वीर अस्पतालको फिमेल वार्डकी नर्सिङ इन्चार्ज हुन् भीमकुमारी श्रेष्ठ। निडर स्वभावकी भीमकुमारीलाई सानैदेखि खेलकुदमा रुचि थियो। स्कुलमा हुने हरेक क्रियाकलापमा सहभागिता जनाउने उनी स्कुलमा हुने हरेक खेलकुद प्रतियोगितामा नछुट्याई सहभागी हुन्थिन्। स्कुलमा लजाएर बस्ने अन्य दिदीबहिनीलाई पनि खेल खेल्न हौसला दिन्थिन्।
‘मेरो स्वाभाव सानैदेखि केटाको जस्तै थियो। मलाई लजाएर बस्न मन पर्दैन। स्कुलमा हुने हरेक खेलकुद प्रतियोगितामा सहभागी हुन्थें। स्कुलमा हुने हाइजम्प, लङजम्प, दौड, भलिबल जस्ता प्रतियोगिता खेल्ने म एक्ली केटी हुन्थें,’ उनी भन्छिन्।
खेलकुद प्रतियोगितामा सहभागी हुने मात्र नभई पुरस्कार समेत हात पार्ने गरेको उनी बताउँछिन्। ‘पुरस्कार जितेपछि खेलकुदमा भाग लिन थप हौसला मिल्थ्यो,’ उनी भन्छिन्।
निडर स्वभावका कारण उनी शिक्षकको पहिलो रोजाइमा पर्थिन्। वर्षमा एक पटक आयोजना हुने जिल्लास्तरीय खेलकुद प्रतियोगितामा स्कुलबाट छनोट हुनेमा उनी पर्थिन्।
जिल्लामा खेल खेल्न जाँदा बाहिरै बस्नुपथ्र्यो। त्यतिबेला छोरीलाई घरबाहिर पठाउनु हँुदैन, बिग्रन्छन् भनिन्थ्यो। त्यसैले स्कुलका हेडसरले छात्रा खेलाडीको घर गएर उनीहरुका आमाबुबालाई सम्झाउने जिम्मा हरेक वर्ष भीमकुमारीलाई नै दिने गर्थे।
सबै कुरामा अगाडि बढ्ने भएकोले होला गाउमा सबैले उनलाई माया गर्थे। भीमकुमारीसँगै जाने भनेपछि अरुका आमा–बुबा आफ्ना छोरी पठाउन तयार हुन्थे। उनीहरुलाई सुरक्षित लैजाने र घर ल्याउने जिम्मा उनकै हुन्थ्यो।
०००
काभ्रेको पाँचखालमा जन्मिएकी भीमकुमारीले घर नजिकैको सर्वमंगला माध्यमिक विद्यालयबाट एसएलसीसम्मको पढाइ पूरा गरेकी हुन्।
आफूलाई चित्त नबुझेको कुरा अगाडि नै भनिदिने र कडा स्वभावकी भएकाले हेडसरले उनलाई नै स्कुलको क्याप्टेन बनाइदिएका थिए। उनीसँग स्कुलका छात्रा मात्र होइन, छात्रहरु समेत डराउँथे।
त्यतिबेला छोरी पढाउने चलन थिएन। तर उनको परिवारमा भने छोरी पढाउनुपर्छ भन्ने ज्ञान थियो। उनको घरबाट ६ दिदी–बहिनी र एक जना भाइ स्कुल जान्थे। उनी कक्षा १ देखि नै कक्षामा एक्लै थिइन। ४ जति विद्यार्थी पढ्ने स्कुलमा जम्मा १२ जना मात्र केटी थिए। एक्लै भएको कारण केटाहरु उनलाई दुःख दिन खोज्थे। तर कसैले जिस्क्याइहाल्यो त्यसले भीमकुमारीको पिटाइ भेट्थ्यो।
‘स्कुल पढ्ने बेलामा केटाहरु निकै बदमास हुने। केटाकेटी सँगै बस्ने चलन थिएन। केटाको बीचमा बस्न नपरोस् भनेर एउटा कपी अगाडिको बेन्चको छेउम राखेर जान्थें। स्कुल आउँदा जहिले पनि कपी बीचमा पु¥याइदिन्थे। त्यो बेलामा रिस उठ्थ्यो जो मैले कपी राखेको ठाउँमा बसेको हुन्थ्यो, त्यसले मेरो पिटाइ भेट्थ्यो,’ उनी सम्झिन्छिन्।
०००
२०३४ सालमा एलएलसी दिइसकेपछि भीमकुमारीलाई शिक्षा विषय पढेर शिक्षक बन्ने रहर थियो। तर उनकी दिदी वीर अस्पतालमा नर्सिङ पढ्दै थिइन्। दिदीले नै पढ्ने भए नर्सिङ पढ्, नभए घरमै बस् भनेर नर्सिङमा फर्म भरिदिइन्। इन्ट्रान्स दिँदा दोस्रो नम्बरमा नाम निस्कियो।
२०३५ सालमा महाबौद्धस्थित वीर अस्पताल नर्सिङ कलेजमा पिसिएलमा भइन्। पढ्न त सुरु गरिन् तर उनलाई नर्सिङ पढ्ने मन नै थिएन। कारण थियो– नर्सिङ पढ्दा होस्टल बस्नुपथ्र्यो।
पहिलो सेमेस्टर पढ्दा दिउँसो त कलेज जान्थिन् तर बेलुका बेलुका होस्टेल फर्केपछि सिरक ओढेर रुन्थिन्। होस्टलमा पढ्न मन नै नलाग्दाको परिणाम उनी पहिलो सेमेस्टरमा दुई वटा विषयमा फेल भइन्।
उनी आमालाई पढ्नै मन नलागेको कुरा सुनाउँथिन्। आमाले सम्झाउनु हुन्थ्यो– मन लगाएर पढ्नुपर्छ, राम्रो हुन्छ। दोस्रो वर्षपछि लगाएर पढ्न थालिन्।
स्किल ल्याबमा प्रयोगात्मक अभ्यास हुन्थ्यो। पढ्ने बेलामा उनीहरु साथी–साथीबीच पनि ब्लड प्रेसर लिने अभ्यास गर्थे। बालुवाको थैलोमा सुई लगाउन सिक्थे। तर पनि पहिलो पटक बिरामीको अगाडि प्रयोगात्मक अभ्यास गर्न जाँदा रगत देखेर बेहोस भएकी थिइन भीमकुमारी।
पहिलो पटक बिरामी भएको वार्डमा जाँदा हातखुट्टा काँपेको अहिले पनि याद छ उनलाई। भन्छिन्, ‘पहिलो पटक मेडिकल वार्डमा प्रयोगात्मक अभ्यासको लागि लगिएको थियो। त्यो बेलामा एक्सिडेन्टको केस आएको रहेछ। पहिलो पटक रगत बगेको देख्दा बेहोस भएको थिएँ।’ होसमा आएपछि अब कमजोर हुनुहँुदैन भनेर आफूलाई सम्हालिन्। त्यसपछि भने उनलाई कहिल्यै त्यस्तो भएन।
नर्स भएर जाँदा भोग्नु परेको अप्ठ्यारो
लोकसेवाबाट सरकारी सेवामा प्रवेश गरिसकेपछि उनी पहिलो पटक सरकारी नर्स भएर नारायणी अस्पताल वीरगञ्ज गएकी थिइन्। नर्सको इथिक्स अनुसार काम गर्न खोज्दा उनको दुई जना चिकित्सकसँग झगडा नै परेको थियो।
उनको रातिको ड्युटी थियो। एक जना बिरामी इमर्जेन्सीमा भर्ना छु, औषधि दिनुस् भन्दै आए। उनले काडेक्स पल्टाएर हेरिन् तर औषधि लेखिएको देखिनन्। पछाडि हेर्दा क्लिनिकको पर्चामा औषधि टन्नै लेखिको रहेछ उनलाई अचम्म लाग्यो।
चिकित्सकले काडेक्समा औषधि लेखेअनुसार नर्सले दिनपर्ने हुन्छ। एनलेसँगै ड्युटीमा रहेकी साथीलाई यो के हो भनेर सोधिन्। उनले चिकित्सकको क्लिनिकमा भर्ना भएको बिरामी औषधि लिन आएको बताइन्। त्यो बेलामा उनी केही बोलिनन्। औषधि दिइन तर साइन गरिनन्।
भोलिपल्ट उनले यस विषयमा सिभिल सर्जनलाई कम्प्लेन गरिदिइन्। पछि चिकित्सक आएर गाली गरे। उनले ‘मैले यस्तै सिकेकी छु, अरु क्लिनिकबाट आएको बिराम्ीलाई औषधि दिने अनुमति छैन’ भनिदिइन्। पछि ती चिकित्सकलाई सिभल सर्जनले स्पष्टीकरण पनि सोधेका थिए।
उनी त्यहाँ बस्दा अर्को पनि यस्तै प्रकारको घटना भएको थियो। वीरगञ्जमा केही भयो भने हंगामा मचाउँथे बिरामीका आफन्तले। चिकित्सक काडेक्समा औषधि लेखिदिन्थे तर साइन हुँदैनथ्यो। साइन गरिदिनुस् भन्दा सुनेको नसुन्यै गरिदिन्थे। उनी सानो–सानो कुरामा पनि ध्यान दिन्थिन्। त्यसैले उनी चिकित्सकको साइन नभएसम्म औषधि दिँदैनथिइन्। पछिपछि चिकित्सकले साइन गरेर पठाउन थालेका थिए। यदि चिकित्सकको साइनविना औषधि दियो भने कुनै घटना भइहालेमा सजाय नर्सले भोग्नुपर्छ। त्यसैले हेर्दा सामान्य लाग्ने कुरामा ध्यान दिनुपर्ने उनी बताउँछिन्।
मेट्रोनले गाली गर्दा सरकारी जागिरबाट राजीनामा
टिचिङ अस्पतालमा २ वर्ष करारमा काम गरिसकेपछि स्थायी भएकी थिइन् भिमकुमारी। जागिर खाएको २ वर्षपछि बल्ल स्थायी हुँदा उनी निकै खुसी थिइन्। स्थायी भएपछि हाजिर हुन नै नपाई उनी एक्कासि बिरामी परिन्। बिरामी परेपछि तीन दिन बिदामा बसिन्। उनी बिदा बसेको दोस्रो दिन जँचाउन अस्पताल गएकी थिइन्। त्यही बेला अस्पतालमा नर्सको अभाव भएको भन्दै नर्सिङ निर्देशकले उनी बस्ने कोठामा अस्पतालबाट मान्छे पठाइछिन्। त्यो बेला अहिलेको जस्तो फोन सुविधा थिएन।
खोज्न गएका व्यक्तिले उनलाई कोठामा नभेटाएपछि नर्सिङ निर्देशकलाई उनी कोठामा नभएको बताइदिए। बिदा सकिएर तीन दिनको दिन अस्पताल पुग्दा इन्चार्जले मेट्रोनले बोलाएको बताइन्। उनी सिधै मेट्रोन भएको कोठामा गइन्।
मेट्रोनले ‘हिजो कहाँ गएको’ भनेर प्रश्न गरिन्। एकछिन् त उनी बोल्न पनि सकिनन्। पछि ‘म बिदामा थिएँ’ भन्ने जवाफ दिइन्। मेट्रोनले जंगिँदै ‘तिमीलाई त्यत्तिकै तलब दिएर राखेको हो?’ भनेर गाली गर्न थालिन्।
उनलाई झनक्क रिस उठ्यो। जवाफ फर्काइन्, ‘म्याम म बिरामी भएर तीन दिनसम्म बिदामा थिएँ। बिरामी मान्छे घरमा खोज्न गएर भेटिन्छ? म अस्पतालमा उपचार गर्न गएको थिएँ। म तपार्इंको घरको नोकर होइन, यसरी कुरा गर्न। हामी एउटै संस्थामा काम गर्छाैँ तपाईं ठूलो पोस्टमा हुनुहुन्छ, म सानो पोस्ट। हामीबीच फरक यतिमात्रै हो।’
बिरामी पर्दा पनि आफ्नै संस्थाको प्रमुखले त्यस्तो व्यवहार गर्दा उनलाई काम गर्न मन लागेन। उनले दुई वर्षमा स्थायी भएको भए पनि हाजिर गर्न नै नगई जागिर छोड्ने निर्णय गरिन्।
‘म आफू पनि कसैलाई हेपेर बोल्दिनँ, यदि मलाई कसैले हेप्यो भने सहेर बस्न पनि सक्दिनँ,’ भीमकुमारीले आफू निडर भएको प्रमाण यसरी पेस गरिन्।