काठमाडौं— नर्सहरुको हकहितका लागि स्थापित नेपाल नर्सिङ संघको चुनाव ३ वर्षभित्र हुनुपर्ने हो। तर, पाँच वर्ष बितिसक्दा पनि संघको चुनाव हुन सकेको छैन।
संघको विधानमा हरेक तीन वर्षमा निर्वाचन मार्फत नयाँ कार्यसमिति चयन हुनुपर्ने व्यवस्था छ। तर, वर्तमान कार्यसमिति चयन भएको पाँच वर्ष पुरा हुँदा पनि अर्को निर्वाचन हुने छाँटकाट देखिएको छैन।
पछिल्लो समय सन २०१४ मा संघको निर्वाचन भएको थियो। वर्तमान कार्यसमितिले निर्वाचन नगरी कार्यकाल लम्ब्याउने खेल गरिरहेको आरोप नर्सहरुले लगाइरहेका छन्।
‘संघको निर्वाचन नगरेर पदमा बसिरहने र विभिन्न स्थानमा चलखेल गर्ने नियत हो,’ संघकी एक सदस्यले भनिन्, ‘होइन भने विधान अनुसार तत्कालै निर्वाचन हुनुपर्छ।’ उनका अनुसार वर्तमान कार्यसमितिका केही पदाधिकारीहरुले नर्सिङ काउन्सिल, सिटिइभिटीदेखि विभिन्न निकायमा चलेखेल गरेर व्यक्तिगत फाइदा लिने काम गरिरहेका छन्।
संघको चुनाव गर्न ढिला गर्नेमा संघकी अध्यक्ष तारा पोखरेलको भूमिका रहेको संघका सदस्यहरु बताउँछन्। ‘चुनाव नहुनुमा उहाँकै हात छ,’ ती सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भनिन्, ‘अध्यक्षका रुपमा उहाँ नर्सिङ काउन्सिलको बोर्डमा समेत हुनुहुन्छ र त्यहाँ उहाँले काउन्सिलका सदस्यलाई समेत थर्काउँदै आफ्ना कुरा लादिरहनु भएको छ। पावरमा बसेर चलखेल गर्न पाएकाले उहाँले चुनावलाई टार्दै आउनु भएको हो।’
संघकी अध्यक्ष तारा पोखरेल भने यो कुरा मान्न तयार छैनन्। उनले अरु कुनै कारण नभई संघको विधान संशोधनका क्रममा समय लागेकाले निर्वाचन गर्न ढिला भएको बताइन्।
उनले संशोधित विधान आइसकेकाले छिट्टै निर्वाचन गर्ने तयारी भएको जानकारी दिइन्।
‘विधान संशोधन भइसकेकाले अब हामी छिट्टै नयाँ निर्वाचनको तयारीमा छौं,’ उनले भनिन्, ‘हामीले आगामी मंसिरभित्र नै चुनाव गर्ने सोच बनाएका छौं। यसका लागि छिट्टै बोर्ड बैठक बसेर चुनावको मिति तय गर्छ।’
देश संघीय संरचनामा गइसकेका कारण विधानलाई पनि समयअनुसार परिवर्तन गर्नुपरेको उनले जानकारी दिइन्। उनका अनुसार नयाँ विधानमा संघीय संरचना अनुसार सातवटै प्रदेशमा संघको कार्यालय स्थापना गर्ने कुरा उल्लेख छ।
संघको निर्वाचन नभएका कारण नेपाल नर्सिङ काउन्सिलले तीन जना बोर्ड सदस्यका लागि पहिलो पटक आफैँ निर्वाचन गर्न लागेको छ। यसअघि संघको चुनावकै समयमा काउन्सिलका तीन जना सदस्यका लागि पनि मतदान हुने गरेको थियो।
काउन्सिलले भदौ २८ गते तीन जना सदस्यका लागि निर्वाचन गर्न लागेको हो।
तर, संघले यसको विरोध गरेको छ। विधान संशोधन नगरी चुनाव गर्न लागेको भन्दै संघले विरोध गरेको पोखरेलले दाबी गरिन्।
यो पनि :