काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’को आदेशमा वीर अस्पताल परिसरमा रहेको ट्रमा सेन्टरमा कार्यरत एक डाक्टरलाई 'अपहरण शैली'मा गृह मन्त्रालय लगेर धम्की दिएपछि अस्पतालले तत्काललार्इ मेडिकल रिपोर्ट नबनाउने निर्णय गरेको छ।
अस्पतालले मंगलबार दिउँसो अस्पतालमा बिरामी जाँचिरहेका डा भोजराज अधिकारी अधिकारीलाई गृह मन्त्रालयकै गाडीमा लगेर गलत मेडिकल रिपोर्ट बनाउन दबाव दिएपछि अर्को व्यवस्था नभएसम्मका लागि मेडिकल रिपोर्ट नबनाउने र अपाङ्गता सिफारिस नगर्ने निर्णय गरेको हो।
डा अधिकारीलार्इ गृहमन्त्री रामबहादुर थापाको आदेशमा अाएका टोलीले 'द्वन्द्वकालका घाइतेहरुको अपांगताको रिपोर्ट उनीहरुको चाहना अनुरुप नै हुनुपर्ने, अन्यथा कारबाही गर्ने' धम्की दिँदै मन्त्रालयमा घन्टौंसम्म दुर्व्यवहार गरेका थिए।
ओपिडीमा बिरामी जाँचिरहेका डा अधिकारीलाई मंगलबार दिउँसो गृह मन्त्रालयकै गाडीमा मन्त्रालय लगेर धम्की दिइएको हो। डा अधिकारीलाई गलत मेडिकल रिपोर्ट बनाउन दबाब दिइएको थियो।
'मन्त्रालयमा गृहमन्त्रीले बोलाएको छ' भनेर करिब १ घन्टा राखेपछि गृहमन्त्री थापाका राजनीतिक सल्लाहाकार सूर्य सुवेदी पथिकले गलत रिपोर्ट ‘बनाउनुहोस्’ भन्दै दबाब दिएका हुन्।
डा अधिकारीले ३४ वर्षभन्दा लामो चिकित्सकीय अभ्यासका क्रममा ‘मेडिकल इथिक्स’भन्दा बाहिर बसेर काम नगरेको भन्दै गलत रिपोर्ट नबनाउने अडान राखेपछि छाडिएको थियो।
डा अधिकारीले गृहमन्त्रालयमा आफूलाई कैदीलाई झैँ केरकार गरिएको बताए। ‘उहाँहरुले मलाई निकै तनाव दिनुभयो। प्रहरीले कैदीलाई केरकार गरेझैँ गर्नुभयो,’ डा अधिकारीले भने, ‘यसले मलाई निकै चित्त दुखेको छ। गृहमन्त्रीको सल्लाहकारले मलाई हाम्रो महान् योद्धाहरुले भने अनुसारकै रिपोर्ट बनाउनुहोस् भन्दै निर्देशनात्मक आदेश दिए।’
डा अधिकारीले आफूले आजसम्म चिकित्सकीय मर्यादा विपरीत काम नगरेका कारण यो कुरामा पनि जे सत्य हो त्यही लेख्छु भनेर जानकारी दिएको बताए।
डा अधिकारीलाई मन्त्रालयमा बोलाइएको विषय सल्लाहकार सुवेदीले समेत स्वीकार गरे। उनले सुरुमा यो कुरा सक्किसकेको भन्दै कुराकानी गर्न मानेका थिएनन्। तर, ‘तपाईंहरुले गलत मेडिकल रिपोर्ट बनाउन दबाब दिनुभएछ नि’ भन्ने प्रश्नपछि उनले कुराकानी गरेका थिए।
‘सामान्य छलफलका लागि बोलाइएको हो, उहाँसँग राम्रै कुरा भएको छ। गलत भएको छैन,’ उनले भने, ‘घाइतेहरुको विषयमा कुराकानी भएको हो। गलत रिपोर्ट किन बनाउने हो र सही रिपोर्ट नै बनाउने हो नि। यो कुरा सिद्धिहाल्यो नि अब। केही छैन, अब यो विषयमा उतै कुरा गर्नुहोस्।’
डा अधिकारीलाई गृह मन्त्रालय लगेर गरिएको दुर्व्यवहारप्रति सरकारी चिकित्सक संघ (गोदान) ले आपत्ति प्रकट गरेको छ।
गोदानका आजीवन सदस्य रहेका डा अधिकारीलाई 'द्वन्द्वकालका घाइतेहरुको अपांगताको रिपोर्ट उनीहरुको चाहना अनुरुप नै हुनुपर्ने, अन्यथा कारबाही गर्ने' धम्की दिँदै मन्त्रालयमा घन्टौंसम्म दुर्व्यवहार गरिएको संघले विज्ञप्तिमा जनाएको छ।
संघले चिकित्सा पेसामाथि धावा बोल्दै सरकारी पक्षबाटै असुरक्षित महसुस भएको उल्लेख गर्दै घटनाका दोषीमाथि कडा कारबाहीको माग समेत गरेको छ।
'अन्यथा पेशाको मर्यादा र अनुशासनको लागि यस संघ जस्तोसुकै कदम चाल्न बाध्य हुनेछ भन्ने सम्बन्धित पक्षलाई जानकारी गराउन चाहन्छ', विज्ञप्तिमा उल्लेख छ।