काठमाडौं- चिकित्सा शिक्षा सुधार लगायतका ७ बुँदे माग राख्दै आमरण अनसनमा बसेका डा गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन गरिएको छ।
सरकारले काठमाडौंको माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेको छ। तर, पनि घोषणा फिर्ताको मागसहित प्रदर्शन हुन थालेका छन्। तर हिजो मात्रै सर्वोच्च अदालतले माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णयमाथि रोक लगाउने अन्तरकालीन आदेश जारी गरेको छ।
डा केसीले पनि आफ्नो मागमा माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गर्न माग गरेका छन्।
सोलिडारिटी फर डा केसी अलायन्सले विरोध कार्यक्रमको आयोजना गरेको हो। माइतीघरमा सहभागी डा केसीका समर्थकले त्यसपछि विरोध र्याली निकालेका छन्। उनीहरुले डा केसीको माग पूरा गर्नुपर्ने, माफियामुखी चिकित्सा शिक्षा ऐन ल्याउन नहुने लगायतका नारा लगाउँदै नयाँ बानेश्वर पुगेका थिए।





