नर्सिङ

बिरामीको मलिन अनुहारमा उज्यालो भर्न सक्रिय रोशनी

रामेछाप घर भएका एक व्यक्तिले अत्यधिक पेट दुखेपछि श्रीमतीलाई उपचारका लागि अस्पतालको इमर्जेन्र्सी वार्डमा पुर्‍याए। जाँच गर्दा उनको श्रीमतीको पाठेघरमा संक्रमण फैलिसकेको थियो। चिकित्सकले श्रीमतीको पाठेघर तुरुन्त फाल्नुपर्ने बताए। यदि ढिला भए पाठेघरमा संक्रमण अझ फैलिने र ज्यानमा जोखिम बढ्ने चिकित्सकको सुझाव थियो। 

चिकित्सकको जानकारीपछि ती व्यक्तिले श्रीमतीलाई लगत्तै अस्पताल भर्ना गरे। संक्रमित पाठेघर शल्यक्रिया गरेर फालियो। एक–दुई दिनसम्म श्रीमतीको स्याहार गरेका श्रीमान् तेस्रो दिनदेखि भने अस्पतालमा देखिएनन्। 

अस्पतालको शय्यामा स्वास्थ्य लाभ गरिररहेकी श्रीमती श्रीमान् नआएपछि आत्तिनु स्वभाविक थियो। श्रीमान् नदेखेपछि उनी निकै आत्तिएर रुन कराउन थालेपछि स्वास्थ्यकर्मीहरुले ती महिलालाई निकै सम्झाए।  

दिनहरु बित्दै गए। अस्पतालमा उनको छटपटीमा कुनै कमी भने आएन। विस्तारै श्रीमान् छोडेर गएको रहस्य खुल्यो। बेपत्ता भएका श्रीमान्ले त घरमा दुई छोरी भएकै कारण पो उनलाई अस्पतालमै छोडेर गएका रहेछन्। किनकी ती महिला अब छोरा जन्माउन नसक्ने भइसकेकी थिइन्।

अप्रेसन गरिएकी ती महिलाको पीडा त्यतिबेला खुल्यो जतिबेला उनले नर्ससँग आफ्नो कुरा खोलिन्।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कार्यरत सिनियर नर्स रोशनी शिलाकार २५ वर्षअघिको त्यो घटना सुनाउँदा निकै भावुक भइन्। 

केही सातापछि अस्पताल रहेकी ती महिलालाई एक संस्थाले लिएर गएको नर्स शिलाकारले बताइन्।

त्यतिबेला शिलाकार भर्खर अनमी भएर अस्पतालमा काम सुरु गरेकी थिइन्। त्यो त उनले देखेको प्रतिनिधि घटना मात्रै हो। अस्पतालमा काम गर्दाका ३५ वषमा उनले यस्ता थुप्रै घटना देखिन्। श्रीमान्ले अस्पतालमै श्रीमती छोडेर जाँदाको बिचल्ली उनका आँखाले धेरै देखे। त्यसले उनलाई पिरोल्यो पनि। तर, के नै गर्न सक्थिन् र? एक नर्सका रुपमा सकेको सहयोग गर्नबाट भने उनी कहिल्यै पछाडि सरिनन्। 

श्रीमान्ले माया गर्दै अस्पताल ल्याउने र कुनै रोग लागेको थाहा पाएपछि श्रीमती छोडेर भाग्ने श्रीमान् देख्दा रोशनीलाई अचम्म मात्र होइन दुःख पनि लाग्थ्यो। 

‘पहिले त महिलाको कुनै इज्जत नै हुँदैन थियो। महिला कुनै सामान जस्तो प्रयोग गर्ने र पुरानो भए फाल्न मिल्छ भन्ने मानसिकता व्याप्त थियो, पुरुषमा। श्रीमानले श्रीमतीलाई कुनै रोग लागेको थाह पाए अस्पतालमा नै छोडेर भाग्थे,’ उनले सुनाइन्, ‘त्यो बेला अस्पतालमा शल्यक्रिया गर्दा बेहोस पार्ने चिकित्सक हुँदैनथे। अन्दाजको भरमा बेहोस बनाइन्थ्यो। बिरामी समयमै होसमा आउन पनि सक्थे नआउन पनि सक्थे। त्यस्तो देख्दा निकै दुःख लाग्थ्यो।’

त्यस्ता दृश्य देख्दै ३५ वर्ष बिताएकी रोशनीलाई प्रविधीको विकासपछि नयाँ जीवन पाएका महिलालाई देख्दा आनन्द महसुस हुन्छ। 

बच्चा जन्माउँदा महिलाको मृत्यु भयो वा छोरी जन्मियो भने परिवारले लास छोडेर भाग्ने गरेको दृश्य पनि उनका आँखाले धेरै देखे। पछिल्लो समय भने शिक्षा बढेसँगै यस्ता घटनामा कमी आएको उनको भनाइ छ। 

उनी अस्पतालको इमजेन्र्सीमा काम गर्दा घरमा नै गोबर, भान्टा, झिर प्रयोग गरेर गर्भपतन गराउन खोज्दा पाठेघरमा संक्रमण भई थुप्रै महिला अन्तिम अवस्थामा इमजेन्र्सीमा आउँथे। यही कारणले दिनमा चार पाँच ज्यान गुमाएको देखेकी छन्। यस्तो देख्दा रोशनीलाई किन महिलाले मात्र अकालमै ज्यान गुमाउनु पर्छ होला भनेर रिस उठ्थ्यो। 

आमा बिरामी पर्दा नर्स बन्ने प्रतिज्ञा
रोशनी सानी हुँदा उनकी आमा बिरामी परेर अस्पताल लगिराख्नु पथ्र्यो। उनी ६ कक्षामा पढ्दा आमालाई लामो समय अस्पतामा राख्नुप¥यो। रोशनी जेठी छोरी भएकोले आमा बिरामी पर्दा ५ भाइ–बहिनीको हेरचार गर्ने जिम्मेवारी आइलाग्यो। 

आमा बिरामी भएपछि भाइलाई दूध खुवाउन लैजाने उनको दिनचर्या जस्तै भएको थियो। ६ महिनाको भाइलाई अस्पताल लिएर जान्थिन्। नर्सले अहिले जान मिल्दैन भनेर उनलाई भित्र पस्न दिँदैनथे। 

भोक लागेर भाइ चिच्याई–चिच्याई रुन्थ्यो। भाइ रोएको देखेर उनी पनि भाइ सँगसँगै रुन्थिन्। आफ्नो भाइ रुँदा पनि नर्सले भित्र जान नदिँदा उनलाई निकै नरमाइलो लाग्थ्यो। र मनमनै सोच्ने गर्थिन्, ‘म पनि ठूली भएर नर्स बन्छु, म नर्स बनेपछि मेरो भाइ जस्तै अन्य बच्चा यसरी रुन पर्दैन। जस्तो स्थिति भए पनि बच्चालाई आमाको दूध खुवाउन पठाउँछु।’  

त्यही बेलादेखि नर्स बन्ने इच्छा जागेको उनलाई कक्षा आठमा स्वास्थ्य शिक्षा विषय सरले पढाउँदा उनी भने मनमनै स्वास्थ्य विषय सजिलै हुँदो रहेछ एसएलसीपछि नर्स पढ्न सक्छु भन्ने सोच्थिन्। 

आमा बिरामी भएकोले उनी सानैदेखि हजुरबुबा, हजुरआमा, ठूलो आमाकोमा बस्थिन्। हजुरबुबा, हजुरआमा दमका बिरामी भएकोले तारा तुलाधर नामकी नर्स सुई लगाउन घरमा आउने गर्थिन्। उनलाई हेरेर उनी आफू त्यस्तै नर्स भएको कल्पना गर्थिन्।

बेलाबेला रोशनीले म पनि एसएलसीपछि हजुर जस्तै नर्स बन्ने विषय पढ्छु भनेर उनी सुनाउने गर्थिन्। 

हजुरबुबा, हजुरआमाले उनलाई छोरीले धेरै पढेर आफ्नो खुट्टामा उभिनुपर्छ भनिरहन्थे। त्यसैले रातिसम्म टुकी बत्ती राखेर पढ्थिन्।  

असनमा जन्मिएकी उनीले २०३८ सालमा असनको शान्ति शिक्षा मन्दिरबाट एसएलसी दिइन्।

एसएलसीपछि गाउँलेले ‘छोरीलाई धेरै पढाउन हुँदैन, अब बिहे गर्नु पर्छ’ भन्थे तर उनलाई नर्स बन्ने मन थियो। एसएसीको रिजल्ट आउनासाथ उनकी फुपुले भरतपुर नर्सिङ कलेजमा अनमीको भर्ना खुलेको खबर सुनाइन्। बुबा उनलाई काठमाडौं बाहिर पठाउने पक्षमा थिएनन्। तर, उनका हजुबुबा र हजुरआमाले उनलाई पढ्न जान सघाए। उनले फुपुको साथमा गएर अनमीमा भर्ना भइन्। 

काठमाडौंबाट कहिले बाहिर नगएकी उनी भरतपुर जाँदा बसबाट भीर देखिन्थ्यो। उनी भीर नदेखिनेतर्फ फर्किन्थिन्।

बिरामी नजिक जान डर 
स्कुलदेखि अंग्रेजी विषय निकै गाह्रो लाग्थ्यो रोशनीलाई। उनले भनिन्, ‘अनमीमा अंग्रेजी माध्यमबाट पढाइ हुने, मेडिकल भाषा पनि नबुझिने लाग्यो।’

प्रयोगात्मक अभ्यासका क्रममा बिरामीसँग नजिक भएर काम गर्नु पर्ने हुन्थ्यो तर उनी भने बिरामीको नजिक जान डराउँथिन्। ‘साथीहरु बिरामीको हिस्ट्री लिने र बिरामीको नजिक जाने गर्थे। म भने पढाउने शिक्षकले गाली गरे पनि बरु रोएर ढोकामा उभिन्थें तर  बिरामीको नजिक जान डराउँथें,’ उनले भने।

साथीहरुले भनेर सम्झाएपछि मात्र उनी बिरामीसँग घुलमिल हुन थालेकी हुन्।

मेट्रोनको स्वर सुन्दा सात्तो
अनमीको पढाइ सकेपछि उनी २०४१ सालमा काम गर्न भनेर थापाथलिस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा अन्तर्वार्ता दिन गइन्।

अन्तर्वार्ता दिन जाँदा मेट्रोनको बोली सुनेर उनको सात्तो गयो। उनले विगत सम्झिँदै भनिन्,  ‘हाम्रो पालामा पढेपछि जागिर पाइहाल्थ्यो। अन्तर्वार्ता दिन गयौँ म र मेरा साथीहरु। मेट्रोन म्यामले यस्तो गर्नुपर्छ गर्न सक्छौ कि सक्दैनौ। नाइट ड्युटी गर्नुपर्छ भनेर सोध्दै हुनुहुन्थ्यो। उहाँको कडा स्वर सुनेर मेरो सात्तो गयो। यस्तो कडा मान्छेसँग काम गर्न सक्दिनँ होला भनेर काममा जान मन लागेन।’

केही समय एक निःशुल्क स्वास्थ्य शिविरमा भोलेन्टिएरको रुपमा काम गरिन् उनले। साथीहरुले दसंैको मौकामा अस्पतालमा मेट्रोन नभएको भन्दै काम गर्न बोलाए उनलाई। 

मेट्रोन नभएको मौका पारेर उनी परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा काम गर्न  सुरु गरिन्। दसैंको बीचमै मेट्रोन अस्पताल आइन्। अस्पतालमा रोशनीलाई देखेर मेट्रोनले तिमीलाई मैले काममा राखेको छैन, कसको माध्यमबाट आयौँ भनेर गाली गरिन्।

‘बोली सुन्दै डर लाग्ने मान्छेले गाली गर्दा मेरा त हातखुट्टा काँप्न थाले, भर्खरै काम छोडेर जाउँ जस्तै भयो,’ उनले त्यो क्षण सम्झिइन्। 

साथीहरुले काम गर्दागदै बीचमा काम छोडेर जान मिल्दैन भनेपछि काम छोड्न सकिनन्। 

तर, उनलाई कहिल्यै मेट्रोनको अघि जानु नपरे पनि हुन्थ्यो भन्ने लागिरहन्थ्यो। कहिलेकाहीँ मेट्रोन आफूतिर आउँदै गरेको देखिन् भने रोशनी फर्किएर अर्को बाटो लाग्थिन्। मेट्रोनको  अगाडि पर्न नपरोस् भनेर बेलुका र रातिको ड्युटी रोज्थिन् उनी। बिहान भएपछि अन्य नर्सिङ होममा डबल ड्युटी गर्न जान्थिन्। 

त्यहाँ काम गर्दा उनको अगाडि चुनौती नै चुनौती थिए। मेट्रोन कडा, केही काम बिग्रियो भने बोलाएर सात्तो लिन्थिन्। ३०, ३५ बेडका बिरामीलाई हेर्ने जिम्मा उनको थियो। त्यो बेलामा बिरामीका कुरुवा बस्दैन थिए। बिरामीको हेरचारदेखि स्याहारसुसार आफैंले गर्नुपथ्र्यो। त्यसमाथि सात नाइट ड्युटी गर्नुपर्ने बाध्यता थियो। सुत्दा पनि बिरामीकै सपना देख्दिन्। ड्युटी जाने बेला भयो कि बिरामी कसरी हेर्ने होला भन्ने चिन्ता लाग्थ्यो। पछि–पछि काम राम्रो गर्दै गएपछि मेट्रोनले पनि माया गर्न थालिन्। 

रोशनी शिलाकार २०४१ सालदेखि परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा अनमीबाट प्रवेश गरेकी उनी २०५० सालमा वीर अस्पतालको नर्सिङ कलेजबाट पिसिएल पास गरेकी हुन्। उनी अहिले अस्पतालकी सिनियर स्टाफ नर्सका रुपमा कार्यरत छिन्। स्त्री रोग अस्पतालको सबै वार्डमा काम गरेकी उनले महिलाका पीडालाई नजिकबाट नियाल्ने मौका पाएकी छिन्।

अहिले अस्पतालमा नयाँ वार्ड खोल्यो भने त्यो वार्डमा पठाउने पहिलो रोजाइमा उनी नै पर्ने गर्छिन्। उनलाई नयाँ वार्डमा काम गर्न रमाइलो पनि लाग्छ। 

रोशनीले अस्पतालको हरेक वार्डमा काम गरिसकेकी छिन्। सबै वार्ड उत्तिकै चुनौतीपूर्ण लाग्छन् उनलाई। बर्थिङ र लेबर रुममा काम गर्दा धेरै कुरा सिकिने अनुभव छ उनको  त्यसैले जीवनमा एक पटक बर्थिङ र लेबर रुममा काम गर्न सबैलाई आग्रह गर्छिन्। 

प्रसव पीडा देख्न नसक्दा  
विहे अगाडि बर्थिङ वार्डमा काम गर्दा उनलाई लाग्थ्यो– महिलाहरु किन यसरी रुन्छन् होला?’ जब उनी आमा बनिन् अनि थाहा बच्चा जन्माउँदाको प्रसव कति पीडादायी हुन्छ भन्ने? 

‘आमा बन्न कहाँ सजिलो हुन्छ र। आमा बन्दा अब त यत्ति नै हो जीवन जस्तो अनुभूति हुँदोरहेछ,’ उनी भन्छिन्। उनले ८, ९ वर्ष जति बर्थिङ वार्डमा काम गरिन्, त्यहाँ काम गर्दा उनीहरुको पीडा देख्न नसकेकोले कहिले पनि आमाहरुको अनुुहारमा हेर्दिनँ थिइन्।

गर्भपतन गर्न नमान्दा धम्की
रोशनी गर्भपतन सेवा दिने वार्डमा पनि काम गरिन्। रोशनी त्यहाँ काम गर्दा लिंग छुट्याएर गर्भपतन गराउन थुपै्र मानिस आउँथे। पहिले सहजै भिडियो एक्सरेको सेवा जहाँ पायो त्यहीँ नहुने, हुँदा ढिला गरी गर्भपतन गराउन आउने गर्थे। 

उनका अनुसार अन्दाजी १६ देखि २० हप्ताकी गर्भवती आउँथे। त्यही काम गर्दाको एउटा घटना अहिले पनि याद छ, उनी र उनका साथीहरु वार्डमा बसेका थिए। गर्भपर्तन गराउने अन्दाजी २० हप्ताको गर्भ लिएर गर्भपतन गर्नुप¥यो भन्दै एउटा दम्पति आयो। भर्खर सरकारले गर्भपतन गराउने कानुनी मान्यता दिएको थियो। त्यसैले बच्चा बनिसकेको गर्भपतन गर्ने सेवा वा उपकरण अस्पतालमा उपलब्ध थिएन।

रोशनी र उनका साथीले २० हप्ताको गर्भपतन गर्न मिल्दैन भने। तर त्यो दम्पति मान्नेवाला थिएन। उनीहरुले अनेक बहाना बनाउन थाले। कहिले धेरै छोरी भएकोले पाल्न नसक्ने बताउँथे, कहिले के? केही सिप नलागेपछि पैसाको लोभ देखाउन थाले। सुरुमा रोशनीलाई  पैसा देखाएर फसाउन लागे भनेर डर भयो। पछि गर्न मिल्दैन भनेपछि विभिन्न डर देखाएर धम्काउन लागे र उनीहरुलाई अस्पतालबाट निकाल्न रोशनी गार्डको सहारा लिनुपरेको थियो। 

उनीहरुजस्तै छोरी भन्ने थाहा पाएपछि थुप्रै दम्पति गर्भपतन गर्न आउँथे र गर्न मिल्दैन भनेपछि तिमीहरु हिँड्ने बाटो यो होइन भनेर धम्काउने गर्थे।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने