चिकित्सा शिक्षा विधेयक पुरानै स्वरुपमा पारित गर्नुपर्ने लगायतका माग राख्दै अनसनरत डा गोविन्द केसीको मागप्रति समर्थन गर्दै चितवनका चिकित्सकहरुले आन्दोलन गरेका छन्।
डा केसीको आन्दोलनप्रति समर्थन गर्दै नेपाल चिकित्सक संघ चितवनको आयोजनामा शनिबार चिकित्सकहरुले भरतपुर अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीले चिकित्सा क्षेत्रको सुधार गरी व्यवस्थित बनाउन माग गरे।
चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको टोलीले डा केसीको सुस्वास्थ्यको कामनासहित मानव साङ्लो बनाएका थिए। केसीको माग पूरा गराउन दबावस्वरुप कार्यक्रम गरिएको संघका सचिव डा भोजराज अधिकारीले बताए। चिकित्सक संघको केन्द्रीय कार्यक्रम तय भएअनुसार जिल्लामा दिनहुँ प्रदर्शन गर्ने जिल्ला अध्यक्ष डा प्रकाश खतिवडाले बताए।
प्रदर्शनमा संघका केन्द्रीय सदस्य डा कृष्ण पौडेल, नेपाल बाल चिकित्सक समाजका केन्द्रीय उपाध्यक्ष डा युवानिधि बसौला, नेपाल चिकित्सक संघ चितवनका उपाध्यक्ष डा केशव पौडेल, भरतपुर अस्पतालका पूर्व मेसु डा रुद्र मरासिनी लगायत सहभागी थिए।
उनीहरुले डा केसीमाथि सरकारले अन्याय गरेको भन्दै माग पूरा गरेर चिकित्सा क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन आग्रह गरे।