काठमाडौं– नेपाल नर्सिङ काउन्सिले रिक्त सदस्य पदका लागि आगामी भदौ २८ गते निर्वाचन गर्ने भएको छ।
काउन्सिलका अध्यक्ष प्राध्यापक गोमादेवी निरौलाले काउन्सिलको इतिहासमा पहिलो पटक नेपाल नर्सिङ एसोसिएसनमार्फत आउने तीन सदस्य पदको निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिइन्।
यसअघि बोर्डका तीन सदस्य एसोसिएसनकै निर्वाचनका समयमा हुने गथ्र्यो। अब भने काउन्सिल आफैं निर्वाचन गरी सदस्य छान्न लागेको हो। निर्वाचनमा नर्सिङ एसोसिएसनमा आवद्ध सदस्यहरुले मतदान गर्न पाउने व्यवस्था छ।
काउन्सिलमा दर्ता भएका नर्सहरुले पनि सदस्य छान्न मतदान गर्न पाउनुपर्र्नेे आवाज उठाएपछि काउन्सिलले यसका लागि कदम चालेको थियो। तर यसका लागि काउन्सिलको ऐन नै परिवर्तन गर्नुपर्ने भएपछि काउन्सिलले पुरानै व्यवस्थाअनुसार आफैं निर्वाचन गर्ने निर्णय गरेको हो।
नेपाल नर्सिङ काउन्सिलमा १५ जनाको बोर्ड सदस्य रहने व्यवस्था छ। तर अहिले आठ सदस्य मात्र छन्। ‘आठ जना मात्र भएकाले एक जना अनुपस्थित हुने वित्तिकै बैठक बस्न कोरम पुग्दैन,’ अध्यक्ष निरौलाले भनिन्।
तीन जना एसोसिएसनबाट छानिएपछि बाँकी ४ जना सदस्य भने मनोनयनबाट आउने व्यवस्था छ। तीन जनाको नाम सिफारिस गरी स्वास्थ्यमन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव गर्नुपर्ने हुन्छ। अर्का एक सदस्य भने स्वास्थ्य सेवा विभागका महानिर्देशकले मनोनयन गर्ने व्यवस्था छ। तर मन्त्रालय र विभागबाट सदस्य सिफारिस नहुँदा सदस्य पद खाली रहँदै आएको छ।