आमाको दूधलाई जीवनको धारा भन्ने गरिन्छ। आमाको दूधमा पोषण प्रयाप्तताकै कारण मात्रै नभएर बच्चाको रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउनका लागि र आमा तथा बच्चा दुवैको स्वास्थ्य सकारात्मक प्रभाव पार्ने हुँदा पनि आमाको दूधलाई जीवनकै धारा भन्ने गरिन्छ।
तर, विडम्वना शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध खान नपाएकै कारण धेरै शिशु रोगको उच्च जोखिममा पर्ने गरेका छन्। पछिल्लो समयमा व्यस्त जिवनशैलीका कारण पनि धेरै शिशु तथा बालबालिका स्तनपानबाट वञ्चित हुनुपरेको छ।
स्तनपानले आमा र बच्चालाई के फाइदा पुग्छ?
• स्तनपानले सुत्केरीपछि रगत जाने प्रक्रियालाई रोक्नुको साथै बच्चालाई विभिन्न संक्रमणको जोखिमबाट बचाउँछ।
• स्तनपानले बच्चाको हड्डी कमजोर हुनबाट जोगाउँछ।
• बच्चालाई आमाको दूध जहिल्यै पनि पोषिलो, सफा र सही तापक्रममा रहन्छ।
• स्तनपानले बच्चामा रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो बनाउनमा सहयोग पुर्याउँछ।
• आमाको छालामा निखार आउँछ।
• महिनावारी केही समयका लागि रोकिन्छ, तुरुन्त गर्भ रहँदैन।
• डिप्रसेन हुनबाट जोगाउँछ।
• भविष्यमा स्तन तथा पाठेघरको क्यान्सर हुने सम्भावना कम रहन्छ।
• टाइप-२ मधुमेह, मुटुको रोगको जोखिम घटाउँछ।
• स्तनपानले आमा र बच्चा बीचको भावनात्मक सम्बन्ध प्रगाढ तुल्याउँछ।
• दूधमा भएका विभिन्न एन्टिबडी, इम्युनोग्लोबिनले संक्रमण र एलर्जी हुने सम्भावनालाई कम गर्छ।
• विश्व स्वास्थ्य संगठनका अनुुसार बच्चालाई ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनु पर्छ। आमाको दूधमा भिटामिन, फ्याट, कार्बोहाइड्रेट, खनिज प्रसस्त मात्रामा हुन्छ। आमाको दूधमा कम्तीमा पनि ४ सय पोषक तत्व हुने गर्छ। आमाको दूधमा हुने प्रोटिन सजिलैसँग पच्ने हुन्छ। यसले बच्चाको वृद्धिविकास तथा पाचन प्रणालीमा सहयोग पुर्याउँछ।
स्तनपान कति समयमा गराउने?
हरेक दुई वा तीन घण्टामा बच्चालाई स्तनपान गराउनु पर्छ। स्तनपान गराउँदा १० देखि १५ मिनेट बच्चालाई सजिलो गराएर खुवाउन पर्छ।
पछिल्लो समय व्यस्त जीवनशैलीका कारण महिलाले बाध्यतावश 'बोतल फिडिङ' गराइरहेका छन्। स्तनपानमैत्री कार्यालय नहुनाले पनि अधिकांश महिलाले बोतल फिडिङ गराउन बाध्य छन्।
कतिपय स्थानमा अझै पनि धार्मिक तथा परम्परागत अन्धविश्वासका कारण बच्चा जन्मिएपछि मह, घिउ, खुदोजस्ता पदार्थ खुवाउने चलन रहेको छ। डा श्रेष्ठका अनुसार बच्चा जन्मिएको ६ महिनासम्म आमाको दूध नै प्रयाप्त रहन्छ।
आमाको दूधमा विभिन्न तत्व हुन्छन्। आमाको दूधमा हुने प्रो-बायोटिकले बच्चाको पचान प्रणाली बलियो बनाउँछ। जसले बच्चाको शरीरको तापक्रमलाई पनि व्यवस्थित गर्छ।
(स्तनपानको महत्वका विषयमा ओम अस्पतालका बालरोग विशेषज्ञ डाक्टर सुजित कुमार क्षेष्ठसँग गरिएको कुराकानीमा आधारित)