काठमाडौं- जुम्लामा अनसनरत डा गोविन्द केसीको अवस्था गम्भिर भएको छ। डा केसीको अवस्था गम्भिर भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले निशेधित क्षेत्र तोड्दै डा केसीलाई अस्पताल पुर्याएका छन्।
डा केसीलाई प्रतिष्ठानको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अनसन बसिरहेका डा केसी अर्धचेत भएपछि डाक्टरहरुको टोलीले जबरजस्ती अस्पतालमा लगेका हुन्। डा केसीको अहिले उचपार चलिरहेको बताइएको छ।

डा केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढथापा र डीएसपी तपन दाहालको टोली अस्पताल पु्गेको छन्। उनीहरुले डा केसीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको बताइएको छ।
अनसनस्थलमा डा केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गइरहेको भन्दै चिकित्सकहरुले तत्कालै काठमाडौं लैजान सुझाब दिएका थिए। पटक–पटकको अनसन र जुम्लाको मौसमका कारण डा केसीको स्वास्थ्य अवस्था यसपटक अनसनको दोस्रो दिनबाटै जटिल बनेको छ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै डा केसी १५ औं अनसनमा छन्। जुम्ला सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न पुगेका डा केसीलाई जिल्ला प्रशासन कार्यालयले अवरोध सिर्जना गर्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले प्रतिष्ठानको शिक्षण अस्पताल परिसरमा प्रवेश गर्न नदिएपछि डा केसीलाई हिरासतबाट साझै कवर्डहलमा लगेर छाडिदिएका थिए।



