केही दिनअघि वैदेशिक रोजगारीमा रहेका एक व्यक्तिले जिब्रोमा कालो दाग आउनुको कारणबारे जिज्ञासा पठाएका थिए। जिब्रोमा आउन थालेको कालो दागले आफूलाई निकै चिन्तित बनाएको उनले उल्लेख गरेका थिए। उनीजस्तै धेरैले कालो दागका विषयमा प्रश्न गर्न थालेका छन्। हामीमध्ये पनि धेरैलाई बेलाबेलामा यस्तो समस्या आउने गर्छ। यो समस्याले धेरैलाई चिन्तित बनाउँछ। तर, कतिपयले भने जिब्रोमा आएको कालो दागबारे वास्ता गरेको पाइँदैन। यो समस्या लिएर कमै मात्र बिरामी चिकित्सककहाँ पुग्ने गरेको पाइन्छ। सामान्य समस्या ठानेर हेलचेक्र्याइँ गर्दा जिब्रोमा कालो दाग देखिएका कतिपयमा क्यान्सरसमेत भेटिएको छ।
किन आउँछ जिब्रोमा कालो दाग ?
जिब्रोमा कालो दाग आउनु वा जिब्रो कालो देखिनुमा साधारणदेखि जटिलसम्मका कारण हुन सक्छन्। हामीकहाँ गम्भीर समस्या नभई अस्पताल आउने चलन कमै छ। जिब्रोमा पनि केही समस्या हुनेबित्तिकै कमै मानिस जिज्ञासु हुन्छन्। धेरैले यो आउँछ, जान्छ भन्ने ठानेर परामर्श लिन आवश्यक ठान्दैनन्।
जिब्रोमा कालो दाग आउनु सधंै सामान्य कुरा मात्र होइन। कहिलेकाहीं गम्भीर रोगको लक्षणका रुपमा पनि जिब्रो कालो हुने, कालो दाग बस्ने हुन सक्छ। त्यसैले यस्तो समस्या देखिनेबित्तिकै चिकित्सकलाई देखाएर ढुक्क हुनुपर्छ।
विभिन्न कारणले जिब्रोमा कालो दाग बस्ने हुन्छ। कतिपय औषधि सेवन गर्दा, मुख कुल्ला गर्ने औषधि सेवन गर्दा जिब्रोमा कालो देखिन्छ। त्यो कालो दाग टङ क्लिनरले सफा गर्दा हट्दै जान्छ। आयुर्वेदिक औषधि खाँदा पनि स्टेनजस्तो कालो दाग बस्छ। जिब्रो टोकिंदा पनि समस्या हुन्छ। कहिलेकाहीं शरीरका बाहिरी भागमा कोठी आएजस्तो जिब्रोमा पनि यस्तो समस्या हुन्छ। कसै–कसैले मुखभित्र ट्याटु पनि खोपेका हुन्छन्।
धूमपान गर्ने व्यक्तिको गिजा, ओठ कालो भएजस्तो जिब्रो पनि कालो हुनसक्छ। कहिलेकाहीं पिग्मेन्टेसन, रगतको डल्लो जमेको छ, रगतमा संक्रमण छ वा रगतसम्बन्धी रोग भएमा जिब्रोमा कालो दाग देखिन्छ।
अचानक जिब्रोमा कालो दाग देखिन थाल्यो वा औषधि सेवन गर्दा कालो दाग आएको हो भने पनि चिकित्सकलाई देखाउनुपर्छ।
फैलँदै गयो, कालो दाग दुख्यो, सुन्निएको छ, खान गाह्रो भयो, कालो दागमा घाउजस्तो देखिन थाल्यो भने त्यो अर्को चरण हो। त्यो ठूलो समस्याको जड हो। क्यान्सरको लक्षण पनि हुनसक्छ। त्यसैले तुरुन्त जँचाउनुपर्छ।
कुन कारणले कालो दाग आयो भन्ने निश्चित गर्न चिकित्सकले बायोप्सी गरी विभिन्न जाँच गर्छन् र समस्या पत्ता लगाउँछन्। के कारणले कालो दाग आएको हो भन्ने समयमा नै निश्चित भयो भने उपचार गर्न पनि सहज हुन्छ।
सामान्य मानिसहरु यस्तो समस्या आउँदा जाँच नै गराउँदैनन्। हामीकहाँ औषधि सेवन गर्दा जिब्रो कालो भएका बिरामी बढी आउँछन्।