काठमाडौं- नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाले ‘रेफरल फी’ का आधारमा बिरामी यता र उता किन्नेबेच्ने कारण स्वास्थ्य सेवाको गुणस्तर कमसल र महंगो भएको बताएका छन्।
उनले भने,‘सुन्दा तितो लाग्छ तर भन्नुपर्ने मेरो बाध्यता हो। रेफरल फी को आधारमा बिरामी यता र उता किन्ने बेच्ने गर्ने कारण महंगो भएको हो। यसलाई लाज नमानि सबैले मम भन्दै कुरा उठाऔँ। यसलाई बन्द गर्न सबैले सहयोग गरौँ।’
डा कोइरालाले नेपाल मेडिकल काउन्सिलको ऐन संशोधन गर्नुपर्ने बताएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले विहिबार आयोजना गरेको छलफलमा अध्यक्ष कोइरालाले डाक्टरलाई मात्र अंकुश लगाउने तर अन्य पक्ष भद्रगोल बनाउन नपाइने बताए।
उनले भने‘ऐनमा अप्ठेरो छ। हालको ऐनले हामीले चाहेको नतीजा आउन सक्दैन। सिस्टमलाई अंकुश लगाउने, करेक्सन गर्ने व्यवस्था नभै केही हुँदैन तर त्यसका लागि संयुक्त कमिटि बनाई औपचारिक रुपमा काम गरौँ। सहयोगका लागि हामी तयार छाँै। यति गरे स्वास्थ्य सेवाको स्तर माथि उठाउन सकिन्छ।’
सरकारले कस्तो खालको सरकारी प्राइभेट पार्टनरसिप मोडेल चाहेको हो भन्नेमा स्पष्ट हुन आवश्यक भएको समेत बताए। त्यसका लागि प्राइभेट सेक्टरका व्यक्तिहरुसँगको बृहत छलफल आवश्यक भएको उनले बताए। सरकारको पुरानो भएपनि विषय भएपनि अहिले अहिले अभ्यास भइरहेको पीपीको मोडलले अपेक्षाकृत उपलब्धी हासिल नहुने उनको दावी छ।
स्वास्थ्यमन्त्री ढकालले क्षेत्रसम्बद्ध उपकुलपति, चिकित्सा शिक्षा आयोगका प्रतिनिधि, मेडिकल काउन्सिल, प्राध्यापक, वरिष्ठ चिकित्सक जनस्वास्थ्यविद् निनि क्षेत्रका व्यक्तिलगायतसँग स्वास्थ्य क्षेत्र, स्वास्थ्य सेवा सुधारका लागि गर्न सकिने कार्यबारे सुझाव लिन छलफल आयोजना गरेका थिए।
मन्त्री ढकालले मन्त्रालयमा विद्यमान बेतिथि अन्त्य गर्न सबै विज्ञसँग छलफल गरी एक्सन प्लान बनाइ अघि बढ्ने उनको भनाई छ। उपस्थित विज्ञहरुले स्वास्थ्य मन्त्रीहरुले समय सुझाव माग्ने, छलफल गर्ने तर कार्यान्वयन कहिल्यै नगर्ने पुरानो परिपाटीलाई निरन्तरता नदिन सुझाव दिए।
को को विज्ञले के सुझाव दिए ? विज्ञहरुले दिएका सुझाव क्रमशः स्वास्थ्यखबरको आगामी अंकमा प्रकाशन गरिनेछ ।