राजविराज– अत्याधिक गर्मी र वर्षाका कारण सप्तरी लगायत तराईका जिल्लामा सर्पदंशका घटना बढेका छन्। सप्तरी सदरमुकाम राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा शनिबार र आइतबार मात्रै १५ जना सर्पदंशका बिरामी भर्ना भएका थिए।
आइतबार विष्णुपुर गाउँपालिकास्थित खुरहुरियाका २५ वर्षीय महिन्द्र राम, सिम्राहा सिंग्यौनकी ८ वर्षिया अनिता कुमारी राम, हनुमाननगर कंकालिनी–१, भारदहकी २२ वर्षीय सञ्जु सिंह, राजविराज–१६ का १० वर्षीय सुन्दर यादव, रुपनी गाउँपालिका–३ की साढे ७ वर्षीया विनिताकुमारी मण्डल र ब्रम्हपुरका ३० वर्षीय रामनारायण महतो अस्पताल भर्ना भएका छन्।
यसैगरी, शनिबार अग्निसाइर कृष्णा सवरण–३ की ५० वर्षिया उषा कुमारी चौधरी, भारतको कुनौलीका मदन कुमार मण्डल, राजविराज–५ की २५ वर्षीया रेखादेवी कापैर, २२ वर्षीया रेसमी दास, वोदेवरसाइनकी २७ वर्षीया रितादेवी यादव, राजविराज–७ की कमलदेवी यादव, २३ वर्षीय माजाराम साह, र महुवाहाका २३ वर्षीय देवेन्द्र साहलाई सर्पले टोकेको अस्पतालका इमर्जेन्सी इन्चार्ज धनेश्वर साहले बताए।
असार महिनामा मात्रै १ सय ४ बिरामी
यी घटनासँगै असार महिनामा मात्रै १ सय ४ जना सर्पदशंका बिरामी अस्पतालमा भर्ना भएका इन्चार्ज साहले जानकारी दिए। कञ्चनरुप नगरपालिकास्थित स्वास्थ्य चौकीमा पनि सर्पदंशको उपचार हुने तथा धरान, विराटनगर लगायतका ठाउँमा पनि बिरामी लाने गरिएकाले घटनाको संख्या २ सय भन्दा माथि हुनसक्ने उनको अनुमान छ।
अञ्चल अस्पतालमा भर्ना भएकामध्ये राजविराज–१२ की ३५ वर्षीया शिवकुमारीदेवी यादव बाहेक सबैको सहज उपचार भएको अस्पतालले जनाएको छ। गत असार १८ गते अचेत अवस्थामा भर्ना भएकी यादवको अवस्था भने जटिल देखिएपछि धरान पठाइएको थियो।

‘उहाँलाई अचेत अवस्थामा अस्पताल ल्याइएको थियो’, साहले भने, ‘अवस्था ज्यादै जटिल देखिएकाले हामीले धरान रेफर गर्यौं।’ अस्पतालमा आइसियुको व्यवस्था नभएका कारण जटिल प्रकृतिका बिरामी अन्यत्र पठाउनु परेको उनले बताए।
अस्पताल भर्ना हुने मध्ये ३ देखि १० प्रतिशतसम्म विसालु सर्पले डसेका बिरामी आउने गरेका छन्। सामान्य र प्रारम्भिक चरणमै अस्पताल आउने बिरामीको सहज उपचार हुने गरे पनि अस्पतालमा मेडिकल अधिकृतसहितको चिकित्सक टोली तथा आवश्यक साधन नहुँदा जटिल अवस्थाका बिरामीलाई भने ‘रेफर’ गर्ने गरिएको छ।
असावधानीले घटनामा वृद्धि
वर्षा र गर्मीको समयमा बासस्थान छोडेर सर्प जमिन माथि आउने र सामान्य असावधानीले मानिसलाई डस्ने गरेको पाइएको छ। अञ्चल अस्पतालमा भर्ना भएका अधिकांशलाई खेतबारीमा काम गर्दा, पराल तान्ने क्रममा र अँध्यारोमा शौचालय जाँदा सर्पले डसेको इमर्जेन्सी शाखाले जनाएको छ।
काम गर्दा सावधानी अपनाउने र राति घरबाहिर निस्किँदा लाइट लिएर मात्र निस्कने गरे सर्पदंशका घटना न्यूनिकरण गर्न सकिने स्वास्थ्यकर्मीहरु बताउँछन्।
‘एन्टी स्नेक भेनम’ पर्याप्त
सर्पदंशका घटना वृद्धि हुँदै गएपनि अस्पतालमा ‘एन्टी स्नेक भेनम’को भण्डारण पर्याप्त रहेको स्वाथ्यकर्मीले जानकारी दिए। हाल ३ सय ७५ भाइल अस्पतालमा स्टक रहेको इन्चार्ज साहले बताए।
एक जना बिरामीलाई सरदर २० देखि ३० भाइलसम्म औषधिको आवश्यकता पर्ने बताएका साहले स्टक पर्याप्त रहेकाले उपचारमा समस्या नआउने प्रष्ट पारे। ‘भर्ना हुँदैमा औषधि सकियो भनेर चिन्ता गर्नु पर्दैन, कतिपय घटना ननपोइजनस पनि हुन्छन्’, साहले भने, ‘एकआध घटनामा मात्रै औषधिको खपत बढी हुने हो।’