वालिङ, स्याङ्जा – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले अनसनरत डा केसीको माग, माथेमा प्रतिवेदन र चिकित्सा शिक्षा अध्यादेशमा भएको व्यवस्था विपरित मेडिकल कलेजका विषयमा आफ्नो धारणा राखेकी छिन्।
प्रेस चौतरी नेपाल तथा प्रेस सेन्टर नेपाल स्याङ्जाले आज वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले डा केसीका अरु मागमा सहमत हुन सके पनि काठमाडौंमा मेडिकल कलेज खोल्न पाइँदैन भन्ने विषयमा सहमति हुन नसक्ने बताएकी हुन्।
‘डा केसीका मागप्रति सरकार केहीमा सहमत भए पनि मेडिकल कलेज खोल्न नदिनेप्रति सहमत हुनसक्दैन,’ उनले भनिन्, ‘काठमाडौंमा मेडिकल कलेज खोल्न पाइँदैन पनि कहीँ भन्न पाइन्छ।’ उनले अनसनरत गंगामायाको विषय द्वन्द्वसित जोडिएको हुनाले जटिल र संवेदनशील रहेको बताइन्।
डा गोविन्द केसीले संघीय संरचना अनुसार गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको पहुँच पुर्याउन काठमाडौं उपत्यका बाहिर मेडिकल कलेज खोल्नुपर्ने माग राख्दै आइरहेका छन्। यो विषयमा सरकारले डा केसीसँग पटक पटक सम्झौता समेत गरेको छ।
यस्तै शिक्षाविद केदारभक्त माथेमाको संयोजकत्वमा गठित आयोगको प्रतिवेदनले पनि काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नहुने सुझाब दिएको छ। सरकारले दुई पटक ल्याएको चिकित्सा शिक्षा अध्यादेशमा पनि सोही व्यवास्था राखिएको थियो।
तर, सरकारले संसदमा दर्ता गराएको अध्यादेशको प्रतिस्थापन विधेयकमा भने उक्त बुँदा हटाइएको छ। राज्यमन्त्री अर्यालले पनि आज सोही अनुसार निजी मेडिकल कलेज सञ्चालकका पक्षमा आफ्नो धारणा राखेकी हुन्।