कुरा केही समय अगाडिको हो । म वार्डमा बिरामी हेर्दै थिएँ । बिरामीको रोग थियो, ‘अल्कोहोल विथ्ड्र्वल सिन्ड्रोम’ बिरामीका आफन्तले सोध्नुभयो– यो घाँटी, हात र खुट्टामा आएको एलर्जी के हो डाक्टरसाब? म उत्तर दिन मात्र के लागेको थिएँ, बिरामीले एकदमै बेखुसी पाराले भने– यो पनि रक्सीकै कारणले भएको होला नि होइन डाक्टरसाब ? कलेजोको समस्या, आँखाको समस्या, नशाको समस्या रक्सीले हो भन्दा–भन्दा उनलाई दिक्क लागेछ, अनि मलाई व्यंग्यात्मक शैलीमा पो त्यस्तो भनेका रहेछन्।
तर वास्तविकता त्यही नै हो । रक्सीले छालामा पनि असर गर्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ, तर यसले जति भित्री अंगमा असर गर्छ त्यत्तिकै असर छालामा पनि गर्छ । हामीमध्ये धेरैलाई थाहा छ, रक्सीले विशेसगरी कलेजो तथा प्याङ्क्रियाज नामक ग्रन्थी तथा मुटु, नशा जस्ता अंगमा असर गर्नुका साथै शरीरको रोगसँग लड्ने क्षमता पनि कम गर्छ ।
प्रस्तुत लेखमा रक्सीले छालामा गर्ने असरको बयान गरिएको छ ।
सामान्यतयाः रक्सीले छालामा गर्ने असरलाई तीन भागमा वर्गीकरण गरिन्छ, जस्तै यसले प्रत्यक्ष गर्ने असर, रक्सीले भित्री अंग खराब गरेर देखिने असर र रक्सीको सेवनले बढाउने छालाका बिरामीहरु ।
मुख्यतया रक्सी सेवन गर्नाले सिधा छालामा गराउने समस्या निम्न छन्ः
- छाला अत्यधिक सुक्खा हुने
- शरीरभरि चिलाउने समस्या हुने
- पैताला र हत्केला रातो भइरहने
- अनुहार रातो भइरहने
- छालाको क्यान्सर
- अनुहार तथा हातको छाला कालो हुने
- नङमा विभिन्न प्रकारका समस्या देखिने
- घाँटीको विभिन्न ग्रन्थीको सुजन
छालाको पुरानो बिरामी जसलाई रक्सीले झन् बढाउँछ जस्तैः
सोरयासिस ः रक्सीको अधिक सेवनले यो रोगलाई बढाउने मात्र नभई उपचारमा प्रयोग हुने औषधिलाई पनि कम उपयोगी बनाउँछ ।
रोजेसिया : रक्सीको सेवनले यो रोगका बिरामीको अनुहार खानेबित्तिकै एकदम रातो हुने हुन्छ । रक्सी खानेबित्तिकै वा केही समयमा अनुहार रातो हुने हुँदा यो समस्या भएका बिरामीले रक्सी नै खान छोडेका उदाहरण पनि छन् ।
कपालमा आउने चाया ।
रिङ एलर्जी (नमुलर इक्जेमा)
रक्सीको असरले भित्री अंगमा खराब गरेपछि देखिने समस्याः
- पोषक तत्वको कमीले हुने समस्या ।
- पेल्लाग्रा : घाँटी, हात र खुट्टामा आउने एलर्जी ।
- मरास्मस र क्वासीवर्करमा जस्तो छालामा आउने समस्या ।
- जिङ्कको कमीले कपाल झर्ने छाला सुक्खा हुने समस्या पकुवा घाउहरु विभिन्न ठाउँमा आउने समस्या ।
- संक्रमण : शरीरको रोगसँग लड्ने झमता कम गराई विभिन्न ठाउँमा किटाणुहरुको संक्रमण बढाउँछ।
- कलेजोको सिरोसिस : यो समस्यामा विभिन्न ठाउँमा रगतका साना नलीहरु देखिने, हातखुट्टा, अनुहार रातो हुने, शरीरभरि चिलाउने, पुरुषको स्तन बढ्ने, जन्डिस हुने जस्ता समस्या देखिन्छन् ।