प्रवास

ब्रेनडेथ भएकाको अंग प्रत्यारोपणमा जोड दिनुपर्छ : डा सन्देश पराजुली

स्वास्थ्य खबरपत्रिका

डा सन्देश पराजुली अमेरिकाको युनिभर्सिटी अफ विसकोन्सिन स्कुल अफ मेडिसिन एन्ड पब्लिक हेल्थमा एसिस्टेन्ट प्रोफेसर छन्। उनी युनिभर्सिटीको मेडिसिन विभागअन्तर्गत नेफ्रोलोजी (मिर्गौला) प्रत्यारोपण डिभिजनमा कार्यरत छन्। विश्वचर्चित पुस्तक प्रकाशक कम्पनी स्प्रिन्जरले डा पराजुलीद्वारा सम्पादित पुस्तकसमेत प्रकाशनमा ल्याएको छ। डा पराजुलीसँग स्वास्थ्यखबरले उनको पुस्तक, चिकित्सकीय यात्रालगायतका विषयमा कुराकानी गरेको छ। स्वास्थ्यखबरसँग उनले व्यक्त गरेको धारणा उनकै शब्दमा :


यही डिसेम्बरबाट ‘किड्नी ट्रान्सप्लान्ट म्यानेजमेन्ट : अ गाइड टु इभ्यालुएसन एन्ड  कमोरविडिडिज’ किताब बजारमा आएको छ। यो स्विट्जरल्यान्डमा रहेको विश्वचर्चित प्रकाशक स्प्रिन्जरले प्रकाशन गरेको हो। यो पुस्तक मिर्गौला प्रत्यारोपण गरिएका बिरामीको हेरचाहमा केन्द्रित छ। १४ वटा च्याप्टर रहेको यस किताबमा विभिन्न १० संस्थाका फिजिसियनले योगदान गरेका छन्। यो किताब विश्वमा सबैतिर पुग्नेछ। 

यो किताबमा मेरो सहभागिता रहेकोमा म निकै खुसी छु। मिर्गौला प्रत्यारोपण फिजिसियनका रुपमा गरेको कामको अनुभवका आधारमा यो किताबमा हामीले सहज रुपमा धेरै कुरा समेटेका छौं। यो पुस्तक मेडिकल फिल्डमा रहेकाहरुका लागि निकै राम्रो खुराक हुनेछ। मिर्गौला बिरामीलाई कसरी हेरचाह गर्ने भनेर निकै राम्रोसँग यसमा लेखिएको छ। 

मिर्गौला रोगको समस्या नेपाल र अमेरिकामा मात्र नभई विश्वभर छ। प्रविधिका हिसाबमा मिर्गौला प्रत्यारोपण निकै अगाडि छ। तर, नेपालले पनि सीमित स्रोत र साधनमा पनि मिर्गौला प्रत्यारोपण क्षेत्रमा निकै राम्रो प्रगति गरेको छ। नेपालमा सन् २००८ बाट मात्र मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको हो। १० वर्षको यो अवधिमा नेपालले मिर्गौला प्रत्यारोपणको क्षेत्रमा निकै ठूलो प्रगति गरिसकेको छ। 

ब्रेन डेथ (मस्तिष्क मृत्यु) भएकाहरुले पनि सहज रुपमा मिर्गौला दिनसक्ने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने हो भने नेपालका धेरै बिरामीले सहज रुपमा मिर्गौला प्रत्यारोपण गर्न पाउने छन्। अमेरिकामा हुने कुल मिर्गौला प्रत्यारोपणमध्ये दुई तिहाई ब्रेन डेथ भएकाहरुबाट नै हो। तर, नेपालमा ९९ प्रतिशतभन्दा बढी जीवित व्यक्तिबाट नै हुँदै आएको छ। कानुनी रुपमा पनि नेपालमा केही समस्या भने छ। 

अमेरिकामा जसले जसलाई पनि मिर्गौला दान दिनसक्छ। यहाँ त सवारी साधनको लाइसेन्स लिने समयमा नै मिर्गौला दाता (डोनर) बन्ने भनेर फर्म भरिएको हुन्छ। यो हुँदा ब्रेनडेथ भएलगत्तै उसको मिर्गौला निकालेर मिर्गौला फेल भएको अर्को बिरामीमा प्रत्यारोपण गरिन्छ। ब्रेनडेथ भएका एक जना मानिसबाट अरु ७ जनालाई बचाउन सकिन्छ। नेपालमा पनि ब्रेनडेथसम्बन्धी कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनु पर्छ। यो विषयमा चेतना फैलाउनु पर्छ। राम्रोसँग नियमन गरेर ब्रेनडेथलाई प्रभावकारी कार्यान्वयनमा ल्याउन आवश्यक छ।

अमेरिकामा मिर्गौला प्रत्यारोपण सुरु भएको ५० वर्षभन्दा बढी भइसकेको छ। प्रत्यारोपण गरिएको बिरामीको जीवनका विषयमा धेरैथरीका कुरा सुन्ने गरिन्छ। यहाँ मैले ३८ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेको बिरामी पनि भेटेको छु। २५ वर्ष भन्दा बढी प्रत्यारोपण गरेका झन्डै एक सय भन्दा बढी बिरामी छन्। प्रत्यारोपण गर्नु भनेको मिर्गौला फेल भएकाको पूरै उपचार सकिएको होइन। प्रत्यारोपणपछि पनि उसको जीवनशैली, खानपान, औषधि सेवनलगायतका उपचारका अन्य कुरा हुन्छ। डायलाइसिसको तुलनामा प्रत्यारोपण गरेका बिरामी धेरै बाँच्छ। उसको जीवन सहज हुन्छ। अर्थात् बिरामीको क्वालिटी अफ लाइफ तीन गुणा राम्रो हुन्छ। 

अमेरिकामा मिर्गौला प्रत्यारोपणको खर्च सरकारले तिरिदिन्छ। प्रत्यारोपणपछिको सुरुको तीन वर्षसम्म सरकारले खिर्च गरिदिन्छ, त्यसपछि भने बीमामार्फत उपचार भइरहेको हुन्छ। त्यसपछि बिरामीले काम गरेर बीमामार्फत उपचार खर्च जुटाउनु पर्ने हुन्छ।
अमेरिकामा मिर्गौला फेल गराउने प्रमुख कारणमा मधुमेह, उच्च रक्तचाप, अटोइम्युन रोगलगायत पर्छन्। नेपालमा भने संक्रमण, औषधिको बढी प्रयोग, झाडापखलालगायत छन्।

छोटो समयमा पनि नेपालले उपचारको क्षेत्रमा गरेको प्रगति देख्दा खुसी लाग्छ। सन् २००४ मा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबिबिएस अध्ययन पूरा गर्ने समयमा नेपालमा पोस्टमार्टम गर्न पनि निकै समस्या हुन्थ्यो। तर, अहिले समय फेरिएको छ। उपचारको क्षेत्रमा नेपालले ठूलो फड्को मारेको छ।
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने