मेरो आफ्नै बहिनी छैन। बहिनी नभएपनि मैले तिहारमा काकाको छोरीको हातबाट टीका लगाउदैँ आएको थिएँ। तर चार पटकभन्दा बढी तिहारको साइतमा नै बिरामी हेर्न अस्पताल जानु परेर टीका लगाउन नपाएपछि मैले टीका लगाउनै छाँडिदिएँ। हुन त अहिले बहिनी (काकाकी छोरी) पनि अमेरिकामा छिन्।
तिहारमा मैले टीका लगाउन छाडेको पनि १७ वर्ष भइसकेछ।
यो वर्ष त मेरो दसैं तिहार पनि थिएन। गत माघमा बुबाको मृत्यु भएका कारण तिहार छैन।
डाक्टरको काममा चाडबाड भन्ने हुँदैन। आकस्मिक रुपमा बोलावट भएपछि अस्पताल पुग्नु पर्छ। स्वास्थ्य सेवाम ाप्रवेश गरेको २० वर्ष हुन लाग्यो। सेवामा प्रवेश गर्दाको समयमा निकै लामो समयमा चाडवाड वा बिदा मिल्थ्यो। तर अहिले अलि सहज भएको छ।
म डेन्टल सर्जन भएकोले चाडवाडको समय धेरै दुर्घटना हुने भएकाले अलि बढी काम हुने हुन्छ।
पर्व मनाउने नाममा मदिरापान गरी सवारी चलाउदा हुने सडक दुर्घटना, जुवातास खेल्दा हुने ठूला झगडाले लाग्ने चोटपटकका बिरामी अन्य समयमा भन्दा धेरै हुन्छन्।
पहिलो म लुम्बिनी अञ्चल अस्पतालमा काम गर्दा पूर्वपश्चिम रार्जमागमा धेरै सडक दुर्घटनाका बिरामी आउँथे। डेन्टल सर्जनका रुपमा अस्पतालमा म एक्लै हुँदा धेरै पटकको दसैं तिहार अस्पताल र अप्रेशन कक्षमा बिताउनु परेको छ।
त्यसैले हामी चिकित्सकलाई चाडवाड,घरपरिवार र समयलाई समय दिन निकै समस्या हुन्छ। समय नदिदाँ परिवार र अन्य सदस्यले कस्तो डाक्टर रहेछ समय नै भन्ने गुनासो पनि गर्छनन तर हाम्रो पहिलो प्राथमिकता जहिले पनि बिरामी नै हुन्।
चाडबाडका नममा जथाभावी रुपमा खानपिन गरेर बिरामी हुने पनि धेरै छन्। त्यसकारण तिहारलाई स्वस्थ तरिकाले मनाउन सबैलाई सुझाब दिन्छु।