राष्ट्रिय चिकित्सा शिक्षा विधेयक र अनसनरत डा गोविन्द केसीका मागका विषयमा समाधान खोज्न नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता नारायणकाजी श्रेष्ठले पहल थालेका छन् । बिहीबार राजधानीमा नेकपा निकट विज्ञ चिकित्सकसँग अनौपचारिक छलफल गर्दै यी विषयमा सरकारले चाल्नुपर्ने कदमका विषयमा सुझाव मागेका छन्।
विज्ञको धारणा बुझ्दै सरकारलाई उपयुक्त सल्लाह दिएर समस्या समाधान गर्न नेता श्रेष्ठले पहल थालेका हुन् । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल समेत सहभागी छलफलमा विधेयकका विषयमा सहभागीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । तर, डा केसीको अनसन कुनैपनि हालतमा लम्ब्याउन नहुने सुझाव दिएका छन्। ‘डा केसीको स्वास्थ्य अहिलेका लागि सवैभन्दा महत्वपूर्ण कुरा हो । यसमा सरकार गम्भीर हुनुपर्छ,’ सहभागीको साझा धारणा थियो।
छलफलमा सहभागी एक चिकित्सकका अनुसार सरकार पनि यो विषयलाई लम्ब्याउन चाहदैन । त्यसैले यसको समाधानको बाटो खोज्न नेता श्रेष्ठलाई सक्रिय बनाइएको हुनुपर्छ । उनी भन्छन्, ‘प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यो विषयलाई लम्बाउन नहुने पक्षमा हुनुहुन्छ।’
डा केसीको स्वास्थ्य पहिलो कुरा भएकाले उनको उपचार र अनसनको अन्त्यका लागि पहल गर्न उनीहरुले सुझाएका छन् । विधेयकका विषयमा भने डा केसीको भन्दा फरक धारणा समेत सहभागीहरुले राखेका थिए । उनीहरुले यो प्रकरणको ‘अर्को पाटो’लाई समेत ध्यान दिएर सरकार अघि बढ्नुपर्ने तर्फ सचेत गराएका थिए।
उक्त छलफलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बास्कोटा, रजिष्ट्रार डा दिलिप शर्मा,चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा गणेश गुरुङ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा भरत यादव, पूर्वराजदूत डा महेश मास्के, डा सरोज धिताल, डा कृष्ण अधिकारी, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी लगायत सहभागी थिए।
सहभागीका धारणा बुझेपछि नेता श्रेष्ठले सरकारलाई आफूले छलफल भए बमोजिमकै सल्लाह दिने बताएका थिए।
चिकित्सा शिक्षा विधेयक सरकारले संशोधन सहित संसदमा पेश गर्ने गरी फिर्ता लिएको छ भने विभिन्न ७ बुँदे माग सहित डा केसी जुम्लामा अनसनरत छन् ।