अभिनेत्री सारा सिर्पाली। तस्बिर सौजन्य : महेश प्रधान/साप्ताहिक
अभिनय क्षमताका कारण दर्शकको नजरमा परेकी अभिनेत्री हुन् सारा सिर्पाली। फिल्म ‘रुद्र’बाट अभिनय यात्रा तय गरेकी सिर्पाली त्यसपछि फिल्म ‘पिंजडा ब्याक अगेन’मा देखिइन्। उनको नयाँ फिल्म ‘सुश्री सम्पत्ति’ भने शुक्रबारदेखि प्रदर्शन भइरहेको छ। त्यसैले उनको समय तालिका यतिबेला असाध्यै व्यस्त छ।
चिसिँदै गएको काठमाडौंको मौसमलाई चुनौती दिँदै हट अवतारमा स्टार मलको एभिन्यु क्याफेमा भेटिइन् सिर्पाली। उनको लुक्स र सौन्दर्यले दर्शाउँथ्यो, उनी स्वस्थ छिन्।
कला क्षेत्रले सेड्युल कम पछ्याउँछ। न खानको ठेगान हुन्छ, न सुत्नको। दिनरात नभनी सुटिङमा लाग्नु, त्यसपछि फिल्म प्रचारका लागि खटिइनुपर्छ। त्यसैले सुरुमै हामीले उनको स्वास्थ्य अवस्थाबारे नै बुझ्यौं– सञ्चै हुनुहुन्छ?
अक्सर हालखबर बुझ्दा नेपालीले प्रयोग गर्ने औपचारिकता नै हो यो। त्यसको उत्तर उनले यसरी दिइन्, ‘२६ वर्षको उमेरसम्म आइपुग्दा त्यस्तो जटिल स्वास्थ्य समस्या केही आइलागेको छैन।’
आफ्नो ज्यानको ख्याल राख्ने अभिनेत्रीमध्ये पर्छिन् उनी। त्यसैले हप्ताको तीन दिन शारीरिक व्यायामका लागि समय छुट्याउने गरेकी छिन्।
ज्यान बनाउन फिटनेस सेन्टरमा धाउनेहरुमा चाहिँ पर्दिनन् तर फिट रहनुपर्छ भन्ने ज्ञान उनलाई सानैदेखि छ । आफूलाई स्वस्थ रहन चाहिने केही शारीरिक अभ्यास उनले सिकेकी छिन् । हप्ताको तीन दिन जसरी पनि शारीरिक अभ्यास गर्ने रुटिन पछ्याउँछिन्।
उनले आफ्नो शारीरिक सन्तुलन कायम राख्न घरमै डमबेल किनेर राखेकी रहिछन् । दैनिक डमबेलको सहारामा शारीरिक अभ्यास गर्दा मांसपेशी मजबुत हुने उनी बताउँछिन्।
प्लस टुपछि ६ वर्ष लन्डनमा बिताएकी उनको अनुहारको चम्किलो छालाको प्रशंसा त्यहाँ रहँदा पनि हुने गरेको उनी बताउँछिन् । उनले भनिन्, ‘अनुहार हेरेर मलाई नेपाली भनेर त्यहाँका साथीहरुले सहजै अनुमान लगाउँथे । अनि सुन्दरताको तारिफ पनि गर्न भ्याउँथे।’
आफ्नो छालाको सुन्दरताका लागि बजारिया उत्पादनभन्दा घरायसी तरिका प्रयोगमा बढी विश्वास गर्छिन्।
उनले आफ्नो अनुहारमा रहेको चमकको राज खोलिन्, ‘म हप्ताको दुई पटक राति सुत्नुअघि कागती र महको लेप लगाएर १५ देखि २० मिनेटसम्म राख्छु । त्यसले अनुहारमा रहेका मृतकोषिका हटाउन र छालालाई हानि गर्ने जीवाणु नष्ट गर्न सहयोग पुर्याउँछ।’
मेकअप र सुन्दरताका लागि बजारमा पाइने उत्पादनमा उनलाई त्यति रुचि छैन । नियमित मेकअपका सामग्री प्रयोगमा ल्याउँदिनन् पनि । बजारमा पाइने कमसल मेकअपका सामग्रीले अनुहारका छालामा हानि पु¥याउने उनले बुझेकी छिन् । त्यसैले सकेसम्म घरमै प्राकृतिक उत्पादन प्रयोगमा जोड दिइरहेकी हुन्छिन्।
काठमाडौंमा जन्मे–हुर्केकी सिर्पाली डान्स भनेपछि बच्चैदेखि हुरुक्क हुन्थिन् । समयसँगै अध्ययनका क्रममा ‘प्लस टु’ पछि उनी लन्डन पुगिन् । लन्डनको ६ वर्षको बसाइँमा उनले त्यहाँको ‘क्यापलान युनिभर्सिटी’मा ‘चार्टर्ड अकाउन्ट’को अध्ययन पूरा गरिन् । उक्त समय उनले लन्डनमा करिब डेढ वर्ष फोटोग्राफी पनि गरिन् । तर जब सिर्पाली नेपाल फर्किइन्, त्यसपछि भने उनी अभिनय क्षेत्रमै सक्रिय छिन्।
अधिकांश परिवारको चाहना हुन्छ, आफ्नो सन्तानलाई डाक्टर वा इन्जिनियर बनाउने । तर सिर्पालीको परिवारले उनलाई कहिल्यै यस्तो सपना देखाइदिएन । उनले पनि चिकित्सा क्षेत्रमा रुचि राखिनन् । अहिले पनि उति रुचि छैन । भन्छिन्, ‘त्यही भएर स्वास्थ्यका विषयमा धेरै ज्ञान छैन मसँग।’
व्यक्तिगत जीवनका लागि स्वास्थ्य महत्वपूर्ण सम्पत्ति भएको कुरामा उनी सचेत रहिछन् । उनी १५ वर्षको उमेरदेखि नै स्वस्थ र सुन्दर रहन प्रयासरत छिन् । सम्झन्छिन्, ‘सायद १५/१६ वर्षको हुँदा म अलि मोटी थिएँ । त्यसपछि मलाई स्वास्थ्य र सौन्दर्य दुवैका लागि फिट रहनुपर्छ भन्ने लाग्यो । त्यसपछि कन्सियस हुन थालेकी हुँ।’
पछि लन्डन रहँदा उनको तौल केही बढ्यो । फिल्म ‘पिंजडा ब्याक अगेन’मा अभिनय गर्दासम्म उनको तौला उचाइअनुसार बढी थियो । उनी आफू ६६ केजी भएको बताउँछिन् । उनलाई आफू केही मोटी भएको महसुस भएपछि फेरि तौल घटाउन उनी जिमदेखि जुम्बासम्म धाएकी थिइन्।
उनले विशेषगरी डाइटिङमा ध्यान दिइन् । भन्छिन्, ‘मलाई चाहिने न्यूनतम क्यालोरी भएका खानेकुरा खाएँ । नियमित व्यायाम गरेँ ।’ त्यसपछि उनी ५७ केजीमा झरिन् । खानपानमा भने निकै सचेत रहँदै आएकी छिन्।
फलफूलबाट तयार एक प्रकारको बाक्लो जुस (स्मुथी) अत्यधिक रुचाउने सिर्पाली मेवा र केरा धेरै मनपर्ने बताउँछिन् । जसले पेटलाई पनि फाइदा गर्ने उनको अनुभव छ । तर जाडोको मौसममा भने उनी होम मेड मसरुम सुप धेरै खाने गरेको सुनाउँछिन्।
खानाका प्रकारमा आफ्नो फिटनेस र रुचि दुवैतर्फ ध्यान राखेर चिकेन सलाद, पास्ता लगायतका खाने गरेको बताउँछिन् । तर आफ्नो स्वस्थ्य अवस्था र डाइटिङमा चनाखो रहँदारहँदै पनि उनी चिसो जुस (कोक) नखाई हप्ता कटाउन सक्दिनन् । यसले स्वास्थ्यमा साथ नदिने भए पनि कोक भनेपछि हुरुक्कै हुने आफ्नो बानीले आफैं हैरान भएको सुनाउँदै भन्छिन्, ‘जति डाइटिङ र वर्कआउट गरे पनि हप्तामा एक पटक चाहिँ आफूले आफैंलाई कोक ट्रिट दिने गरेकी छु।’
घुम्न बढी मन पराउने सिर्पाली मानसिक र शारीरिक दुवै पक्षलाई स्वस्थ राख्न छोटो या लामो यात्रामा निस्कन अरुलाई पनि सुझाउँछिन्।
प्रत्येक दिन थोरै–धेरै हिँड्ने गरेको बताउँदै उनी भन्छिन्, ‘स्वास्थ्यमा म सम्झौता गर्दिनँ। अरुले पनि नगरुन् भन्ने चाहना छ।’