काठमाडौं- प्रतिनिधिसभाको बैठकमा सधैंझै राष्ट्रिय धुन बजेसँगै सांसदहरु उठे। धुन समाप्त भएलगत्तै उनीहरु कुर्सीमा बसे तर नेपाली कांग्रेसका सांसदहरु भने उठेर अवरोध गर्न लागे। प्रमुख प्रतिपक्षका सांसदहरु उठेको देखेपछि सभामुख कृष्णबहादुर महराले बस्न आग्रह गरे। सभामुखको आग्रहपछि पनि उनीहरुले अस्वीकार गरेपछि महराले प्रमुख सचेतक बालकृष्ण खाँडले बोल्ने समय उपलव्ध गराए।
सभामुखले समय उपलब्ध गराएपछि खाँडले स्वास्थ्य क्षेत्रको सुधारका लागि अनसन बसेका डा गोविन्द केसीको जीवनरक्षाको सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा समावेश गर्न माग गरे। केसीको स्वास्थ्य अवस्था जटिल रहेकाले आजै छलफल गर्न जरुरी भएको उनको माग थियो। उनको उक्त मागका बारेमा सरकारलाई जानकारी गराएको भन्दै सभामुखले अन्य कुनै दिन सरकारले जवाफ दिने भएकाले अवरुद्ध नगर्न आग्रह गरे। तर कांग्रेसका सांसदहरुले अटेर गरेपछि आधा घन्टाका लागि संसद बैठक स्थगित भयो।
सभामुख र खाँडको दोहोरो संवाद
बालकृष्ण खाँड : सभामुखज्यू, जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थियौं। कार्यसूचीमा यो कुरा आएको देखिएन। डा गोविन्द केसी अनसनमा हुनुहुन्छ। विगतको सरकारले सम्झौता गरेर अध्यादेश जारी गरेको थियो। वर्तमान सरकारले पनि त्यसलाई निरन्तरता दिएको थियो। तर यो अध्यादेशको अवधि समाप्त भएको छ। यो सदनमा उनको जीवनरक्षाको विषयमा छलफल हुन जरुरी छ। यो प्रस्ताव जबसम्म आजको दैनिक कार्यसूचीमा आउँदैन हामी सदनमा अवरुद्ध नै राख्छौं।
सभामुख महरा : माननीयज्युले राख्नु भएको प्रस्ताव ठिक हो। सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। म नियम ७१ को ३ पनि पढेर सुनाउन चाहन्छु। सभामुखले आवश्यक देखेमा स्वीकृत दिई सम्बन्धित मन्त्रीसँग छलफल गरेर मिति तोक्न सक्नेछ। यो व्यवस्था नियमावलीमा भएकाले सरकारलाई जानकारी गराइएको छ। अहिलेसम्म सरकारको जवाफ आएको छैन। अन्य कुनै दिन यस विषयमा जानकारी दिने तय हुने भएकाले आजको बैठक सञ्चालनमा अवरोध नगरौं।
खाँड : सरकार अविलम्ब तयार होस्। डा केसीको मागको बारेमा सरकार गम्भीर नभएकाले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका हौं। उहाँको स्वास्थ्य नाजुक छ। आजै सम्बोधन हुनु पर्दछ।
सभामुख : यो कुरामा सरकार गम्भीर छ। सोचिराखेको छ। छिट्टै प्रतिनिधिसभामा आउने जवाफ प्राप्त भएको छ। तर आजै दिने विषयमा जानकारी प्राप्त नहुँदा राख्न सकिएन। यही कुरा बुझेर बसौं माननीय सदस्यहरु।
खाँड : हामी आजै माग गर्दछौं।
सभामुख : धेरै नउभिऊँ। खुट्टा दुख्छ।
खाँड : डा केसी ६ दिनदेखि भोकै छन्। हामी एकछिन उभिन्छौं।
सभामुख : नियमसंगत रुपमा अघि बढ्छ, बसौं। सरकारलाई आजको आजै जवाफ दिन केही समय लिनुपर्दछ। सरकार तयार छ केही समय पर्खनपर्ने हुन्छ। माननीय सदस्य, पर्खनुस् अरु कुनै दिन राखौंला। बस्नुस्, आजको बैठक अगाडि बढाऔं।
खाँड : बस्न सकिएन यस्तो अवस्थामा।
सभामुख : प्रमुख प्रतिपक्षको अवरोधका कारण सदन सञ्चालन हुन नसक्ने भएकाले यो बैठक आधा घन्टाका लागि स्थगित हुन्छ।