काठमाडौं - सरकारले सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा र्यापिड डायग्नोष्टिक कीटबाट कोभिड१९को परीक्षण सुरु भइसकेको छ।
किटको गुणस्तरीयतामा प्रश्न उठिरहेका समयमा किटबाट नै परीक्षण सुरु गरिएको थियो। सरकारले ल्याएको किटको गुणस्तरीयता हतारमा जनस्वास्थ्य प्रयोगशालामा भेरिफिकेसन गराई टेष्ट किट प्रयोगमा ल्याइएको स्रोतले जानकारी दिएको छ।
सरकारले सातै प्रदेशमा र्यापिड डायग्नोष्टिक किट ५ हजारका दरले वितरण गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सबै प्रदेशमा किट पुगिसकेको र परीक्षण समेत सुरु भइरहेको बताएका छन्।
र्यापिड डायनोष्टिक किटबाट परीक्षण गर्नका लागि मापदण्ड बनाइएको छ। सो मापदण्ड अनुसार र्यापिड डायनोष्टिक किटबाट कोभिड१९ नेगेटिभ रिजल्ट दिएको तर सो व्यक्तिमा शंकास्पद लक्षण देखिएको छ भने तीमध्ये १० प्रतिशतको पिसिआर प्रविधिबाट जाँच गरिने उल्लेख छ।
र्यापिड डायनोष्टिक किटबाट परीक्षण गरिएका व्यक्तिको रिर्पोट नेगेटिभ आएमा पनि उनीहरुलाई २१ दिनको क्वारेन्टाइनमा राखिने र उनीहरुमा कुनै शंकास्पद लक्षण देखिएमा अस्पतालमा राखि उपचार हुने बताइएको छ।
र्यापिड डायनोष्टिक किटबाट पोजेटिभ रिजल्ट देखिएका व्यक्तिलाई आइसोलेसनमा राखि अस्पतालमा उपचार गरिने छ।
र्यापिड डायनोष्टिक किटबाट जाँच गर्ने स्वास्थ्यकर्मीलाई दिइने डायग्राममा परिक्षणमा पोजेटिभ रिजल्ट आएका व्यक्तिको पुनः परीक्षण गरी उपचार गर्ने र डिस्चार्ज गरिने उल्लेख छ। संक्रमण पुष्टि भएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिने छ।
शुक्रबार डोटी, अछाम र बाजुरामा शनिबार बैतडी, बझाङ र दार्चुलामा र्यापिड डायनोष्टिक टेष्ट सुरु गर्ने कार्यतालिका बनाइएको छ। सोही अनुसार परीक्षण भइरहेको छ।
कोभिड-१९सँगै मलेरिया जाँच
कञ्चनपुरस्थित क्वारेन्टाइनमा रहेका व्यक्तिको १३७ र्यापिड डायग्नोष्टिक टेष्टमा संलग्न जिल्ला स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन हर्कबहादुर कुँवरले क्वारेन्टाइन दुरी व्यवस्थापन गरी रगतको नमुना लिइएको बताए। उनले टेष्ट किटबाट रिजल्ट आउन १५ देखि २० मिनेट लाग्ने बताए।
उनले कोभिड-१९सँगै क्वारेन्टाइनमा बसेका व्यक्तिमा मेलेरिया परीक्षण समेत गरिएको जानकारी दिए।
उनले भने,‘भारतका विभिन्न शहरबाट मानिसहरु आएका छन्, यो मलेरियाको सिजनसमेत भएकाले कोभिड-१९ र्यापिड डायनोष्टिक किटसँगै मलेरिया किट पनि लगेका थियौं।’
उनले क्वारेन्टाइनमा रहेका २ जनामा मलेरिया देखिएको र उनीहरुको उपचार भइरहेको जानकारी दिए।
उनले महाकाली नगरपालिकामा रहेको महाकाली आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका सयभन्दा बढीको कोभिड१९ परीक्षण गरिएको र सबैको नेगेटिभ रिजल्ट आएको बताए।
कुवँरको अनुभव
प्रत्येक ठाउँमा ल्यावका तीन जना व्यक्तिको समुह बनाएर पठाइएको छ। हाम्रो पनि ३ जनाको टोली थियो। एक जनाले सबैको रजिष्टे«शन गर्ने, अर्कोले दुरी व्यवस्थापन गर्ने र एक एक जना गरी नमूनाका लागि ल्याबमा पठाउने व्यवस्था मिलाएका थियौं।
क्वारेनटाइनदेखि अलि पर नै ल्याब बनाइएको थियो। गर्मीको समय सुरु भइसकेकोले कोभिड१९सँगै मलेरियाका लागि पनि नमूना लिएका थियौँ।
मलेरियाको टेष्ट किट पहिले नै आइसकेको थियो। त्यसैले कोभिड१९को रोकथाम गर्न खोज्दा मलेरिया महामारी नहोस् भन्ने हेतुले परीक्षण गरिएको हो। दुई जनामा मलेरिया देखिएको छ। उनीहरु क्वारेन्टाइनमा नै छ।
रजिष्ट्रेशन गर्ने व्यक्तिले मास्क लगाउनु भएको थियो भने ल्याबमा बस्ने र नमूना लिने व्यक्तिले फुल सेट पिपिई लगाएका थियौँ।
परीक्षणमा सबैको रिजल्ट नेगेटिभ आएको छ। शंकास्पद व्यक्तिलाई आइसोलेसनमा पठाइ उनीहरुको थ्रोटको नमूना लिएर पुनः पिसिआरबाट परीक्षण गर्नुपर्ने हुन्छ।
ल्याबको काम अन्य समयमा पनि जोखिम पूर्ण नै हुन्छ। अहिले पनि ल्याबमा काम गर्ने ल्याब टेक्निसियनको जिम्मेवारी महत्वपूर्ण हुन्छ।
यस्तो समयमा जोखिम हुन्छ भनेर जिम्मेवारीबाट पन्छिनु पनि हुदैन। राज्यलाई सहयोग गर्ने मौका पनि हो। सबै मिलेर महामारीबाट जोगिनु छ। तर उनीहरुलाई पूर्ण सुरक्षाका लागि पिपिईको व्यवस्था हुनु जरुरी छ।
र्यापिड डायग्नोष्टिक टेष्ट प्रोटोकल
सो प्रोटोकलमा र्यापिड डायग्नोष्टिक टेष्टमा नेगेटिभ आए तर लक्षण देखिएमा पिसिआर जाँच गर्ने भनिएको तर के के लक्षण देखिएमा भन्ने उल्लेख छैन।
कोभिड१९को संक्रमण भएको व्यक्तिमा कहिले कुनै लक्षण नदेखिने वा कुनै एक लक्षण मात्र पनि देखिन सक्छ यो अवस्था कसरी पिसिआर जाँचका लागि छुट्याउने?
नेगेटिभ आएका व्यक्तिबाट र्यान्डम्ली छानेर १० प्रतिशत व्यक्तिको जाँच गर्ने भनेको छ तर, त्यो जाँच कसले कसले गर्छ? कसलाई जिम्मेवारी दिइएको छ भन्ने उल्लेख छैन।
ल्याब टेक्निसियन कुँवर भन्छन,‘परीक्षण गर्दा धेरै शंकास्पद व्यक्ति देखिएका छैनन्, यदि सय जनाको परीक्षण नेगिटिभ आयो भने र्यान्डम्ली छानेर १० जनाको थ्रोट स्वाब पनि परीक्षण गर्ने हो। त्यो हामीले नै गर्ने हो।’
र्यापिड टेष्ट सुरु गर्नुअघि कैलाली र कञ्चनपुरबाट ९६ जना व्यक्तिको रगत र स्वाबको नमुना लिई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरी र्यापिड टेष्ट किटको भेरिफिकेसन गरिएको बताइएको छ।
नेपालमा कोरोना संक्रमण देखिएर हाल उपचाररत ८ जनामध्ये सबैभन्दा ४ जना संक्रमित देखिएका सुदुरपश्चिम प्रदेशका सबै जिल्लामा र्यापिड डायनोष्टिक टेष्ट किट पठाइएको छ। अन्य प्रदेशमा पनि परीक्षण सुरु गर्ने तयारी छ।
जसअनुसार, डोटीमा ३००, अछाममा १००, बाजुरामा ३००,डडेल्धुरा २००, बैतडीमा ४००,दार्चुलामा ७००, बझाङमा ६००, कञ्चनपुरमा ८०० र कैलाली एक हजार ४०० र्यापिड डायनोष्टिक टेष्ट किट वितरण गरिएको छ।
कञ्चनपुर र कैलालीले परीक्षण सुरु गरिसकेका छन् भने बाजुरामा आज परीक्षण सुरु हुने बताइएको छ।
यो पनि :