काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले डा गोविन्द केसीलाई खाना खुवाएर काठमाडौं ल्याउन चिकित्सकहरुलाई आग्रह गरेका छन्। जुम्लामा अनसनरत डा केसीका माग सम्बोधन र जीवनरक्षाका लागि ध्यानाकर्षण गराउन आइतबार साँझ बालुवाटार पुगेका चिकित्सक संघको टोलीसमक्ष ओलीले यस्तो धारणा राखेका हुन्।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले अनसन वा आन्दोलनको चेतावनीका भरमा आफू नथर्किने भन्दै जुम्लामा अनसन बसेका भरमा सरकार ब्याक नहुने अडान लिएका छन्। ‘डा केसीलाई खाना खुवाएर काठमाडौं ल्याउनुहोस्, त्यसपछि वार्तामा बसौँला,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै संघको टोलीमा सहभागी एक सदस्यले भने।
प्रधानमन्त्री ओलीले संघको टोलीसँग के भने?
कोही व्यक्ति अनसन बसेको भरमा वा आन्दोलनको चेतावनी दिँदैमा म डराउने छैन। उहाँ (डा केसी) सँग काठमाडौंमा वार्ता हुन्छ। उहाँलाई खाना खुवाएर काठमाडौंमा ल्याउनुहोस्। यसरी आन्दोलनका भरमा यो गर वा त्यो गर भनेर हामी ब्याक हुने छैनौँ। तपाईंहरुले अस्पताल बन्द गर्छु भनेर चेतावनी दिएको भरमा डराउँदैनौँ पनि। अस्पतालको सेवा तपाईंहरुले बन्द गर्न पाउनु हुँदैन। कानुनले पनि बन्द गर्न दिँदैन। सरकार त्यसको सामना गर्न तयार छ। कानुन अनुसार अगाडि बढ्छ। म १४ वर्ष जेल बसेको मान्छे हुँ, झुकेर सानो कागजमा हस्ताक्षर गरेको भए चाँडै छुट्थेँ, झुकिनँ, छुटिनँ। त्यसकारण अहिले पनि झुक्दिनँ।
एक जना व्यक्ति अनसन बसेर यो कलेजलाई सम्बन्धन दे, यो कलेजलाई नदे भनेको भरमा सरकार पछि हट्दैन। देशलाई गुणस्तरीय चिकित्सा शिक्षाको हब बनाउँछु, गुणस्तरका लागि यसो गर्नुस् भने सुन्छु तर सम्बन्धन नदे भनेर सरकार रोकिन्न। एउटा व्यक्तिको दबाबमा सरकार ब्याक हुँदैन।
वर्षौंअघि आफूले जथाभावी सम्बन्धन नदिऊँ, सम्बन्धन नबाँडौं भन्दा तत्कालीन प्रधानमन्त्रीले सुनेनन्। कमिसन आउने रहेछ त त्यसको लोभमा भटाभट १५० सिट बाँड्दा रहेछन्। अनि गुणस्तरीय डाक्टर कसरी उत्पादन हुन्छन्, गुणस्तरका कुरा गरौं न। गुणस्तरका कुरा भए पो सुन्न सकिन्छ।
एउटा विश्वविद्यालयले ५ भन्दा बढी कलेजलाई सम्बन्धन दिन हुन्न र काठमाडौंमा अब सम्बन्धन दिन हुन्न भन्ने कुरा तर्कसंगत छैन। बंगलादेश र चीनमा नेपालमा भन्दा पनि कमसल कलेजमा नेपाली पढ्न गएका छन्। मेडिकल शिक्षाको गुणस्तर नहुँदा पनि विद्यार्थी बाहिर गइरहा छन्। नेपाललाई मेडिकल शिक्षाको हब पो बनाउनुपर्छ। काठमाडौंमा दिनु हुँदैन भन्ने के आधार छ?
म र प्रचण्डजीले खाना खाइरहेको फोटोलार्इ लिएर अनेक टिकाटिप्पणी भए। म त मेरो नातिको घरमा खाना खान गएको हो। नातिको घरमा खाना खान जाँदा फेसबुकमा हालेर अनेक कुरा आए। मेडिकल कलेजको सम्बन्धनसँग जोडियो। खाएँ त खाएँ, नेपालकै भात खाएँ, भारतको खाइनँ नि। मेरा नातिको घरमा बसेर खाना खाँदा केको आपत्ति? मेरो नाता पर्दैमा उनको कलेजले सम्बन्धन नपाउने? कोही व्यक्तिको निर्देशनमा चलेर उनलाई सम्बन्धन दिन नहुने?
माइतीघरलार्इ निषेधित क्षेत्र बनाउनुपर्छ। त्यो हुन्छ। सर्वोच्च अदालतले भने पनि माइतीघर निषेधित हुन्छ। यसो मन बहलाउने सुन्दर ठाउँ छ, दुःख पर्दा दियो बाल्ने ठाउँ छ, सर्वोच्च अदालत नै त्यहीँ छ, त्यहाँ नाराबाजी गर्न दिन्छु त मैले? त्यसैले डा केसीलार्इ तपार्इंहरुले नै हो बचाउने। काठमाडौं ल्याएर वार्ता गराउनुहोस्।