काठमाडौं– डा गोविन्द केसी पटकपटक अनसन बसे पनि के उपलब्धी भयो भनेर सोध्नेहरुलाई गगन थापाले त्यस्तो प्रश्न सोध्ने अधिकार नै नभएको बताएका छन्।
'म उपलब्धीहरु गनेर भन्न सक्छु', थापाले भने, 'उहाँसँग भएको सम्झौताको आंशिक पालनाले पनि शुल्क, नियमन, सिट संख्याको कुरामा सुधारहरु भएका छन्। म त्यता जान चाहन्न। के हामी कसैलाई यो प्रश्न अधिकार छ? डा केसी जतिपटक अनसन बस्नुभएको छ। त्यतिपटक सम्झौता भएका छन्। सम्झौताहरु पालना नगर्ने सरकारलाई प्रश्न गर्ने कि डा केसीलाई प्रश्न गर्ने?'
कसैले डा केसीको आन्दोलनका कारण नेपाली विद्यार्थी बाहिर पढ्न जानुपरेको भन्छ भने उसले यो विषयलाई सम्पूर्ण रुपमा नबुझेको ठहर्ने बताए। 'यो विषयमा सतही ज्ञान हुनेले मात्रै यस्तो भन्छ', थापाले भने।
थापाले अनशन बसेका डा गोविन्द केसीलाई अमानवीय व्यवहार गरिएकोमा विरोध जनाए।
थापाले चिकित्सा क्षेत्र अरु क्षेत्रजस्तो नभएको बताए। 'यो कुनै स्वतन्त्र ढंगले उद्योग खोलेजस्तो होइन', थापाले भने।
डा केसीमाथिको व्यवहार निन्दनीय भएको भन्दै थापाले आलोचना गरे। 'यो राजा ज्ञानेन्द्रको निरंकुशताभन्दा कुनै कम छैन', थापाले भने, 'उनको उपचार गर्ने कुरामा पनि अवरोध गरेर जुनखाले रवैया देखाइएको छ, त्यो निन्दनीय छ।'
विधेयक ल्याउँदा अध्यादेशमा आवश्यक सामान्य सुधार गरेर मात्रै ल्याउन उनले आग्रह गरे।
थापाले आफूमाथि लाग्ने गरेको विभिन्न आरोपको खण्डन गरे। 'तपाईंहरु आरोप लगाउँदै हिँड्ने, त्यो आरोप गलत हो भन्दै हिँड्ने मसँग समय छैन', थापाले भने।