सञ्चार माध्यममा हालसालै लाइसेन्स परीक्षामा ६५ प्रतिशत नर्स फेल भएको समाचार आयो। यो समाचार पेसामा संलग्न नर्स, सुभचिन्तक एवं सेवाग्राहीका लागि तितोपन दिने किसिमको छ। नर्सिङ पेसालाई सुदृढ बनाउन बल लगाइरहेकाहरुको त रातको निद्रा नै खोसिदियो यो समाचारले।
काउन्सिलको लाइसेन्स नपाउनु वा अनुत्तीर्ण हुनु भनेको ती नर्सहरु कुनै पनि संघ/संस्थामा नर्स भई सेवा दिन अर्को परीक्षा दिएर पास नभएसम्म अयोग्य ठहरिनु हो।
समाचारमा मापदण्ड नपुगेका कलेजले नर्सिङलाई मागिखाने भाँडो बनाएको र आफ्नो अस्पताल नभएको वा जहाँ प्रयोगात्मक शिक्षाको निम्ति लगिन्छ, त्यहाँ बिरामीको चाप कम भएको समस्यालाई चित्रण गरिएको छ। समाचारले गुणस्तर कायम गर्न सिटिइभिटी, मन्त्रालय र काउन्सिलबीच समन्वय हुनुपर्ने भनाइ राखेको छ। समाचारमा दिइएको जनाकारीमा सहमति जनाउँदै केही अन्य जिम्मेवार पक्षका बारेमा केही उल्लेख गर्न चाहन्छु।
प्रथमतः नर्सिङ काउन्सिलले निरीक्षण गर्दा पूर्वजानकारी दिएर जाने कारणले कलेज र सम्बन्धित अस्पतालले आफ्नो कमजोरी देखिने छिद्रहरु टाल्ने मौका पाउँछन्। त्यसैले छड्के जाँच गरी मापदण्ड नपुगेका शैक्षिक संस्थाहरुलाई पारदर्शी ढंगले कारबाही गर्नुपर्छ।
नर्सिङ पेसालाई अत्यन्त हलुका ढंगले मूल्याङन गरी जो कोही पनि छात्राहरु पनि यो पेसाप्रति आकर्षित भएको देखिन्छ। तर पेसाको जटिलता हेर्दा अभिरुचि राख्दैमा नर्सिङ पढ्न र काम गर्न सकिन्छ भन्ने होइन।
१८/१९ वर्षको उमेरमा जीवनको जटिल एवं संवदनशील क्षणमा काम गर्ने बुद्धि, विवेक, सिप र योग्यताको विकास गर्नु अत्यन्त चुनौती छ। नर्सिङ पेसालाई औषधि बाँड्ने, सुई लगाउने र ड्रेसिङ गर्ने दायरामा मात्र मूल्यांकन गरी पढ्न आउने र आइसकेपछि कठिनाइपूर्ण अध्ययनका कारण तनावग्रस्त भएका विद्यार्थी प्रशस्तै भेट्न सकिन्छ।
नर्स पढाउँदा विदेश पठाउन सजिलो हुने लहुरे वा डाक्टर ज्वाइँ पाइने आशामा मात्रै इच्छाविपरीत छोरीलाई नर्सिङ पढ्न कर लगाउने अभिभावक पनि यो नतिजाको जिम्मेवार हुन्। अभिभावकको करमा वा विदेश जाने धुनमा गरिएको अध्ययन कस्तो गुणस्तरको हुन्छ, हामी अनुमान लगाउन सक्छौं।
अनुत्तीर्ण ६५ प्रतिशतमध्ये सतप्रतिशतले विदेश जाने उद्देश्यले पढेकोले फेल भएको वा विदेश गएर काम गर्नु गलत भएको ठहर गर्न खोजेको होइन। तर जुनसुकै उद्देश्यले पेशामा आए पनि सेवा भाव र दक्षता प्राप्तिको उद्देश्यलाई नर्स पेशामा आवद्धहरुले सपनामा पनि बिर्सन मिल्दैन। होइन भने नर्सिङ सेवामुखी पेशा हो भन्न डराउनुपर्ने अवस्था सिर्जना नहोला भन्न सकिँदैन।
(श्रेष्ठ महाराजगञ्ज नर्सिङ क्याम्पसमा स्नातकोत्तर तह प्रथम वर्षमा अध्ययनरत छिन्।)