राजविराज– उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले काठमाडौं र सुविधा सम्पन्न स्थानमा केन्द्रित डाक्टरहरुलाई ग्रामीण र दुर्गम क्षेत्रमा पठाउन बाध्यकारी व्यवस्था गरिने बताएका छन्।
सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको अनुगमनका क्रममा मन्त्री यादवले ग्रामीण र दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी नुहने समस्याको चाँडै समाधान गरिने जिकिर गरे।
डाक्टर तथा कर्मचारी आउन नमानेकै कारण सगरमाथा अञ्चल अस्पतालमा लामो समयदेखी स्वास्थ्य सेवा प्रभावित भएको विषय कोट्याउँदै उनले ‘सप्तरी जानुभन्दा राजिनामा लिनोस्’ भन्ने प्रवृत्तिले सिङ्गो स्वास्थ्य क्षेत्र प्रभावित भएको तर्क गरे।
मन्त्री यादवले सप्तरीको दानापानी खाएर काठमाडौंको सेवा गर्ने प्रवृत्तिको अन्त्य नभएसम्म सगरमाथा अञ्चल अस्पताल मात्र नभइ मुलुकभरी नै सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा नपाउने दावी गरे। ‘म सप्तरीका डाक्टरहरुको लिष्ट तयार गर्दैछु। उनीहरुलाई सप्तरीमै काम गर्न पठाउने मेरो योजना छ।’, मन्त्री यादवले भने, ‘यात आफ्नो ठाउँमा सेवा दिनुप¥यो, नत्र काम छोड्नु पर्यो।’
सप्तरीमा जन्मेको र पढेको डाक्टरले सदाका लागि नभएपनि कमसेकम ५ वर्ष सप्तरीका जनताको सेवा गर्नुपर्ने उनको भनाइ थियो। ‘काठमाडौंमा सप्तरीका डाक्टरका ठूला–ठूला बोर्ड झुन्डिएका छन्। यहाँ जनताले चेकजाँच गर्न पनि पाएका छैनन्।’, उनले थपे, ‘यो प्रवृत्ति अन्त्यका लागि प्रकृया सुरु भएको छ, छिट्टै नै अन्त्य हुन्छ।’
अञ्चल अस्पतालमा जनशक्ति र उपकरण अभाव भन्दा पनि प्रवृत्ति खराब भएका कारण जनताले सर्वसुलभ सेवा पाउन नसकेको उनले दावी गरे। ‘अस्पतालमा भएका उपकरण बिगारेर क्लिनिक देखाउने प्रवृत्ति सबैभन्दा घातक छ।’, स्वास्थ्यकर्मीप्रति लक्षित गर्दै उनले भने, ‘नयाँ उपकरण आएका छन्, आउने प्रकृयामा पनि छन्। कृपया यी उपकरण नबिगार्नु होला।’
सरकारी अस्पतालमा समय नदिने तर नजिकका क्लिनिक र निजी अस्पताल खोलेर व्यस्त रहने डाक्टरहरुका कारण पनि अञ्चल अस्पतालको साख घट्दै गएको यादव बताउँछन्। ‘अस्पतालमा न त डाक्टर भेटिन्छन्, न त चेकजाँच नै हुन्छ। अनि किन जाने बिरामी?’, उनले भने, ‘सवै जना जिम्मेवार र इमानदार भएर सेवा दिनोस्, अहिले पनि स्तरीय उपचार गर्न सकिन्छ।’
उनले सगरमाथा अञ्चल अस्पतालको स्तरोन्नतिका लागि ७६ करोड रुपैयाँ छुट्याइसकेको जानकारी दिँदै सुविधासम्पन्न अस्पताल निर्माणको प्रकृया सुरु भइसकेको पनि जानकारी दिए।
मन्त्री यादवसँगै आएका प्रदेश २ का भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले उक्त अस्पताललाई स्वास्थ्य अध्ययन विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने योजनालाई प्रदेश सरकारले बजेट र नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी गराउँदै अस्पतालको साधन, श्रोत र क्षमता विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए।
अस्पतालका मेडिकल सुपरिटेन्डेट डा चुमनलाल दासले अस्पतालको वर्तमान अवस्था, समस्या र चुनौतिका बारेमा जानकारी गराएका थिए।