काठमाडौं– आज विश्व जनसंख्या दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरि मनाइँदै छ।
विश्व जनसंख्या दिवसको यस वर्षको नारा ‘परिवार नियोजन मानव अधिकार’ भन्ने तय गरिएको छ।
यसै अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले जनसंख्या नियन्त्रणका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरिन्। उनले परिवार नियोजनमार्फत् जनसंख्या नियन्त्रण गर्ने राष्ट्रिय अभियानलाई अझै प्रभावकारी बनाउन सरकारले बहस, छलफलजस्ता कार्यक्रमलाई जोड दिने नीति लिएको पनि स्पष्ट पारिन्।
जनसंख्याका मुद्धाहरुलाई सम्बोधन गर्न सन् १९८९ देखि हरेक वर्ष विश्व जनसंख्या दिवस मनाउने गरिएको छ। नेपाल सरकारले पनि जनसंख्याको उचित व्यवस्थापन गर्न परिवार नियोजनको अभियानलाई प्रभावकारी बनाउन जोड दिँदै आएको छ।
राज्यमन्त्री अर्यालले मुलुकको समृद्धिका लागि पनि परिवार नियोजनको अभियानमार्फत जनसंख्या नियन्त्रणको कामलाई अघि बढाउने पनि स्पष्ट पारिन्। उनले परिवार नियोजनको कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सम्बन्धित निकायलाई पनि सचेत गराइन्।