काठमाडौं- २४ वर्षको हुँदा सानेपाकी हिरा राना मगरलाई दिसा गर्ने बेलामा निकै गाह्रो हुन्थ्यो। कहिले दिसा पटकपटक लाग्ने समस्या त, कहिले कब्जियत भएर दिसा गर्नै गाह्रो। अनि कहिले खाना राम्रोसँग नपच्ने। तर उनले यसलाई बेवास्ता गरिन्।
समस्या निको हुनुको साटो दिसामा रगत देखिन थालेपछि हिराले पायल्स भयो कि भन्ने ठानेर औषधि खान थालिन्। औषधि खाँदासम्म सञ्चो भएजस्तो लाग्यो उनलाई तर औषधि खान छोडेपछि समस्या ज्यूँका त्यूँ।
चिकित्सकलाई देखाउन उनलाई अप्ठ्यारो लाग्यो। परिवारकै सदस्य चिकित्सक भए पनि उनले आफ्नो समस्या लुकाएरै राखिन्। चिकित्सकसँग परामर्श लिइनन्। दिसा गर्ने बेलामा बढी नै दुख्न थालेपछि पछि चिकित्सकलाई देखाउनेबारे त सोचिन् तर पुरुष चिकित्सकलाई देखाउन हिरालाई लाज लाग्यो। उनले महिला चिकित्सक भेटिनन्।
चिकित्सकलाई देखाउने लाजले उनले रोगलाई लुकाएरै राखिन्। १२ वर्ष अगाडि अफिसको कामको सिलसिलामा सिंगापुर जाने बेलामा उनको पेट बेस्सरी दुख्यो। छिनछिनमा दिसापिसाब आउला जस्तो हुने। पिसाब गर्न गयो, आउँदै नआउने। दिसा गर्दा बेस्सरी पेट दुख्ने तर दिसा पनि नआउने।
दुखाइ सहनै गाह्रो हुन थालेपछि उनले चिकित्सलाई देखाइन्। उपचार गर्ने क्रममा उनको ठूलो आन्द्रामा क्यान्सर भएको पत्ता लाग्यो। चिकित्सकले ठूलो आन्द्रा काटेर फाल्नुपर्ने सल्लाह दिए।
पायल्स भनेर हेलचेक्र्याईं गरेर बसेकी हिरा झसंग भइन् जब चिकित्सकले क्यान्सर भएको बताए। जिन्दगी यति नै हो जस्तो लाग्न थाल्यो, अब बाँच्दिन भन्ने महसुस भयो उनलाई।
‘आन्द्रा काटेर फाल्दा पूरै मलद्वार नै बन्द गर्नुपर्ने हुन्छ र दिसा निष्काशनको लागि पेटमा प्वाल पारेर पाइपबाट प्लास्टिक ब्यागमा गर्नुपर्ने,’ उनले सुनाइन्, ‘सुरुमा त जीवनभर नै यसरी प्लास्टिकको व्याग पेटमा झुन्ड्याएर हिँड्नुपर्ने हो कि जस्तो पनि लाग्यो तर चिकित्सकले उपचार सम्भव छ, आत्मविश्वास नगुमाऊ भनेर सम्झाउनुभयो।’
उनी थप्छिन्, ‘क्यान्सर भएको थाहा पाएपछि मैले के पाप गरेछु, संसारमा म मात्र किन यस्तो भएँ जस्तो लाग्यो तर जब अस्पताल गए, भर्खर जन्मिएको बच्चादेखि वृद्ध बा-आमासम्मलाई पनि क्यान्सर भएको देख्दा म मात्र होइन रहेछु जस्तो लाग्यो।’
दिसा, पिसाबको ब्याग झुड्याएर जीवन कसरी बाँच्ने भनेर आत्महत्याको सोचसमेत आएको उनले सुनाइन्। ‘तर विस्तारै मनमा मैले हार मान्नुहुँदैन, मजस्तै क्यान्सरले दुःख पाएकाहरुको आत्मविश्वास बढाउनुपर्छ भन्ने लागेर अहिले आफूजस्तै जीवनभर शरीरमा ब्याग झुन्ड्याउनुपर्ने मानिसलाई ब्याग उपलब्ध गराउन ‘फ्रेन्ड्स अफ अस्टोमेट्स वल्र्डवाइड नेपाल’ नामक संस्थामा आवद्व छिन्। उनी परिवार, आफन्त र साथीभाइको माया र विश्वासले क्यान्सरलाई जित्न सफल भएको बताउँछिन्।
‘रोग लाग्यो भन्दैमा हार मान्नु हुँदैन,’ उनी भन्छिन्। क्यान्सर भएकोे १२ वर्ष पुगेको छ। अहिले उनको क्यान्सर पूर्ण रुपमा ठिक भइसकेको छ। तैपनि वर्षवर्षमा एक पटक क्यान्सर भए–नभएकोे जाँच गर्छिन्। क्यान्सरको सचेतना फैलाउन क्यान्सर सम्बन्धी हरेक कार्यक्रममा पुग्छिन् उनी।
१० वर्ष अघिको कुरा हो। जाउलाखेलकी सरला श्रेष्ठ शिक्षक पेसामा आवद्ध थिइन्। स्कुलमा हात्तिपाइले रोगको औषधि खुवाउन आएका थिए, स्वयंसेविका। उनले पनि औषधि खाइन्। हात्तिपाइले औषधि खाए शरीरमा भएको रोग देखिन्छ भनेर स्वयंसेविकाले बताएका थिए। नभन्दै औषधि खाएको तेस्रो दिनमा राति उनको पेट एक्कासि दुख्यो।
घरमै औषधि पसल भएकोले पेट दुखेको औषधि खाइन्। त्यो दिन निको भएको जस्तो भयो। भोलिपल्ट सहनै नसक्नेगरी पेट दुखेपछि उनले श्रीमान्लाई बताइन्। श्रीमान्ले तुरुन्त अस्पताल लगे। एक्सरे गरेर हेर्दा चिकित्सकले तत्काल शल्यक्रिया गर्नुपर्ने भन्दै स्त्रीरोग विशेषज्ञकोमा पठाए। सरलाको पेटमा मासु पलाएकोले शल्यक्रिया गरेर मासु फाल्नुपर्ने चिकित्सकले बताइन्। त्यही अस्पतालमा चिनेका चिकित्सक थिए। उनीहरुले सरलाको रिपोर्ट हेरे। र, क्यान्सर अस्पताल जान सुझाव दिए। क्यान्सर अस्पतालमा गएर जाँच गराउँदा आमासयमा क्यान्सर भएको पत्ता लाग्यो। क्यान्सर चौथो स्टेजको थियो।
क्यान्सर भएको सुन्ने वित्तिकै उनी पनि हिरा जस्तै अत्तालिइन्। घरमा बच्चा सानो भएकाले उनको भविष्यबारे सोच्न थालिन्। उनलाई आफू बाँच्दिन जस्तो लाग्यो। तर उनका श्रीमान्ले हार मानेनन्। चिकित्सकलाई उपचार सम्भव भएसम्म हरप्रयास गर्न भने। क्यान्सरका बिरामीलाई सुरुमा केमो चलाउनुपर्ने भए पनि सरलाको पहिल्यै शल्यक्रिया गरिसकेकोले केमो चलाउन नमिल्ने भयो। तर उनका श्रीमान्ले केमो चलाउन चिकित्सकसँग आग्रह गरे।
त्यसपछि उनलाई ६ वटा केमो चढाइयो र शल्यक्रिया गरियो। शल्यक्रियापश्चात् ३ वटा केमो चलायो। केही समयको अस्पतालकोे बसाइपछि तीन–तीन महिनामा फलोअपमा आउनेगरी सरला घर फर्किन्। अहिले उनको क्यान्सर निको भइसकेको छ।
अहिले क्यान्सर भएका बिरामीहरु सुरुमा सरलालाई देखाउन आउँछन्। उनी अहिले धेरै क्यान्सर बिरामीका लागि प्रेरणाको स्रोत बनेकी छन्। आफूले जानेको कुरा बिरामीलाई सिकाउँछिन्। ‘यदि परिवारको साथ आफन्तको माया पाउने हो, बिरामीले आत्मविश्वास कायमै राख्ने हो र राम्रो उपचार पाए जस्तोसुकै रोगलाई पनि जित्न सकिन्छ भन्ने मैले थाहा पाएँ,’ उनी भन्छिन्।
भक्तपुर सिपाडोलकी लक्ष्मीदेवी कर्णिकारको आर्थिक अवस्था अत्यन्तै नाजुक थियो। उनका श्रीमान् बिजुलीको काम गर्थे। उनी शिक्षिका थिइन्। एक जना छोरी थिइन् घरमा। दिनरात दुःख गरेर जीविकोपार्जन गरेका थिए, कर्णिकार परिवारले।
लक्ष्मीदेवीलाई बेलाबेलामा दिसा गर्न गाह्रो हुन्थ्यो। उनी पनि लाजका कारण चिकित्सककहाँ गइनन्, बरु घरेलु उपचारमै लागिन्। पाँच वर्षसम्म पनि उनले समस्यालाई आफैंमा सीमित राखिन्। ज्ति दुखे पनि न त उनले आफ्नो रोगबारे कसैलाई भनिन्, न चिकित्सकलाई देखाइन्। तर दुखाइ झन्झन् बढ्दै गएपछि अस्पताल पुगिन्। उनले आफ्नो समस्या चिकित्कसलाई बताइन्।
उपचारका क्रममा उनको मलद्वारमा मासु पलाएको थाहा भयो। जसका कारण ठूलो आन्द्रा काटेर फाल्नुपर्ने सल्लाह दिए चिकित्सकले। चिकित्सकको सल्लाहमा उनलाई विश्वास लागेन। उनी अरु अस्पताल धाइन्। तर सबैले एउटै कुरा भनेपछि परिवार र आफन्तको सल्लाहमा शल्यक्रिया गरेर उनको आन्द्रा फालियो। अहिले उनले पनि दिसापिसाब निष्काशनका लागि प्लाष्टिकको थैली प्रयोग गरेकी छन्।
‘सुरुसुरुमा त गाह्रो भयो, अब त बानी परिसक्यो,’ लक्ष्मीदेवी बताउँछिन्। ‘रोग लुकाउनुभन्दा सममयै चिकित्सकलाई समस्या देखायो भने मैलेजस्तो अवस्था कसैले भोग्नुपर्दैन,’ उनको सुझाव छ, ‘रोग लुकाएर नबसौं।’
क्यान्सर रोग विशेषज्ञ सन्ध्या चापागाईंका अनुसार नेपालमा वर्षेनी २६ हजार १ सय ८४ नयाँ क्यान्सर रोगी भेटिन्छन्। जसमध्ये १९ हजार ४ सय १३ जनाको मृत्यु हुन्छ। क्यान्सर रोगको यकिन कारण पत्ता नलागे पनि वंशाणुगत, जीवनशैली, वातावरणीय प्रदूषण लगायतका कारण क्यान्सर बढी हुने गरेको चिकित्सक चापागाईं बताउँछिन्। समयमै रोग पत्ता लागे उपचार सम्भव हुने चिकित्सकहरुको भनाइ छ।
क्यान्सरबाट वर्षेनी विश्वमा करिब ८० लाख व्यक्तिको मृत्यु हुने गरेको विभिन्न तथ्यांकले देखाउँछ। अमेरिकन क्यान्सर सोसाइटीको अध्ययनअनुसार सन् २०३० सम्ममा विश्वभर २३ करोड ६० लाख व्यक्ति क्यान्सरबाट पीडित हुनेछन् जुन संख्या प्रत्येक तीन व्यक्तिमध्ये एक जना क्यान्सरको बिरामी हुन आउँछ।