काठमाडौं– नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा लामो समयदेखि रजिस्ट्रार नहुँदा काम प्रभावित भएको गुनासो बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले चार महिनाअघि परिषद्को रजिस्ट्रार नियुक्त गर्न नाम सिफारिस गरी मन्त्रिपरिषद्मा पठाए पनि निर्णय हुन सकेको छैन।
परिषद्मा एक वर्षअघि रजिस्ट्रार काशीनाथ रिमालको समय सकिएपछि भने परिषद् रजिस्ट्रारविहीन बनेको हो।
यो एक वर्षको समयमा मन्त्रालयले दुई जनालाई निमित्त रजिस्ट्रार बनाएर पठाएको पनि थियो। तर उनीहरुको निरन्तरता हुन सकेन।
पछिल्लो २१ दिनयता भने परिषद् निमित्त रजिस्ट्रार समेत नहुँदा समस्यामा परेको अध्यक्ष रामप्रसाद भण्डारीले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै शम्भु काफ्लेलाई निमित्त रजिस्ट्रारको रुपमा काम गर्न पठाएको थियो। तर काफ्लले दुई महिना काम गरेपछि काम गर्न नसक्ने भन्दै छाडेका थिए।
त्यसपछि राज्यमन्त्रीस्तरीय निर्णय गर्दै तीन महिनाअघि मन्त्रलायकै बसन्त अधिकारीलाई निमित्त रजिस्ट्रारका रुपमा जिम्मेवारी दिई परिषद् पठाइएको थियो। कर्मचारी समयोजनका क्रममा अधिकारी प्रदेश ३ मा समायोजन भएपछि भने परिषद् रजिस्ट्रारविहीन भएको हो।
परिषद्को रजिस्ट्रार स्वास्थ्य मन्त्रालयको सिफारिसमा नेपाल सरकारले गर्नुपर्ने व्यवस्था छ। मन्त्रालयले नाम सिफारिस गरेको नाम पठाएको चार महिना बढी समय हुन लाग्दा पनि कुनै निर्णय हुन सकेको छैन।
रजिस्ट्रार नहुँदा परिषद्को काम रोकिएको जस्तै भएको छ। परिषद्मा दर्ता भई नवीकरण गर्नुपर्ने सदस्यकै संख्या एक हजार बढी पुगेको अध्यक्ष भण्डारीले बताए।
उनले भने, ‘निमित्त रजिस्ट्रार पनि गएपछि धेरै काम प्रभावित भएको छ, पाँच सय बढी सर्टिफिकेट इस्यु गर्न सकिएको छैन। विदेश पढ्न जाने विद्यार्थीहरुलाई स्वीकृति दिने काममा समेत अप्ठेरो परेको छ।’
यद्यपि विदेश पढ्न जाने विद्यार्थीको हकमा बोर्डले समिति गठन गरी काम गरिरहेको अध्यक्ष भण्डारीले बताए।
परिषदले् १५ दिनअघि रजिस्ट्रार नभएको भन्दै मन्त्रालयमा पत्र पठाइसकेको छ। अर्को व्यवस्था छिट्टै गर्ने आश्वासन दिए पनि हालसम्म कुनै व्यवस्था नभएको परिषद्का एक सदस्यले गुनासो गरे।
परिषद्मा हालसम्म स्वास्थ्य सम्बन्धी विभिन्न ३२ विधाका एक लाख १६ हजार स्वास्थ्यकर्मी दर्ता छन्।
हरेक तीन वर्षमा हुनुपर्ने परिषद्कोे १३ सदस्यीय बोर्ड पनि पूर्ण छैन। बोर्डमा निर्वाचनमार्फत निर्वाचन भई आउने ४ जना र एक वर्षदेखि नेपाल स्वास्थ्य प्राविधिक संघको सिफारिसमा नेपाल सरकारले पठाउने ३ जना सदस्यको पद खाली छ। १३ वर्षदेखि परिषद्को निर्वाचन हुन सकेको छैन।
परिषद्मा दर्ता भएका ग श्रेणीका स्वास्थ्यकर्मीले निर्वाचनमा उठ्न नपाउने तर मतदान मात्र गर्न पाउने परिषद्को व्यवस्थाको विरोध गरेकाले १३ वर्ष वर्षदेखि निर्वाचन हुन नसकेको हो।
परिषद्मा दर्ता भएकामध्ये ७६ हजार स्वास्थ्यकर्मी ग श्रेणीमा दर्ता छन्। ग श्रेणीमा टिएसएलसीपछि स्वास्थ्यका विषय पढेका र सिएमएहरु पर्छन्।
अहिले परिषद्मा ६ जना मात्र सदस्य छन्। अध्यक्ष भण्डारी भन्छन्, ‘पूर्ण बोर्ड नभएकाले हामीले ठूला नीतिगत निर्णय गर्न सकेका छैनौँ।’
अहिले नियमित कामहरु दर्ता, नवीकरण, अनुगमन, विदेश जाने विद्यार्थीहरुको स्वीकृत गर्ने लगायतका काम मात्र भइरहेको परिषद्ले जनाएको छ।