प्रवास

छनोटमा परेकाहरुको लामो अवधिसम्म स्वास्थ्य अवस्थाबारे अध्ययन गर्नेछौं

डा यशस्वी पोखरेल


डा यशस्वी पोखरेल हाल अमेरिकाको कान्सस सहरमा बस्छन्। चितवनमा जन्मेका डा पोखरेल सन् २००७ मा अमेरिका पुगेका हुन्। एमबिबिएसपछि थप अध्ययन र अवसरका लागि अमेरिका पुगेका डा पोखरेलले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोगसमेत गर्दै आइरहेका छन्। अनुसन्धानमा विशेष रुचि राख्ने उनले नेपालको दाङमा नसर्ने रोगको क्षेत्रमा काम गरिरहेका छन्। हेल्थ फाउन्डेसन नेपालले उक्त अनुसन्धानको काम अगाडि बढाइरहेको छ। ४० देखि ७५ वर्ष उमेरका त्यहाँका मानिसको स्वास्थ्यका विषयमा फाउन्डेसनले लामो अवधिसम्मको चेकजाँच गर्ने काम गर्दछ। अमेरिका बसाइसँगै नेपालमा सुरु गरिएको अनुसन्धानको विषयमा डा पोखरेलले स्वास्थ्यखबरलाई यसरी सुनाए:


चितवनमा जन्मे पनि म हुर्केको भने काठमाडौंमा हो। मैले रिब्स स्कुलबाट एसएसली पास गरेँ। एसएलसीलगत्तै काठमाडौं विश्वविद्यालयबाट आइएस्सी गरेको हुँ। एमबिबिएस चाहिँ चीनबाट गरेँ। 

सन् २००३ मा एमबिबिएस सकेपछि मैले कान्ति बाल अस्पताल र त्रिवि शिक्षण अस्पतालमा दुई वर्ष काम गरेँ। त्यसपछि म थप अध्ययनका लागि अमेरिका आएको हुँ। अमेरिका आएलगत्तै मैले युनिभर्सिटी अफ नर्थ क्यारोलिन च्यापल हिलबाट सम्बन्धन पाएको अस्पतालबाट इन्टरनल मेडिसिन अध्ययन गरेको हुँ। त्यसपछि सोही युनिभर्सिटीको स्कुल अफ ग्लोबल पब्लिक हेल्थबाट क्लिनिकल हेल्थमा मास्टर्स गरेँ। यसका साथै कार्डियोलोजी (मुटु रोग) का विषयमा रिसर्च सहितको फेलोसिप पनि गरेको छु।

अमेरिकामा नेपाली डाक्टरहरूलाई धेरै माया गर्छन्। यहाँ काम गर्न रमाइलो नै छ। यहाँ उपचारका लागि आउनेहरूले नेपाली डाक्टरलाई इमानदार र मेहनतीका रूपमा चिन्छन्। यहाँ स्वास्थ्यका क्षेत्रमा धेरै अनुसन्धान भएका छन्। तर, नेपालमा अनुसन्धानको काम निकै कम हुने गरेको छ। उपचारका क्षेत्रमा तथ्यमा आधारित अभ्यास अर्थात् इभिडेन्स बेस्ड प्राक्टिस हुनुपर्छ। त्यसका लागि रिसर्चमा जोड दिन आवश्यक छ। 

अनुसन्धान भनेको छुट्टै विज्ञान हो। त्यसलाई आधार मानेर उपचार तथा स्वास्थ्यका कार्यक्रमहरू अगाडि बढाउने हो भने नतिजा निकै प्रभावकारी हुन्छ। नेपालको स्वास्थ्य अनुसन्धानका क्षेत्रमा स्वास्थ्य अनुसन्धान परिषद्ले निकै राम्रो काम गरिरहेको छ। विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा पनि अनुसन्धानका काम भइरहेका छन्। तर, नेपालमा जुन हिसाबले अनुसन्धानको काम हुनुपर्ने हो त्यो भने पर्याप्त छैन। 

हामीले विश्व स्वास्थ्य संगठनको गाइडलाइन अनुसार अन्य आवश्यक सबै प्रक्रिया पूरा गरेर दाङमा एउटा अनुसन्धानको काम अगाडि बढाएका छौं। उक्त अनुसन्धान नसर्ने रोगसँग सम्बन्धित छ। दाङको घोराही उप–महानगरपालिकाको वडा नम्बर ३, ४, ६ र ७ मा हामीले नसर्ने रोगको अध्ययनका लागि आवश्यक जाँचको काम गरिरहेका छौं। ती क्षेत्रका मानिसहरूको उच्च रक्तचाप, मधुमेह, रगतमा कोलोस्टेरोल, ट्राइग्लिसेराइड्सको जाँचसहित उनीहरूको खानपिन र जीवनशैली सुधारका लागि समेत काम गरिरहेका छौं।

उक्त क्षेत्रमा बसोबास गर्ने ४० देखि ७५ वर्ष उमेर समूहका मानिसहरूका नियमित स्वास्थ्य जाँच गर्नुका साथै उनीहरूको स्वास्थ्य रिपोर्टसमेत अपडेट गरेर राख्नेछौं। हामी उहाँहरूको घर–घरमा पुगेर नै आवश्यक जाँच गर्नेछौं। समस्या देखिएकालाई उपयुक्त उपचारका लागि आवश्यक सहयोग पनि गर्नेछौं। रोग नभएकालाई हरेक २ वर्षमा फलोअप गर्नेछौं। रोग छ भने त उपचारमा सहयोग गर्ने भइहाल्यो।

एक वर्षअघिको तथ्यांक अनुसार उक्त क्षेत्रमा ४० देखि ७५ वर्ष उमेरका ७ हजार ५२ जना रहेका छन्। जसमध्ये ३ हजार ३ सय ४९ जना पुरुष र ३ हजार ७ सय ३ जना महिला छन्। उनीहरु नै हाम्रो अध्ययनका टार्गेट जनसंख्या हो। हाम्रो अध्ययन सुरु भइसकेको छ। हालसम्म हामीले ९ सय जनाको स्क्रिनिङ गरिसकेका छौं। छनोटमा परेका मानिसहरूको एक पटक वा दुई पटक मात्र नभई लामो समयसम्मको स्वास्थ्य अवस्थाको अध्ययन गर्ने लक्ष्य लिएका छौं र त्यही अनुसार काम भइरहेको छ। 

यो अध्ययनले नसर्ने रोगका विषयमा नेपाली परिवेश अनुसारको राम्रो प्रतिवेदन बन्छ भन्ने हामीले आशा गरेका छौं। यो अध्ययनबाट नसर्ने रोगको क्षेत्रमा आवश्यक नीति तथा कार्यक्रम बनाउनसमेत सहयोग पुग्छ भन्ने विश्वास छ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने