हेपाटाइटिस भन्नाले विभिन्न संक्रमणका कारणले कलेजोमा सुन्निने अवस्थालाई बुझिन्छ। कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ। हेपाटाइटिस ‘ए’ देखी ‘इ’ सम्म गरी जम्मा पाँच प्रकारका हुन्छन्।
तुलनात्मक रुपमा हेपाटाइटिस ‘बि’ र हेपाटाइटिस ‘सि’ बढी घातक हुन्छ।
नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत करिब दुईलाख पचास हजार मानिसहरुमा हेपाटाइटिस ‘बि’ र लगभग एकलाख तीस हजार मानिसमा हेपाटाइटिस ‘सि’ अनुमान गरिएको छ। हेपाटाइटिस ‘बि’ र हेपाटाइटिस ‘सि’ का कारण हरेक बर्ष संसारमा १३ लाख मानिसको मृत्यु हुने गरेको अध्ययनहरुले देखाएका छन्।
यसले के गर्छ?
हेपाटाइटिस ‘बि’ र हेपाटाइटिस ‘सि’ ले कलेजोलाई गम्भिर किसिमको क्षति गराएर कलेजोको क्यान्सर गराउछ र मानिसको अकाल मृत्यु हुन्छ।
कलेजोको क्यान्सर गराउने कारणहरुमध्ये आधाभन्दा बढी हेपाटाइटिस ‘बि’ र हेपाटाइटिस ‘सि’ ले गराउने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन्।
क्यान्सबाट मृत्यु हुने १२ जना मध्ये एकजना कलेजोको क्यान्सरबाट हुनेगर्छ। पछिल्ला दिनहरुमा एचआइभी/एड्स, क्षयरोग र मलेरिया नियन्त्रण तथा उपचारमा लगानी बढाइए पनि हेपाटाइटिसमा ध्यान जान नसकेका कारण यसबाट हुने मृत्युदर बढ्दो क्रममा छ।
यसबारे खतरनाक र आश्चर्यजनक तथ्य के छ भने, हेपाटाइटिस ‘बि’को संक्रमण भएका ९० प्रतिशत मानिसहरुलाई र हेपाटाइटिस ‘सि’को संक्रमण भएका ८० प्रतिशत मानिसहरुलाई यसबारे जानकारी नै नभएको हुनाले उनीहरुले आफन्त र साथीभाईलाई पनि संक्रमित बनाइरहेका छन्।
हेपाटाइटिस ‘बि’ आमाबाट बच्चामा सर्ने उच्च जोखिम रहन्छ। जसमा ८० देखी ९० प्रतिशत बच्चाहरुमा हेपाटाइटिस ‘बि’ दीर्घरुपको संक्रमणको रुपमा देखिन्छ जसमध्ये एक चौथाइ युवा अवस्थामा नै अकाल मृत्युवरण गर्न बाध्य हुन्छन्।
भाइरल हेपाटाइटिस बारे थाहा नभएका विश्वव्यापी तथ्यहरुः
- हेपाटाइटिस ‘बि’ र ‘सि’ बाट हुने मृत्युदर एचआइभी÷एड्स, क्षयरोग र मलेरियाबाट हुने मृत्युदर भन्दा बढी छ।
- कलेजोको क्यान्सरबाट मृत्यु हुने तीन मध्ये दुइको कारण हेपाटाइटिस ‘बि’ र ‘सि’ हुन्।
- संसारभरका ३० करोड भन्दा बढी मानिसहरुलाई आफु संक्रमित भएको थाहा नै छैन।
- एकहजार भन्दा कम मूल्यमा पाइने खोप उपलब्ध भएतापनि संसारका ४८ वटा देशमा अझै बालबालिकालाई यो खोप दिइएको छैन।
- क्यान्सबाट मृत्यु हुने १२ जनामध्ये एकजना कलेजोको क्यान्सरबाट हुनेगर्छ।
- नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत करिव दुइलाख पचासहजार मानिसहरुमा हेपाटाइटिस ‘बि’ र लगभग एकलाख तीस हजार मानिसमा हेपाटाइटिस ‘सि’ रहेको अनुमान गरिएको छ।
हेपाटाइटिस ‘बि’ र ‘सि’ सर्ने कारण तथा बच्ने तरिकाहरु
- संक्रमित आमाबाट यो रोग बच्चामा सजिलै सर्न सक्ने भएकाले गर्भवति भएका बेलामा हेपाटाइटिस ‘बि’ र ‘सि’को परिक्षण गर्ने। (हेपाटाइटिस ‘बि’मा यो सम्भावना बढी हुन्छ।)
- आइभि ड्रग युजर्सहरुमा यो रोग सार्ने जोखिम बढि रहन्छ त्यसैले एक आपसमा सिरिन्ज सेयर गर्नु हुँदैन।
- रक्तसंचारका क्रममा सावधानी अपनाउने र हेपाटाइटिस ‘बि’ र ‘सि’को परिक्षण गरेर मात्र रक्तदान गर्ने।
- मेडिकल उपकरण तथा औजारहरुलाई निर्मलीकरण नगरी उपचार तथा अन्य मेडिकल प्रक्रिय नगन।
- सुरक्षित यौन सम्पर्क राख्दा यो रोग सर्ने सम्भावना बढी हुन्छ। (हेपाटाइटिस ‘बि’मा यो बढी हुन्छ।)
- ट्याटु खोप्दा प्रयोग हुने उपकरण तथा औजारहरुलाई निर्मलिकरण गर्नुपर्छ। हेपाटाइटिस ‘सि’मा यो सम्भावना बढी हुन्छ।
- व्यक्तिगत सरसफाइमा प्रयोग हुने औजार तथा उपकरण जस्तैः टुथ ब्रस, रेजर आदि शेयर गर्दा यो रोग सर्ने सम्भावना बढी हुन्छ।
- एकहजार भन्दा कम मूल्यमा पाईने खोप लगाएर आफुलाई हेपाटाइटिस ‘बि’ जस्तो घातक रोगबाट सुरक्षित गर्न सकिन्छ।
-डा कश्यप पेट तथा कलेजो रोग विशेषज्ञ हुन्