काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यति बेला निकै चलहपहल छ। पूर्वपश्चिमका स्वास्थ्यका कर्मचारी मन्त्रालयमा आएका कारण मन्त्रालयमा भिड बढेको छ।
देशका विभिन्न जिल्लाबाट मन्त्रालय आइपुगेका स्वास्थ्यकर्मी लाइन लागेर समयोजनको पत्रको फोटो खिचाउन आतुर छन्।
मन्त्रालयले सबै पद, तह र समुहका समयोजनको पत्र तयार गरी हुलाकबाट पठाइसकेको जनाएको छ।
तर, हुलाकको पत्र कहिले पुग्ने र कहिले समयोजन भएको स्थानमा हाजिर हुने भन्ने टुंगो नभएपछि कर्मचारी काठमाडौं आइपुगेका हुन्।
सुनसरीबाट समायोजनको पत्रको फोटो खिच्न काठमाडौं आइपुगेकी एक अनमीले भनिन्,‘यहाँ नआइ सुखै भएन। एकै दरबन्दीमा धेरै जनालाई पठाएको छ। जसले अगाडि पत्र लिएर हाजिर भयो उसकै हुन्छ नत्र त पाइदैन।’
आफुभन्दा पहिले अर्को साथी आफ्नो ठाउँमा हाजिर हुन्छ भन्ने हतारले यतिबेला मन्त्रालयमा जिल्लाका कर्मचारी थुप्रिएका छन्।
मन्त्रालयको दोस्रो तलमा रहेको पहिलेको प्रमुख विशेषज्ञ बस्ने कोठामा देशभरका समायोजन भएका कर्मचारीको पत्र फिजारेर मन्त्रालयका केही कर्मचारी बसेका छन्।
एकएक जना व्यक्तिलाई भित्र बोलाएर क्रम संख्या हेर्दै फोटो खिचाउँदै पठाउँदै गरिएको छ।
त्यो कोठाको बाहिर उभिएर हेर्दा लाग्छ, भित्र कुनै अमूल्य बस्तुको वितरण भइरहेको छ। ‘केही नबुझेर कसैले सोधिहाले भने मन्त्रालयका कर्मचारीले निजी सम्पत्ति दिनु पर्ला झै झर्कन्छन्’ एक स्वास्थ्यकर्मीले दुखेसो पोखे।
डोटीबाट आफ्नी श्रीमतिको समायोजन पत्रको फोटो खिच्न दसैं नसकिदैँ काठमाडौं आइपुगेका एक व्यक्तिले भने, ‘उनी सानो छोरा भएर आउन सकिनन्, यहाँ त यस्तो रमिता छ। हिजो पनि लाइन लाग्दालाग्दा थाकेर फर्र्किंए। चिनजानेका भित्र पसिहाल्छन्। हामीजस्तालाई निकै दुःख छ।’
‘सबै समायोजनको पत्र स्क्यान गरी वेवसाइडमा राखिदिए त यत्रो दुख पाइदैँन्थ्यो। तर यो मन्त्रालयलाई सधै भिडभाड गरि रमिता गर्न मन पर्ने रहेछ,’ अर्का कर्मचारी हैरान मान्दै थिए।
स्वास्थ्य मन्त्रालयले समायोजनसम्बन्धी गुनासो दर्ता गरिरहे पनि त्यसको सुनुवाई नभएको कर्मचारीको अर्को दुखेसो छ।