१० दिनदेखि जुम्लामा अनसनरत डा गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीसँग फोनमा वार्ता गर्न अस्वीकार गरेका छन् । आफ्ना मागका विषयमा थप बोल्न नपर्ने भन्दै उनले कुरा गर्न अस्वीकार गरेका हुन्।
आफू स्पष्ट रुपमा सात बुँदे माग राखेर अनसन बसेको बताउँदै ती पूरा नहुन्जेल कुरा गर्नुका अर्थ नरहेको उनले बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीको सचिवालयले डा केसीसँग कुराकानीको वातावरण बनाउन नेपाल चिकित्सक संघसँग आग्रह गरेपछि उक्त प्रस्ताव राखिएको थियो । तर, उनले आफ्ना मागलाई लिएर थप कुरा गर्न नपर्ने बताएका हुन् ।
चिकित्सक संघका तर्फबाट डा केसीको अनसनलाई सहयोग र समर्थन गर्न जुम्ला पुगेका डा प्रकाश बुढाथोकीका अनुसार अहिले कुराकानीका लागि उनलाई मनाउने प्रयास भइरहेको छ । डा बुढाथोकीले भने, ‘कुराकानीबाटै समाधान निस्किने भएकाले प्रधानमन्त्री ओलीसँग कुराकानी गर्न हामीले सुझाइरहेका छौं ।’