काठमाडौं– नेपाल नर्सिङ एसोसिएसन (नान) को निर्वाचन मिति तय भएको छ। हरेक तीन वर्षमा हुनुपर्ने निर्वाचन यस पटक पाँच वर्षपछि हुन लागको हो।
संघको बैठकले आगामी पुस ९ गते निर्वाचन गर्ने मिति तय गरेको हो। नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले १५ दिनअघि बसेको बोर्डको बैठकले देशभर एकै दिन निर्वाचन गर्ने निर्णय गरेको बताइन्।
उनले भनिन्, ‘सबैलाई काठमाडौं बोलाएर गर्न अलि अप्ठ्यारो छ, त्यसैले देशभर मतदान केन्द्र तोकी मतदान गर्ने व्यवस्था मिलाउछौं। निर्वाचनको बाँकी निर्णय आगामी बोर्ड बैठकले तय गर्नेछ।’
सम्पूर्ण नर्सको छाता संगठनको रुपमा रहेको संघले नर्सका समस्या, पेसागत अप्ठाराहरुलाई उठाउन नसकेको र राजनीतिक दबाबमा पर्ने गरेको आरोप लाग्दैआएको छ।
लामो समयसम्म नानको निर्वाचन हुन नसक्दा विभिन्न आलोचना समेत हुन थालेको थियो। नान नेतृत्वले राजनीतिक दबाबमा कतिपय नर्सका एजेन्डालाई उठाउन नसक्दा युवा नर्स असन्तुष्ट बन्दै आएको बताइन्छ।
नेपाल नर्सिङ काउन्सिलमा हालसम्म ८९ हजार ७ सय ८७ नर्स दर्ता भइसकेका छन्। तर यो तथ्यांक हेर्दा नानमा हालसम्म जम्मा ११ हजार ४१ नर्सले मात्र सदस्यता लिएका छन्।
यो तथ्यले अहिले पनि नानले युवा नर्सहरुलाई संस्थाप्रति विश्वस्त र आकर्षित गर्न नसकेको देखिन्छ। भएका सदस्य पनि नानले अपेक्षाअनुसार काम नगरेको गुनासो गर्ने गर्छन्।
यसको एउटा उदाहरण शनिबार भएको काउन्सिलको निर्वाचनलाई लिन सकिन्छ। काउन्सिलको रिक्त बोर्ड सदस्यका लागि भएको निर्वाचनमा करिब १२ हजार सदस्यमध्ये जम्मा २ हजार पाँच सय १६ मत मात्र खस्यो। जुन २३ प्रतिशत मात्र हो।
यसअघि काउन्सिलको ३ सदस्यको चुनाव नानकै निर्वाचनको समयमा हुने गथ्र्यो। तर नानको लामो समयसम्म निर्वाचन हुन नसकेपछि काउन्सिलले पहिलो पटक सदस्यका लागि निर्वाचन घोषणा गरेको थियो।
जुन शनिबार सम्पन्न भइसकेको छ। सो निर्वाचनमा जीता बराल, कृष्णकुमारी पौडेल र डा तारा शाह निर्वाचित भएका छन्।