ । सरकारमा पुगेपछि आश्रित न्यायलयको अभ्यास हुन्छ ।’
सरकारमा रहँदा केही नबोलेको काँग्रेसका नेताहरु गंगामायालाई भेट्न गएको प्रति उनले कटाक्ष गरिन् । सरकारबाट बाहिरिएपछि न्याय जरुरी लागेको भन्दै प्रश्न गरिन्, ‘काँग्रेसको सरकार हुँदा गंगामाया भेट्न किन गएनन् ?’